बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024

करिब १५ बर्षअघि जापान आउनुभएका डिलाराम सापकोटाले संचालन गर्दै आउनु भएको रेष्टुरेन्टको नाम हो ‘देवी’ । ओसाकाको साकाइ शहरमा अवस्थित उक्त रेस्टुरेन्ट सन् २००४ मा शुरु भई हाल सोही शहरमा अन्य २ वटा इन्डियन तथा नेपाली रेष्टुरेन्टहरु पनि सोही समूह अन्तर्गत संचालनमा रहेका छन । मल्म–१, बागलुङमा जन्मनुभई हाल भरतपुर चितवनमा बस्दै आउनु भएका संचालक डिलाराम सापकोटा यस ब्यवसायमा एक अनुभबी ब्यक्ति हुनुहुन्छ । जापान आउनु अघि करिब ११ बर्ष भारतमा होटेल सम्बन्धी अनुभब बटुल्नुभएका श्री सापकोटाले जापान आएर पनि करिब ८ बर्ष जापानीद्वारा संचालित इन्डियन रेष्टुरेन्टमा काम गर्नुभएको थियो । इन्डिया र जापानमा गरी करिब २ दशकको अनुभब बटुलेर मात्र आफ्नो ब्यवसाय शुरु गर्नुभएका श्री सापकोटा आफ्नो ब्यवसायबाट सन्तुष्ट भएको बताउनुहुन्छ । गत मार्च महिनाको महा–भुकम्प तथा सुनामी पश्चात्को केही महिना ब्यापारमा अली कमी आएको भएपनि हाल सुधारोन्मुख रहेको कुरा उहाँले बताउनु भयो । लामो समयको अनुभब पश्चात् शुरु गरिएको ब्यवसाय भएकोले आफूलाई ब्यवसाय संचालनमा खासै केही अप्ठ्यारो नभएको उहाँको भनाइ रहेको छ । सम्बन्धित क्षेत्रको अनुभब भएको र नभएको ब्यक्तिले ब्यवसाय गर्नुमा धेरै फरक पर्ने उहाँको विचार छ । आफ्नो रेष्टुरेन्टमा जापानीहरुले पनि काम गर्दै आएको बताउनु हुने श्री सापकोटाले जापानी कामदारहरुसँग काम गर्दा धेरै कुराहरु सिकिने र अनुशासन लगायतका कुराहरुमा पनि ख्याल गरिने बानी बस्ने उहाँको अनुभब रहेको छ । त्यस्तै कतिपय अवस्थामा भाषाको समस्या पनि पर्ने भएकोले पार्ट टाइमकै रुपमा भएपनि जापानीहरु राख्दा राम्रो हुने उहाँको भनाइ छ । इन्डियन रेष्टुरेन्ट देवीमा अधिकांश जापानी पाहुनाहरु आउने गर्दछन् र इन्डियाबाट बिभिन्न कार्यक्रमका लागि आउने इन्डियन ब्यवसायी, पर्यटक तथा विद्यार्थीहरुको समूहहरु पनि त्यहाँ आउने गरेका छन् । इन्डियन रेष्टुरेन्ट भएपनि आफू नेपाली भएको नाताले नेपाली खानाहरु पनि आफ्नो रेष्टुरेन्टमा उपलब्ध गराउने गरेको संचालक श्री सापकोटाले जानकारी दिनुभयो । त्यसो त उहाँको एउटा नेपाली इन्डियन रेष्टुरेन्ट ‘लक्ष्मी’ पनि साकाइ शहर मै संचालनमा छ ।

आफ्नो ब्यवसायबाट निस्केको फुर्सदको समय श्री सापकोटाले सामाजिक संघ–संस्थाहरुलाई दिने गर्नुभएको छ । उहाँ एनआरएन जापानको कान्साइ क्षेत्रीय समितिको सह–कोषाध्यक्ष पदमा रहेर काम गर्दै आउनु भएको छ भने नेपाली जनसम्पर्क समितिको हालै गठन भएको कान्साइ क्षेत्रीय समितिको उपाध्यक्षमा पनि चयन हुनुभएको छ । बेलाबखतमा गाउँमा भैपरी आउने आपत बिपत तथा असहायहरुको सहयोगमा पनि उहाँ लागिराख्नु भएको छ । जापानमा रहेका नेपाली समुदायप्रतिको धारणाको बारेमा जिज्ञासा राख्दा सबै नेपालीहरुको बीचमा भाइचाराको सम्बन्ध बढाउनु आवश्यक रहेको र नेपालीहरुको समस्यामा सबैले मिलेर समाधानको बाटो खोज्नु पर्ने उहाँको विचार छ ।

अन्तमा, बिदेशमा रहेर पनि आफ्नै भाषामा देश बिदेशका खबरहरु पढ्ने र सुन्ने बातावरण उपलब्ध गराइदिनु भएकोमा नेपाली समाचार पत्रिकाका सम्पूर्ण टीमलाई उहाँले धन्यबाद ब्यक्त गर्नुभएको छ । जापानमा बढ्दो नेपालीहरुको संख्यालाई ध्यानमा राखेर यस पत्रिकालाई निरन्तरता दिन उहाँले सुझाब दिनुभयो ।

तपाईको प्रतिक्रिया