शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024

चिसा दिनहरु टाढिदैंछन् । यसपालीको चिसो सिजन सँधैकोभन्दा अलि लम्बिएको अनुभूति धेरैले गरेको हुनुपर्दछ । त्यसमाथि चिसै सिरेटोले यसपाली सेक्नुसम्म सेक्यो । धेरैलाई बिरामी नै बनायो । तथापि अबको एकाध हप्तामा जापान साकुरामय हुँदैछ । न्यानो दिनहरु सुरु हुँदै गर्दा प्रकृतिको सुन्दर बान्कीमा सजिएर नयाँ दुलहीझैं बन्न लागेको जापानमा रहेको नेपाली समुदाय पनि हानामीको ब्यग्र प्रतीक्षामा छ ।

हप्ताभरिको ब्यस्तता, थकान र तनावलाई बिर्साउनेगरी विन्दास पाराले रमाउने एउटा उल्लासमय पर्व हो हानामी । ढकमक्क फुलेको साकुराको बोटमुनि बसेर प्रियजन, आफन्त तथा मनमिल्ने साथीभाइहरुसंग खाईपिई गर्नु र गफिनुको मजा नै अर्कै हुन्छ । यी र यस्ता सँस्कार एवं सँस्कृति जोगाउने सवालमा जापान अगाडि छ । साकुराकै सिजनमा जापानले लाखौंको संख्यामा विदेशी पर्यटक भित्र्याएर मनग्गे आम्दानी गर्दछ । पार्क, उद्यान, बगैचा, नदिका किनारतिर साकुराको बोट रोपेर त्यसले दिने सुन्दरतालाई समेत जापानीहरुले उत्पादनसंग जोडेका छन् । हामी नेपालीका लागि यो साँच्चिकै अनुकरणीय छ । यसैगरी प्राकृतिक सौन्दर्यतालाई पर्यटनसंग जोड्ने हो भने हाम्रो देश नेपालमा पनि थुप्रै संभावनाहरु छन् । बनैभरि फुल्ने लालिगुराँसको सौन्दर्य र यसको महत्व जापानको साकुरा हेरेपछि मात्र बल्ल चाल पाउने हाम्रो मानसिकता छ । घरआँगन कै हिरा देख्न नसकेर खाडि मुलुक, मलेसिया जस्ता देशमा सस्तो मूल्यमा श्रम बेच्न हाम्रा युवाहरु उद्यत छन् । जान-अनजानमा हाम्रो पुस्ताले बाटो बिराए पनि अबको पुस्ताले देशमै उद्यम गरेर खुशीले बाँच्न पाउने वातावरण सिर्जना गर्न राज्यले ढिला गर्नुहुँदैन । ११, १२ कक्षा पढ्दै गरेका किशोर-किशोरीहरुलाई विदेशको सपना देखाउने हाम्रो समाज बदल्न गाह्रो छ, तर बदल्नै पर्दछ । कुनै पनि हालतमा अब युवालाई स्वदेशमै रमाउने वातावरण बनाउने राज्यको पहिलो सर्त हुनुपर्छ ।

टाकुराको देशबाट पाखुरा साट्न साकुराको देश आईपुगेका हामी नेपालीहरुले बुझ्नैपर्ने कुरो के हो भने जापान एउटा यस्तो देश हो यो एउटा बिशाल समुद्र हो । यहाँ डुबुल्की मारिसकेपछि सजिलै निस्कन जो कोहीलाई गाह्रो हुन्छ । किनभने यहाँ हिरा पनि पाईन्छ र किरा पनि पाईन्छ । आफ्नै घर अगाडिको हिरा चिन्न नसकेर सात समुद्रपारि आएका हामी नेपालीले समुद्रको गहिराई छिचोलेर हिरा चिन्ने काम त्यति सजिलो छैन । उपलब्धि, प्राप्ति र सन्तुष्टिका हिसाबले जे जस्तो भएता पनि जापानले धेरैलाई रनभुलमा पारेको तथ्य भने सत्य हो । विशेष परिस्थिति बाहेक जापानको बसाईलाई बिट मारेर स्वदेश फर्कने गरेको विरलै सुनिन्छ । यस्तो किन भईरहेको छ, कारण अनेक हुन सक्छन् यो एउटा अध्ययनको बिषय हुन सक्छ तर जापानको जीवनशैलीमा जब मानिस भित्रैसम्म घुलमिल हुन्छ तब उसलाई अन्य प्राप्तिभन्दा दैनिक जीवनयापन गर्न अभ्यस्त भईसकेको रस्तीबस्ती प्यारो र सहज लाग्न थाल्छ । जिन्दगीका अधिकाँश समय यसकारण मान्छेले बाहिर बिताउँदोरहेछ भन्ने अनुमान गर्न सकिन्छ ।

विदेश सिक्ने, बुझ्ने, जान्ने र अनुभव गर्ने अस्थायी मुकाम हुनुपर्नेमा स्थायी हुनेतर्फ उन्मुख भईदिंदा बिषय सोचनीय बन्न पुगेको सर्बबिदितै छ । बुझाई र भोगाई आ-आफ्नै हुन सक्छन् यद्यपि आफ्नो नाभि गाडिएको जमिन र आफ्नो माटो सबैभन्दा पवित्र हुन्छ नै । आफ्नो माटोको जस्तो सुगन्ध संसारको जुनसुकै ठाउँमा पुगेपनि अन्त भेट्न सकिदैन । यसकारण देश सबैभन्दा माथि छ, प्यारो छ र सर्बोपरि छ । हरेक बिहान ब्युँझदा हामी आफुलाई विदेशको विरानो गल्लीहरुमा पाए पनि हरेकपटक फेर्ने हाम्रो श्वास-प्रश्वासमा, रगत र पसिनामा हाम्रो देशको चिन्तन, मनन हुने गरेको हामी पाउँछौं । यो हामीलाई हुर्काएको हाम्रो माटोले दिएको उपहार हो, हामी जहाँ जान्छौं यो उपहार पनि हामीसंगै रहने गर्दछ ।

मौसम साकुराको छ हाम्रो मुड पनि रिफ्रेशमेन्ट हुने तिरै छ । वर्षभरि हामीले चाहेजति के कति गर्न सक्यौं या सकेनौं । मान्छेलाई विगतले पिरोल्छ, त्यसलाई भुल्न भविष्यको सुन्दर सपना बुनेर खुशी हुन सिकौं र चित्त शुध्द गरौं । संयोग पनि यस्तो परेको छ कि, जापानको आर्थिक वर्षको अन्तिम महिना, लाखौं नवजवान युवा-युवतीहरुको रोजगारीको पूर्वसन्ध्या, उता नजिकिदैं गरेको नेपाली नयाँ वर्ष, यता साकुरा फुल्न  सुरु भएको सिजनसंगै हानामी पर्वको आगमनलाई सच्चा र सकारात्मक भावले स्वागत गरौं, एक चिम्टी खुशी उमार्न शायद अन्त जान नपर्ला, यसैमा भेटिन्छ । ***

तपाईको प्रतिक्रिया