बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024

जापानको दोस्रो ठूलो शहर ओसाकाको निसी कु मा सन् २००२ देखि संचालनमा रहँदै आएको रेष्टुरेन्टको नाम हो ‘बिन्दु‘ । बाग्लुङ जिल्ला बिउं गा.बि.स वार्ड नं ३ का टिकाराम कँडेलद्वारा संचालित यो रेष्टुरेन्ट साधारण इण्डियन नेपाली रेष्टुरेन्ट भन्दा अली फरक ढंगले चलाइएको छ । यहाँ दिउँसोको समयमा क्याफेको रुपमा चलाइन्छ भने लन्च तथा डिनरको समयमा नेपाली तथा इण्डियन खानाहरु उपलब्ध गराइन्छ । ओसाका क्षेत्रमा रहेका अन्य इण्डियन नेपाली रेष्टुरेन्टमा भन्दा बिशेष स्वादको तन्दुर खानाहरु पाइने आफ्नो रेष्टुरेन्टको बिशेषता भएको संचालक कँडेल बताउँछन् । ओसाका शहरमै अर्को इण्डियन नेपाली रेष्टुरेन्ट ‘दिल्ली‘ पनि संचालन गर्दै आएका टिकाराम कँडेल इण्डियन खानामा आफ्नो लगानी र अनुभब धेरै भएकोले यस पेसालाई अंगालेको बताउँछन् । १४ बर्षको उमेरमै बिदेशिएका कँडेलले शुरुमा इण्डियामा गई बिभिन्न कामहरु गर्दै अन्तमा होटेल तथा रेष्टुरेन्ट ब्यवसायमा आफ्नो क्यारियर बनाउन सफल भएका थिए । त्यसो त उनले इण्डियामै करिब १० वर्षजति त होटेलमा काम गरेका छन् । त्यसपश्चात् सन् १९९६ मा जापान छिरेका उनले शुरुको ५ वर्ष ‘नानक‘ नाम गरेको इण्डियन कम्पनीमा काम गरेका थिए । त्यस बखत आफूले काम गरेको रेष्टुरेन्ट अती नै ब्यस्त हुने गरेको र कहीलेकाहीं त खाना खाने फुर्सद समेत नभएको उनको अनुभब छ ।

यसरी रेष्टुरेन्टको ब्यवसाय राम्रो भएको देखेर उनलाई पनि आफ्नै ब्यवसाय गर्न इच्छा जागेर सन् २००२ मा बिन्दु रेष्टुरेन्ट खोलेका थिए । अरुकोमा होस् या आफ्नै रेष्टुरेन्टमा होस् आफ्नै सम्झेर इमान्दारी तथा परिश्रमका साथ काम गर्‍यो भने सफलता मिल्दो रहेछ भन्ने उनको अनुभबले बताएको छ । ब्यवसायिक रुपमा उनी सन्तुष्ट नै देखिन्छन् । पछिल्ला बर्षहरुमा नेपाली तथा इण्डियन रेष्टुरेन्टहरुको संख्या अत्याधिक बढेकोले त्यसलाई ब्यवस्थित र स्वच्छ प्रतिस्पर्धात्मक रुपमा अगाडी बढाउन सबैले मिलेर लाग्नु पर्ने उनको बिचार छ । रेष्टुरेन्ट खुल्नुमा त कुनै समस्या छैन तर सम्बन्धित क्षेत्रको अनुभबको अभाबका साथै भाषाको अज्ञानताले गर्दा चाहे जस्तो सेवा दिन नसकेका रेष्टुरेन्टहरु पनि कैयौं छन् । जसको प्रभाब अन्य रेष्टुरेन्टहरुमा पनि नपर्ला भन्न सकिन्न – श्री कँडेलको तर्क छ ।

उनी फुर्सदको समयमा सामाजिक कार्यमा पनि सक्रिय रुपमा लागि पर्छन् । एनआरएन जापानको कान्साइ क्षेत्रीय समितिमा हाल कोषाध्यक्षको रुपमा कार्यरत श्री कँडेलले बाग्लुङको आफूले अध्ययन गरेको बिद्यालयलाई ६ वटा कम्प्युटर तथा ३ लाख नगद सहयोग पनि गरेका छन् । त्यसको लागि उनले फुकुओकाका महेन्द्र कँडेल लगायत अन्य साथिहरुको पनि सहयोग लिएका थिए । जापानमा रहेका हामी सबै नेपालीहरु एक ढिक्का भएर अगाढी बढ्न सक्यौं भने नेपालको बिकासको लागि उल्लेखनिय काम गरेर देखाउन सकिने बिश्वास उनको छ ।

रेष्टुरेन्ट क्याफे एन्ड बार ‘बिन्द’ को पूरा ठेगानाः

ओसाका फु ओसाका सी निसी कु किता होरिए १–१६–१८,

फोन नं. ०६६–५३८–०६७७

तपाईको प्रतिक्रिया