शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024

भनिन्छ खुकुरीको चोट अचानोलाई मात्र थाहा हुन्छ, प्रवासी जीवनका भोगाईहरु त्यसै त अत्यन्त कष्टकर र प्रतिकुल मानिन्छ । त्यसमाथि अत्यन्त संबेदनशील मानिने सूचना र सञ्चारको क्षेत्रमा रहेर काम गर्न सोंचेजस्तो सजिलो पटक्कै छैन । चुनौतीहरुका माझ घेरिएर अक्षरहरुसंग खेल्ने काम पक्कै पनि फलामको चिउरा चपाउनुसरह नै हो ।

त्यसैले होला समाजमा अक्षरहरुसंग खेल्ने मानिसहरु अत्यन्त कम हुन्छन् भने अक्षरलाई खेद्ने र लखेट्नेहरु धेरै हुन्छन् । तथापि, थोरै भए पनि अक्षरसंग खेल्नेहरुको समाजमा महत्व हुन्छ र हुनुपर्दछ । थोरै भएपनि तिनै अक्षरसंग खेल्नेहरुले समाजमा धेरै मानिसहरुलाई निरन्तर चेतनाको दियो बालिरहेका हुन्छन् र समाजलाई हरेक कुराको बारेमा जानकार बनाईरहेका हुन्छन । यद्यपि हाम्रो समाजको संरचनाभित्र हलो, कोदालो, हँसिया, डोका, भारी र चौपारीहरुसंग खेल्नेहरुको पनि उत्तिकै महत्व र आवश्यकता छ ।

बोलेर वा लेखेर नागरिकलाई जानकार बनाउने काम सूचनाको सेवाभित्र पर्दछ । परिवर्तित सन्दर्भमा सूचना र सञ्चारको परिधी कायापलट नै हुने गरी बिस्तारित भएको छ । भूगोलका सीमारेखाहरु पार गर्दै छापा, रेडियो, टेलिभिजन, अनलाईन हुँदै सामाजिक सञ्जालहरुले पनि अहिले नागरिकलाई जानकार बनाउने काम गर्दै आईरहेका छन् । जबाफदेही हुनुनपर्ने र बिश्वसनियताको आधार पनि खुलाउन नपर्ने भएपनि फेसबुकलगायतका यस्ता सञ्जालहरुमार्फत पछिल्ला समयमा अत्यन्त छिटो सूचना आदानप्रदान भईरहेको पाईन्छ । संप्रेषण गरिने सामाग्रीको बिषयवस्तु, उपयोगिता र थोरै भएपनि गुणस्तरियतामा ध्यान दिन सक्ने हो भने यस्ता सामाजिक सञ्जालमार्फत प्रभावकारी सूचना प्रवाह गर्न र सामाजिक महत्वका बिषयमा उन्नत बहस चलाउन सकिने देखिन्छ । तर हाम्रो समाजले त्यो गति पक्रन सकेको छैन र पक्रने छाँटछन्द पनि देखिदैन । त्यसोहुँदा ब्यवसायिक मिडिया नै समाजमा अझ बढि भरपर्दो सूचना प्रदायक हुनुपर्ने जिम्मेवारी बढ्दै गईरहेको अवस्था जगजाहेर नै छ ।

यस सन्दर्भमा स्वदेशमा मात्र नभएर बिदेशमा रहेका नेपालीहरुलाई पनि समसामयिक र सामरिक महत्वका हरेक बिषयमा जानकार बनाईराख्ने हाम्रो दायित्वलाई अझ परिस्कृत गर्दै सूचनाको सेवामा हाम्रो यात्रा निरन्तर अगाडि बढ्ने प्रतिबद्धता ब्यक्त गर्दछौं । कलम समाउनेहरु कहिल्यै थाक्दैनन्, निरन्तर लेखिरहन्छन र गन्तब्यमा नपुग्दै फेदीमा बास बस्दैनन् भन्ने हाम्रो मान्यता रहीआएको छ । यहि सन्दर्भमा हामी नेपालीबिचको सामाजिक सद्भाव र नेपाली एकतालाई सुदृढ गर्ने साँस्कृतिक धरोहरको पर्व तिहार र छठ संघारमै आईपुगेका छन् । यस अवसरमा हाम्रा सबै शुभचिन्तकहरुमा मंगलमय शुभकामना ब्यक्त गर्दछौं । ०००

तपाईको प्रतिक्रिया