आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – इंग्ल्याण्ड भ्रमणमा रहेको नेपाल राष्ट्रिय पुरुष फुटबल टोली मैत्रीपूर्ण खेलमा पराजित भएको छ । इंग्ल्याण्ड सी टिमसँगको खेलमा नेपाल सोमबार राति २-० ले पराजित भएको हो । सोमबार इङ्ग्ल्यान्डको अल्डरसट टाउन एफसीको ईबीबी रंगशालामा भएको खेलमा इङ्ग्ल्यान्ड ‘सी’लाई जित दिलाउन निक काबाम्बा र क्यालम स्टेडले गोल गरे ।

खेलको आठौँ मिनेटमा निक काबाम्बाको गोलमार्फत इङ्ग्ल्यान्डले अग्रता लिएको थियो । त्यसको पाँच मिनेटपछि नै नेपालका गोलकिपर किरणकुमार लिम्बुले कर्नरबाट आएको बललाई पन्च गर्दै क्लियर गर्ने प्रयास गर्दा स्टेडले जाली चुमाए । नेपालले यसअघि शुक्रबार ब्रिटिस आर्मीसँग मैत्रीपूर्ण खेल खेलेको थियो । उक्त खेल गोलरहित बराबरीमा सकिएको थियो । फिफा विश्वकप र एएफसी एसिया कपको संयुक्त छनोटअन्तर्गत दोस्रो चरणका बाँकी खेलको तयारीस्वरूप नेपाली टोली बेलायत पुगेको हो ।

नेपालले जेठ २४ गते घरेलु मैदान, त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा युनाइटेड अरब इमिरेट्स (यूएई) को सामना गर्ने तालिका छ । यसपछि नेपालले जेठ २९ गते यमनविरुद्ध अन्तिम खेल खेल्नेछ । यमनविरुद्धको खेल उसैको मैदान अहमद बिन अली रंगशालामा हुनेछ ।

 

तपाईको प्रतिक्रिया