मंगलबार, बैशाख २५, २०८१
Tuesday, May 7, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – चौधरी ग्रुप (सीजी) ले उत्पादन गर्ने वाइवाइ चाउचाउ गुणस्तर परिक्षणमा फेल भएपछि काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना गरेको छ। चाउचाउमा प्रयोग भएको एसिड भ्यालु अधिक रहेको पाइएसँगै ब्याच नं ६० को लट नै तुरुन्त बजारबाट फिर्ता गरी सो को प्रमाणसमेत पेश गर्न निर्देशन दिइएको छ ।

बजार व्यवस्थापन तथा अनुगमन ऐन २०७७ को दफा २९ को खण्ड ‘घ’ बमोजिमको कसुर देखिएको जनाउँदै सोही ऐनको दफा ३० को उपदफा (१) को खण्ड ‘ख’ बमोजिम जरिवाना गरिएको महानगरले जनाएको छ। महानगरपालिकाको वडा नं-६ सरस्वती नगरको किराना पसलबाट वैशाख २ गते महानगरको टोलीले चाउचाउ जफत गरेको थियो।

१५० ग्राम नमुना चाउचाउ परीक्षणका लागि प्रयोगशालामा पठाइएकोमा परीक्षणबाट आएको प्रतिवेदनले चाउचाउमा एसिड भ्यालु १३.९३४ देखाएको थियो।तेलको गुणस्तरका कारण यो समस्या देखिएको र यसको निरन्तर प्रयोग गर्दा क्यान्सरलगायत घातक रोग देखाउन सक्ने चिकित्सकहरू बताउँछन् ।

 

तपाईको प्रतिक्रिया