बुधबार, बैशाख १२, २०८१
Wednesday, April 24, 2024

‘एशियन चुबो अनुसा‘ बुद्ध इन्टरप्राइजेज कं. लिमिटेड अन्तर्गत संचालनमा रहेको एशियन रेष्टुरेन्टको नाम हो । सोही कम्पनी अन्तर्गत इबाराकी केनकै चुकुबामा पनि अर्को रेष्टुरेन्ट साईनो गत बर्षमात्र खुलेको छ । इबाराकी केनको तोरिदे स्टेशन नजिकै रहेको अनुसा रेष्टुरेन्ट सन् २००९ को अप्रिल महिनादेखि संचालनमा छ । नेपाली, इण्डियन, थाइ र भियतनामी खानाहरु उपलब्ध गराउनु नै यस रेष्टुरेन्टको प्रमुख बिशेषता भएको कुरा सो रेष्टुरेन्टका संचालक निरज खतिवडाले बताए ।

संचालक खतिवडा सन् २००३ मा भाषा विद्यार्थीको रुपमा जापान आएका थिए । त्यसपछि होटेल म्यानेजमेन्ट सम्बन्धी अध्ययन सकाएर केही वर्ष सोही क्षेत्रमा काम गरेपश्चात् उनले आफ्नै ब्यवसाय शुरु गरेका थिए । किताबी अध्ययन भन्दा पनि ब्यवहारिक रुपमै रेष्टुरेन्ट ब्यवसायमा हात हालेपछि त्यस सम्बन्धी धेरै ज्ञान भएको उनको अनुभब छ । बिराटनगर शान्तिचोकका खतिवडा जापान आउनु अघि भने एशियन फाउन्डेशन नामक आइएनजीओमा काम गर्दथे । जापानमा आएर नै रेष्टुरेन्ट सम्बन्धी ज्ञान लिँदै आफ्नै ब्यवसाय गरेको भए पनि उनी आफ्नो ब्यवसायमा सन्तुष्ट नै भएको बताउँछन । तर आशा गरे जस्तो सफलता भने अझै हात नपरेको उनको भनाइ रहेको छ ।

जापानमा नेपाली तथा इण्डियन रेष्टुरेन्टहरु संख्या बढ्दै गएको परिप्रेक्षमा यस ब्यवसायका चुनौतीहरुको बारेमा जिज्ञासा राख्दा उनले सबैभन्दा पहिले ब्यवसायीहरुले कामदारहरुको भलो चाहनु पर्ने र उनीहरुलाई खुशी बनाउनु पर्ने बताए । अर्थात् जापानमा कुकहरुलाई तलब भनेको समयमा नदिने बढ्दो प्रबृत्तिप्रति उहाँको संकेत थियो । जब, काम गर्ने मान्छे नै मानसिक रुपमा सन्तुष्ट हुँदैन भने उसले ग्राहकहरुलाई कसरी राम्रो सेवा दिन सक्छ र ग्राहकहरु खुशी भएर जान्छन् ? उनको प्रश्न थियो ।

त्यसैगरी कामदारहरुलाई जापानको कानुन अनुसार उपलब्ध गराउनु पर्ने बिमा लगायतका सुबिधाहरु पनि उपलब्ध गराएमा कम्पनिप्रति जापानीहरुको दृष्टिकोण पनि फरक हुने उनको बिचार छ । श्री खतिवडा सामाजिक कार्यहरुमा पनि इच्छुक छन् । उनले आफ्नो जन्मस्थानका अपांगहरुको लागि जापानदेखि केही ह्विलचेयरहरु पनि पठाइसकेका छन् । आफ्नो कार्य ब्यस्तताले गर्दा सोचेजस्तो सामाजिक कार्यहरुमा सहभागी हुन नसकेकोमा भने उनी दुःखी देखिन्छन् । ब्यवसायमा अझै स्थापित भएपछि भने केही समय निकालेर सामजिक क्षेत्रमा पनि सक्रिय हुने उनको चाहना छ ।

एशियन चुबो अनुसाको पूरा ठेगानाः

इबाराकी केन तोरिदे सी च्युओ माची २–५, बक्स हिल बिल्डिङ ६ तल्ला,

फोनः ०२९–७७२–५१४१

तपाईको प्रतिक्रिया