टोकियो – नारा केनको कासिहारा शहरमा अवस्थित काठमाडौं क्याफे रेष्टुरेन्टका सञ्चालक श्री नारायण खत्री (स्टेभेन्स) गत १० बर्षदेखि रेष्टुरेन्ट ब्यवसायमा संलग्न हुनुहुन्छ । मालेपाटन–५, पोखराका श्री खत्री रोजगारको क्रममा सर्बप्रथम न्यूजिल्याण्ड जानुभई त्यहाँस्थित जापानी कम्पनीमा काम गर्नुभएको थियो । त्यहि सिलसिलामा चिनजान भएको जापानीको माध्यमबाट जापान आउनुभएका खत्रीले हाल ओसाका र नारामा गरी २ वटा रेष्टुरेन्ट सञ्चालन गर्दै आउनुभएको छ ।
जापानमा ब्यवसाय गर्दै नेपाल र नेपालीको लागि पनि केहि गरौं भन्ने भावनाका साथ उहाँ एनआरएन जापानमा केहि बर्षदेखि संलग्न भइ हाल कान्साइ क्षेत्रीय समितिको संयोजकको जिम्मेवारी सम्हाल्दै आउनुभएको छ । काठमाडौ क्याफे रेष्टुरेन्टमा बिशेषगरी नेपाली खानालाई प्रथमिकता दिईएको कुरा उहाँका दाजु गोबिन्द खत्रीले बताउनुभयो । उहाँले जापानमा भएका धेरैजसो नेपाली रेष्टुरेन्टहरुमा इन्डियन खाना उपलब्ध गराइने गरिएको, जसलेगर्दा नेपाली खाना खान आउने पाहुनाहरुले नेपाली र इन्डियन खानामा फरक छुट्याउन नसकेको गुनासो गर्ने गरेको बताउनुभयो ।
इन्डियन खाना बिक्रि गर्दा केही मात्रामा बिक्रि त बढ्ला तर त्यसले नेपालको भन्दा भारतीय प्रचार बढी हुने भएकोले नेपाली भएको नाताले आत्मसन्तुष्टी नहुने उहाँको ठम्याई छ । ब्यवसायिक सन्तुष्टीको बारेमा जिज्ञासा राख्दा श्री खत्रीले केही बर्ष अघिको तुलनामा त्यति सन्तोषप्रद नभए पनि आत्तिईहाल्नुपर्ने स्थिति भने नरहेको बताउनुभयो । काठमाडौं क्याफेमा बिशेष गरी जापानी, अष्ट्रेलियन, अमेरिकन, इन्डियन पाहुनाहरु आउने गर्दछन् ।
काठमाडौं क्याफेको पूरा ठेगानाः
नारा केन कासिहारा सी,
किता यागी च्यो १–५–२,
सम्पर्क फोनः ०७४–४२३–१७३१