मंगलबार, बैशाख ०४, २०८१
Tuesday, April 16, 2024

टोकियो – बिगत २ बर्षभन्दा बढि समयदेखि नेपाली तथा इण्डियन खानाको स्वाद पस्केर आफ्ना ग्राहकहरुलाई सन्तुष्ट तुल्याउँदै आएको पोखरा किचेन रेष्टुरेन्ट टोकियोको नेरिमा वार्डमा अवस्थित छ । अधिकांश जापानी ग्राहकहरु आउने यस रेष्टुरेन्ट एक अनुभबी ब्यवसायी श्री गुरुङद्वारा सञ्चालित छ । सन् २००९ को मे महिनादेखि आफ्नो सेवा शुरु गरेको पोखरा किचेनले छोटै समयमा धेरै जापानीहरुको मन जित्न सफल भएको सञ्चालक गुरुङ बताउनुहुन्छ ।

कास्की जिल्लाको लुम्ले गाबिस वार्ड नं–३, तान्चोकमा जन्मनुभई हाल बगर–२ पोखरामा स्थायी बसोबास गर्दै आउनुभएका श्री गुरुङ पछिल्लो पटक जापान आउनुभएको करिब २ बर्ष मात्र भए पनि उहाँ सन् १९८९ देखि १९९७ सम्म जापान मै हुनुभएकोले उहाँको जापानको लामो अनुभब छ भन्दा अत्युक्ति नहोला । जापानबाट नेपाल फिर्ता भएपछि रोजगारीका लागि उहाँ पुनः बेलायत जानुभएको थियो । सन् १९९८ देखि २००६ सम्म बेलायतको बसाइलाई बिट् मार्दै नेपाल फर्केपछि उहाँले आफ्नै परिवारद्वारा सञ्चालित पर्यटकीय होटलको अनुभब पनि संगाल्नुभएको छ । जुन अनुभब अहिले रेष्टुरेन्ट ब्यवसायमा अति उपयोगीसिद्ध भएको उहाँ बताउनुहुन्छ । ‘कुनै मानिसले ब्यवसाय गर्नुछ भने ब्यवसायिक मन तथा चिन्तनका साथ लाग्नु आवश्यक छ’– श्री गुरुङ भन्नुहुन्छ– ‘त्यसो भएमा मात्र उसले गरेको ब्यवसाय सफल हुन सक्छ ।’

उसो त उहाँ भलिबलको पूर्वराष्ट्रिय खेलाडी पनि हुनुहुन्छ । नेपालमा छँदा उहाँले पश्चिमाञ्चल क्षेत्रिय भलिबल संघको अध्यक्ष, एक्स बगर युथ क्लबको संस्थापक अध्यक्ष लगायतका खेलकुदसँग सम्बन्धित संघसंस्थाहरुको जिम्मेवारी पनि सम्हालिसक्नुभएको छ । त्यसले पनि उहाँको खेलप्रतिको गहिरो लगाब रहेको पुष्टि गर्दछ । परिस्थितिबश रेष्टुरेन्ट ब्यवसायमा लाग्नुपरेकोले हाललाई यहि ब्यवसायलाई राम्रो बनाउनेतर्फ उहाँको ध्यान केन्द्रित छ । धेरैजसो जापानी बिद्यार्थीहरु आउने उहाँको पोखरा किचेन रेष्टुरेन्टले उहाँलाई राम्रै आम्दानी दिईरहेको बताउनुहुन्छ । कतिपय नेपाली तथा इन्डियन रेष्टुरेन्टहरुमा ग्राहकको राष्ट्रियता हेरेर ब्यवहार गर्ने जस्तै, नेपाली ग्राहक आउँदा एउटा र अन्य मुलुकका ग्राहक आउँदा अर्कै ब्यवहार गर्ने गरेको पनि उहाँको अनुभब छ । तर सबै ग्राहकहरुलाई समान ब्यवहार गर्ने आफ्नो रेष्टुरेन्टको बिशेषता रहेको उहाँको दाबी छ । एउटा नेपाली ग्राहकले पनि रेष्टुरेन्टको चिरासी लिएर आएमा त्यसमा लेखिएबमोजिमको सुविधा तथा अन्य सेवाहरु दिनुपर्ने उहाँको धारणा छ ।

पछिल्लो समयमा नेपाली तथा इन्डियन रेष्टुरेन्टहरुको अवस्था खस्किनुको कारण तथा रेष्टुरेन्ट ब्यवसायको चुनौती बारेमा जिज्ञासा राख्दा गुरुङ भन्नुहुन्छ – ‘नेपाली रेष्टुरेन्टहरुको प्रमुख समस्या भनेको छोटो समयमा कुकहरुको परिवर्तन भइरहनु र रेष्टुरेन्टमा ग्राहकको लागि पारिवारिक बातावरण नहुनु हो, बारम्बार कुकहरु परिवर्तन भएमा खानाको स्वादमा परिवर्तन हुने र अघिल्लो पटकको स्वाद मन पराएर आउने ग्राहकले पछिल्लो पटक आउँदा अर्कै स्वाद पाउँदा रेष्टुरेन्टको छाप नै अर्कै किसिमको पर्न जाने भएकोले सकेसम्म रेष्टुरेन्टमा काम गर्ने कुक परिवर्तन गर्नुहुँदैन ।’ यसैगरी रेष्टुरेन्टभित्रको बातावरण कामदारहरुको भेषभूषा, बोली, ब्यवहार, सरसफाई, रेष्टुरेन्टको सजावट आदिले पनि ग्राहक आउने र नआउनेमा फरक पर्ने उहाँको बुझाई छ । नेपाली रेष्टुरेन्टहरुको अर्को चुनौती भनेको भाषाको समस्या पनि हो । ग्राहकले खानाको बारेमा अथवा नेपालको बारेमा केही सोधेमा बताउन नसक्ने कामदारहरुका कारण पनि ब्यवसायमा प्रतिकुल असर पर्ने गरेको श्री गुरुङको बुझाई छ । त्यसैले आर्थिक मन्दी लगायतका अन्य कारणले भन्दा पनि आफ्नै कारणले नेपाली तथा इन्डियन रेष्टुरेन्टहरुको अवस्था खस्किन पुगेको श्री गुरुङको ठम्याई रहेको छ ।

जापानस्थित नेपाली समुदायप्रतिको आफ्नो धारणा राख्दै श्री गुरुङ अगाडि भन्नुहुन्छ – ‘देशबाट बाहिर निस्किसकेपछि सबै नेपालीहरुलाई समेट्ने खालको एउटै मात्र नेपाली संस्थाको आवश्यकता छ । हुन त आफू पनि हालैमात्र एउटा जातिय संस्था तमुधीं जापानको उपाध्यक्षमा चयन भएको छु, यद्यपि सबै नेपालीहरुको साझा संगठनको पक्षमा आफूलाई उभ्याउन चाहान्छु । तर यहाँ बिभिन्न स्वार्थका कारण बिभिन्न संघसंस्थाहरु खुल्ने क्रम जारी रहेकोले यो क्रमलाई कम गर्दै जानुपर्दछ । नेपाली समुदायमा जापान बसाइको अवधिको आधारमा मान्छेहरुको मुल्याङ्कन गर्ने चलन तर्कसंगत छैन, हरेक ब्यक्तिको कार्यक्षमताको आधारमा मुल्याङ्कन गरिनुपर्दछ । यसैगरी यहाँका संघसंस्थाहरुले खेलकुद सम्बन्धि कार्यक्रमलाई उपेक्षा गरेको अवस्था छ, यसतर्फ पनि अविलम्ब सबैको ध्यान जानु आवश्यक छ ।’ पोखरा रंगशालाको निर्माण कार्यमा बिशेष आर्थिक योगदान समेत पुर्‍याउनुभएका श्री गुरुङले आफूले अध्ययन गरेको संगम माध्यामिक बिद्यालय चन्द्रकोट लुम्ले कास्कीका लागि पनि आर्थिक सहयोग गर्नुभएको बताउनुहुन्छ ।

पोखरा किचेनको पूरा ठेगानाः

नेरिमा–कु कोताके–च्यो १–५५–३ तामाइ बिल्डिङ दोश्रो तल्ला

फोन नं ०३–३९७३–८६७७

तपाईको प्रतिक्रिया