शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

जापानमा रहेका नेपालीहरुले गरेका बिभिन्न ब्यवसायहरु मध्ये गाडीको खरिद बिक्री गर्ने ब्यवसाय पनि एक हो । बिगत १० बर्षदेखि यहि ब्यवसाय गर्दै आएको एउटा कम्पनीको नाम हो ओशिएन माना इंक । निगाता केनमा कार्यालय रहेको उक्त कम्पनी सन् २००१ मा ओशिएन अटो कम्पनीको नाममा स्थापित भई सन् २००४ देखि हालको नामबाट सञ्चालनमा रहेको छ । रत्ननगर नगरपालिका वडा नं २, टाँडी चितवनका स्थायी बासिन्दा गणेश भट्टराई (आनन्द) यस कम्पनिका सञ्चालक हुनुहुन्छ । सन् २००१ मा पर्यटकको रुपमा जापान आउनुभएका भट्टराईले शुरुका केही महिना रेष्टुरेन्ट ब्यवसायमा आफ्नो अनुभब बटुलेपछि साथीभाइसँगै गाडीको खरिद बिक्री सम्बन्धी कार्यमा हात हाल्नुभएको थियो । जापानमा रहेका अधिकांश नेपालीहरुले गरेको रेष्टुरेन्ट ब्यवसाय भन्दा फरक खालको ब्यवसाय गर्ने इच्छा अनुसार आफूले यो पेशा अंगालेको कुरा उहाँले बताउनुभयो । ओशिएन माना इंकले सबैभन्दा बढी गाडीहरु रसियामा पठाउने गरेको र त्यसपछि दक्षिण अफ्रिका, न्युजिल्यान्ड लगायतका अफ्रिकी तथा युरोपेली मुलुकहरुमा पठाउने गरेको छ । ती देशहरुमा त्यहिँ बनेका जापानी गाडीहरु भन्दा जापानमा बनेका गाडीहरुको माग बढी रहेको सञ्चालक भट्टराईले बताउनुभयो । त्यसो हुनुमा सम्बन्धित देशमा जापानी कम्पनीले नै बनाएको गाडी भएपनि त्यस देशको बस्तुस्थितीलाई हेरेर बनाइएको हुन्छ । तर जापान मै बनाइएका गाडीहरु भने अन्तरराष्ट्रिय स्तरको हुने भएकोले अलिकति बढी पैसा तिरेर भएपनि जापान मै बनेको गाडीहरु चढ्न मानिसहरु इच्छुक देखिन्छन् – उहाँको भनाइ छ । जापानमा बनेका गाडीहरुमध्ये करिब ५० प्रतिशत टोयोटा कम्पनीका गाडीहरु आफ्नो कम्पनी मार्फत् खरिद बिक्री गर्ने गरिएको पनि श्री भट्टराईले जानकारी दिनुभयो ।

नेपालमा पनि प्रयोग भएका जापानी गाडीहरु भिœयाउन आफूहरुले बिभिन्न समयमा धेरै किसिमका प्रयासहरु गरे पनि त्यो अझै सार्थक हुन नसकेकोमा भने उहाँले दुःख ब्यक्त गर्नुभयो । भलै झिटीगुन्टाको रुपमा पनि आफूले प्रयोग गरेका गाडीहरु नेपाल लैजान स्वीकृती नहुनु चाँही हदैसम्मको संकुचित नियम भएको उहाँको गुनासो थियो । जापानबाट बाहिर जाने सेकेन्ड ह्यान्ड गाडीहरु नेपालमा चल्ने नयाँ गाडीहरुको तुलनामा धेरै राम्रो, सस्तो र बलियो हुने श्री भट्टराईको विचार थियो ।

ब्यवसायिक सन्तुष्टीको बारेमा राखिएको एक जिज्ञासामा उहाँले सन् २००७–०८ को बर्षहरुमा सोचेभन्दा धेरै राम्रो थियो तर सन् २००९–१० मा आएर अली खस्किए पनि सन् २०११ मा भने आफू सन्तोषजनक नै रहेको बताउनुभयो । त्यति हुँदाहुँदै पनि एकपछि अर्को सस्ता गाडीहरु बन्ने क्रमको प्रतिस्पर्धा, सम्बन्धित मुलुकमा हुने नियम कानुनको परिवर्तन आदि यस ब्यवसायको चुनौतीको रुपमा रहेको उहाँको विचार थियो । त्यसमा पनि गत मार्च ११ को महाभूकम्प तथा सुनामीका कारण उत्पन्न बिकिरणको समस्याले जापानबाट गाडीहरु निर्यात गर्न चुनौती थपिएको उहाँको अनुभब रहेको छ । तर आफू अझै आशाबादी भएर यस ब्यवसायलाई निरन्तरता दिने कुरा पनि श्री भट्टराईले स्पष्ट पार्नुभयो ।

जापानस्थित नेपाली समुदायको बारेमा आफ्नो धारणा राख्दै उहाँले भन्नुभयो – जापानमा धेरैजसो नेपालीहरु रेष्टुरेन्ट ब्यवसायमा लागेका छन् । सजिलोको हिसाबले त त्यो पनि ठिकै होला, तर केहि चुनौतीहरु भएपनि नयाँ ब्यवसायतर्फ लाग्नुपर्ने देखिन्छ । साथै, नेपालबाट कामदारहरु ल्याई अलपत्र पार्ने ब्यवसायीहरु पनि कम नभएकोले त्यस किसिमको काम छोडेर बिभिन्न क्षेत्रमा ब्यवसायको दायरा फराकिलो बनाउँदै एक आपसमा सहयोगको भाबनाले अगाडी बढ्नु नै समग्र नेपाली समुदायको हित हुन्छ ।

अन्तमा, नेपाली समाचार जस्तो जापानमा एकमात्र नेपाली पत्रिका निस्किरहेको सन्दर्भमा यसको आफ्नै छुट्टै किसिमको महत्व रहेकोले यसलाई निरन्तरता दिनुपर्ने र त्यसको लागि आफूले गर्नुपर्ने सहयोगको लागि आफू तत्पर रहेको उहाँले बताउनुभयो ।

साथै, उहाँले नजिकै आइरहेको नयाँ बर्ष २०१२ को सुखद उपलक्षमा समस्त नेपाली दाजुभाई तथा दिदि–बहिनीमा हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्नुभएको छ ।

ओशिएन माना इंकको पुरा ठेगानाः

निगाता केन, निगाता सि, किता कु,

सिमामी च्यो ५२७१,

फोन नं. ०२५–२५५–४५८५

तपाईको प्रतिक्रिया