शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

टोकियो – जापानमा रहेका नेपालीहरुका लागि भिसा, यहांको करप्रणाली, व्यवसायिक कारोवारको लेखा व्यवस्थापन र सो संग सम्बन्धित लाग्ने कर लगायतका बिषयमा जानकारी होस् भन्ने उद्देश्यले जापानबाट बिगत लामो समयदेखि प्रकाशित हुंदै आएको पहिलो र नेपाली भाषाको एक मात्र पत्रिका ‘नेपाली समाचार’ मा सुरु गरिएको प्रश्नोत्तर स्तम्भ ‘हेलो सेन्सेइ ! ‘ मा प्रकाशित सामग्री यहां साभार गरिएको छ । उक्त स्तम्भ मार्फत सम्बन्धित बिषयका विज्ञद्वारा यहाँहरुको जिज्ञासा मेटाउने प्रयास गरिएको छ । यहाँहरुले पनि देहायको इमेलमा जिज्ञासा पठाउन सक्नुहुने छ ।

प्रश्नः इमिग्रेशन (अध्यागमन) मा भिसा थप्नका लागि आवेदन गर्दा सिटी कार्यालयबाट निकाल्नुपर्ने आवश्यक कागजात के के हुन ?
उत्तरः खाजे शोउमेइश्यो (Taxation Certificate) लिएर आउनुहोला ।

प्रश्नः  खाजे शोउमेइश्यो भनेको के हो ?
उत्तरः  खाजे शोउमेइश्यो भनेको हरेक वर्षको जनवरी १ देखि डिसेम्वर ३१ सम्मको तपाईको तलवी हिसाब, त्यसबापत लाग्ने कर र आश्रित परिवारको संख्या प्रमाणित गरिएको सिटी कार्यालयले दिने प्रमाणपत्र हो । कम्पनी वा रेष्टुरेन्टमा काम गर्ने तथा पार्टटाइम काम गर्नेहरुको तलवी विवरण हरेक वर्षको जनवरीमा उक्त कम्पनीले सम्बन्धित सिटी कार्यालयमा पठाउने गरिन्छ । अघिल्लो वर्षको जनवरीदेखि डिसेम्वरसम्म १२ महिनाको तलवी हिसाब तथा आश्रित परिवारको विवरण सिटी कार्यालयलाई जानकारी गराउनुपर्दछ । तलवी भौचर लिएर सिटी कार्यालय गई आफै पनि यो काम गर्न सकिन्छ । त्यसको छानबिन गरी सिटी कार्यालयले लाग्ने कर हिसाब निकालिसकेपछि खाजे शोउमेइश्यो प्राप्त गर्न सकिन्छ । हरेक वर्ष जुन महिना लागेपछि अघिल्लो वर्षको नयाँ खाजे शोउमेइश्यो उपलब्ध गराईन्छ । सिटी कार्यालयअनुसार मे महिनामै खाजे शोउमेइश्यो जारी गर्ने सिटीहरु पनि छन् ।

प्रश्नः  इमिग्रेशन (अध्यागमन) का आधिकारीहरुले खाजे शोउमेइश्यो हेरेर के छानबिन गर्दछन् ?
उत्तरः  वर्षभरिको तलब, कर रकम र आश्रित परिवार संख्या हेर्ने गर्दछन ।

प्रश्नः  खाजे शोउमेइश्यो हेर्ने तरिका सिकाईदिनुपर्‍यो ?
उत्तरः  सिटी कार्यालय अनुसार खाजे शोउमेइश्योको ढाँचा फरक पर्न सक्ने भएकोले तपसिलमा दिईएको तलवी भौचर (भरपाई) को नमुनालाई आधार मानेर प्रष्ट पार्न चाहान्छु ।

नमुना  यो तलवी भौचर (भरपाई) को आधारमा सिटी कार्यालयले खाजे श्योमेइश्यो जारी गर्ने गर्दछन् । तलवी भौचरमा उल्लिखित करको रकम र सिटी कार्यालयले जारी गरेको खाजे शोउमेइश्योमा उल्लिखित कर रकममा फरक पर्न सक्छ, यस बारेमा आफ्नो लेखा हेर्ने लेखा परिक्षक (अडिटर) संग परामर्श गर्नुहोला ।

Resource Person: Ogawa Bunkei
Licensed tax accountant, Gyoseisyoshi Lawyer
Email: ogawa@saitama-kaikei.net or samudra@samudrapari.com

तपाईको प्रतिक्रिया