सोमबार, जेठ ०७, २०८१
Monday, May 20, 2024

टोकियो – जापानमा रहेका नेपालीहरुका लागि भिसा, यहाँको करप्रणाली, व्यवसायिक कारोवारको लेखा व्यवस्थापन र सो संग सम्बन्धित लाग्ने कर लगायतका बिषयमा जानकारी होस् भन्ने उद्देश्यले सुरु गरिएको स्तम्भ ‘हेलो सेन्सेइ !’ मा यसपटक विद्यार्थी भिसामा भएका विदेशीले आफ्ना श्रीमती, श्रीमान तथा बालबच्चालाई डिपेन्डेन्ट भिसामा जापान बोलाउँदा ध्यान दिनुपर्ने बिषयमा चर्चा गरिएको छ । यहाँहरुले पनि देहायको इमेलमा आफ्ना जिज्ञासा पठाउन सक्नुहुने छ ।

जापानमा विद्यार्थी भिसा भएका विदेशीहरुले डिपेन्डेन्ट भिसामा आफ्ना श्रीमान वा श्रीमती र बच्चाबच्ची बोलाउन सकिने भएता पनि केही महत्वपूर्ण मापदण्ड भने पूरा गर्नुपर्ने हुन्छ । उनीहरुले जापानको दैनिक जीवन यापन गर्नका लागि समस्या छैन भन्ने पूर्णतया विश्वास दिलाउन सकेमा मात्र श्रीमान वा श्रीमती र बच्चाबच्ची जापानमा बोलाउन सकिन्छ ।
तथापि जापानमा दैनिक जीवन यापनका लागि लाग्ने मासिक खर्च विवरणका बारेमा इमिग्रेशनले कडाइका साथ हेर्ने हुँदा सो बारेमा पुष्टि गर्ने भरपर्दो विवरण बुझाउन नसकेमा भिसा अस्वीकृत हुने संभावना बढी रहन्छ ।
विद्यार्थी भिसावाहक विदेशी मध्य विश्वविद्यालयको स्नातक तह, मास्टर डिग्री अनि जापानको न्याय मन्त्रालयबाट मान्यता प्राप्त व्यवसायिक कलेजमा अध्ययनरत विद्यार्थीले आफ्नो श्रीमान वा श्रीमती र बच्चाबच्चाका लागि डिपेन्डेन्ट भिसा आवेदन गर्न पाउँछ तर बुवा आमाको एप्लाइ भने गर्न पाइँदैन । जापानी भाषा स्कुलको विद्यार्थीले भने आफ्नो डिपेन्डेन्ट भिसा एप्लाइ गर्न पाउदैनन् ।
इमिग्रेशनले परीक्षण गर्ने भनेको विद्यार्थी भिसामा भएको व्यक्तिले परिवारका सदस्य जापान बोलाएर राम्रोसंग दैनिक जीवनयापन गर्न सक्छ कि सक्दैन भन्ने हो । त्यसका लागि इमिग्रेशनले विदेशी विद्यार्थीको आरुबाइतो (पार्टटाइम काम), बैंक ब्यालेन्स, अभिभावकले आफ्नो देशबाट पैसा पठाएको प्रमाण हेर्ने गर्छ ।
विदेशी विद्यार्थीको हकमा इमिग्रेशनले दिएको वर्क पर्मिटको आधारमा हप्तामा २८ घण्टासम्म काम गर्न पाउँछन् । त्यसैले पार्टटाइम कामको कमाइ २८ घण्टा भन्दा बढि कटाउन मिल्दैन, विदेशी विद्यार्थी भिसा भनेको जापानमा पढ्ने उद्देश्य भएको भिसा भएकाले अबबाट जापानमा पार्टटाइम काममा मिहेनत गर्छु भन्नु राम्रो होइन ।
२८ घण्टासम्म काम गर्न पाउने पार्टटाइम कामको कमाईले जापानमा श्रीमान श्रीमती अनि बच्चाहरुलाई जीवन यापन गर्न कठिनाई हुने हुँदा इमिग्रेशनले बैंकमा कति ब्यालेन्स छ, अभिभावकले आफ्नो देशबाट पैसा कति पठाएको छ भन्ने प्रमाण हेर्ने गर्छ । अभिभावकले पैसा पठाएको अवस्थामा बिदेशबाट पैसा पठाएको रेकर्ड बुझाउनुपर्ने भएकोले पठाउने व्यक्तिको नाम, पठाएको रकम र कति पटक पठाएको हो इमिग्रेशनलाइ प्रस्टाउनुपर्ने हुन्छ । यसका साथै बिबाह दर्ता अनि नाता प्रमाणित बुझाउनुपर्ने हुन्छ । यो भन्दा पहिला भिसा थप्दा परिवारको संख्या जनकारी गराएको छ कि छैन, तपाईले कहिले बिबाह गर्नुभयो, बच्चा कहिले जन्मियो अनि कति जना छन् भन्ने कुरा हेर्ने हुँदा त्यसलाई पुष्टि गर्ने कागजातहरु शंका नगर्ने हुनुपर्छ । अब बिबाह गर्ने अथवा कानुनी तरिकाले बिहे गरेको छैन भने त्यस्तो अवस्थामा डिपेन्डेन्ट भिसा एप्लाइ गर्न पाइँदैन । डिपेन्डेन्ट भिसा एप्लाई गर्दा बुझाउनुपर्ने कागजातहरु यसप्रकार छन् ।
बिबाह दर्ता, नाता प्रमाणित, बिदेशबाट पैसा पठाएको रेमिट्यान्सको प्रमाण, अहिलेको स्कुलको जाइगाकु स्योमेइस्यो, सेइसेकी स्योमेइस्यो, आरुबाइतोको जाइस्योकु स्योमेइस्यो, जापानमा जीवनयापन गर्न पुग्ने कमाइ पुष्टि गर्ने कागजात, श्रीमान श्रीमती अथवा बच्चा बोलाउने कारण खुलेको व्यहोरा, बैंक ब्यालेन्स प्रमाणपत्र अथवा बैंक पासबुकको कपी, खाजेइ स्योमेइस्यो वा हिखाजे स्योमेइस्यो, अहिले बसिराखेको कोठाको भाडाको सम्झौता पत्र, पासपोर्टको कपी, फोटो आदी ।

यो पनि पढ्नुहोस् :
हेल्लो सेन्सेइ ! भाग (११) यसरी लिन सकिन्छ, विदेशीले जापानी पासपोर्ट !
हेल्लो सेन्सेइ -१० यस्तो छ : जापानमा स्याकाइ होउकेनको अनिवार्यता र प्रावधान ! 
हेल्लो सेन्सेइ ! भाग -(९) अक्टुवर १ देखि बढेको १० प्रतिशत उपभोक्ता कर र यसले जनजीवनमा पर्ने प्रभाव  
हेल्लो सेन्सेइ ! भाग -(८) अक्टोबर १ तारिखबाट बढेको १० प्रतिशत उपभोक्ता कर भनेको के हो ?  
हेल्लो सेन्सेइ ! भाग-(७) यसरी बोलाउन सकिन्छ, डिपेन्डेन्ट भिसामा आफन्तलाई !
हेल्लो सेन्सेइ ! भाग ६) यस्तो छ, डिपेन्डेन्ट भिसा हुनेहरुले काम गर्न पाउने निर्धारित प्रावधान
हेल्लो सेन्सेइ ! भाग (५) जापानको स्थायी भिसा (एइज्युकेन) भएमा के के सुविधा पाईन्छ  ?
हेल्लो सेन्सेइ ! भाग (४) जापानको स्थायी भिसा (एइज्युकेन) एप्लाई सम्बन्धि परिवर्तित नियममा के छ ?
हेल्लो सेन्सेइ ! भाग (३) : गेन्सेनच्योउस्युहृयोउ भनेको के हो ? 
हेल्लो सेन्सेइ ! – भाग (२) : जापानमा लाग्ने आयकर भनेको के हो ? यो कस्तो अवस्थामा सस्तो हुन्छ ? 
हेल्लो सेन्सेइ ! – भाग- (१) : भिसा थप्ने बेलामा कुयाक्शो (सिटी कार्यालय) बाट निकाल्नुपर्ने कागजातहरु के के हुन ?   

Resource Person: Ogawa Bunkei
Licensed Tax Accountant, Gyoseisyoshi Lawyer
Email: [email protected] or [email protected]
Tel: 03-6903-8817 Mob.070-4339-4972

तपाईको प्रतिक्रिया