शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024

सञ्चार जगत आवेगले भन्दा विवेकले चल्नुपर्ने सचेत क्षेत्र हो । सार्बजनिक सूचना प्रवाहमा होस् वा ब्यक्तिगत अभिब्यक्ति प्रकटमा सानो सानो त्रुटीले ठूला ठूला दुर्घटना, हंगामा, उत्तेजना फैलिएको उदाहरण हामी अचेल बाक्लै सुन्दै आईरहेका छौं । सूचनाको संसारमा संप्रेषित सानो सानो त्रुटी वा प्रसंगले क्षणभरमै तरंग पैदा गर्नुका साथै सामाजिक सद्भाव खलबलिन पुग्छ भने अनावश्यक वादविवाद, घोचपेच, ध्रुबिकरण जस्ता बेकारका झमेला र मनमुताव सिर्जना गरिदिन्छ । जिम्मेवार पंत्तिबाट अनपेक्षित एवं गैरजिम्मेवार र समाजले पचाउन नसक्ने त्यस्ता सन्देश वा अभिब्यक्ति सार्बजनिक हुनुलाई त्यति सहजरुपमा लिन सकिदैंन ।

हामी विदेशमा छौं । यसै पनि हामीलाई मन बहलाउन सामाजिक सञ्जालको दुनियाँ सहज पहुँचको चौतारो बनेको छ । हामीलाई मनमा केही नयाँ कुरा फुर्दासाथ जस्तो जानेको छ त्यस्तै कोरकार पारेर पोष्ट्याउन हतार भईसकेको हुन्छ तर त्यसले बोकेको भाव, भंगी, भाषा, सन्देश, सन्दर्भ कम्तिमा पनि हेर्नलायक ब्याकरण मिलेको नमिलेको विचारै नगरी सार्बजनिक गरिदिन्छौं । हामीलाई हेक्का राख्ने फुर्सद हुँदैन कि यसको असर कहाँ र कसलाई पर्न जान्छ भनेर । अनि सुरु हुन्छ पक्ष र विपक्षमा टिकाटिप्पणी गर्दै एक अर्कालाई जित्ने प्रतिस्पर्धामा समय खेर फाल्न । यो खालको सँस्कारलाई न्युनिकरण गर्न कम्तिमा पनि सचेत वर्गभित्र पर्ने सञ्चारकर्मी मित्रहरुबाट अलि बढि जिम्मेवार भूमिका अपेक्षित छ ।

ब्यस्त दैनिकी, थकित शरिर, जिम्मेवारीको गह्रुंगो भारी, विदेशको परिवेश, कतिखेर कसलाई के आईपर्छ के थाहा ? धेरै टाढाको गन्तब्य, सुन्दर घरसंसार सजाउने मनभरिको चाहना, प्रियजनको अनुहारमा दुई अक्षरले बनेको खुशी उमार्न परदेश भासिएको एकथान ज्यान । एक्ला एक्लै सोच्यौं भने जम्माजम्मी यत्ति हैन त हामी परदेशमा हुनेहरुको सपना ? त्यसैले बेकारको गाँड कोराकोर गरेर के नै हुन्छ र ? मिलेर बसौं, एकले अर्काको सम्मान गरौं । नकारात्मक बिषयवस्तुलाई चाहिनेभन्दा बढि हाइलाइट नगरौं, यहाँ कसैले कसैलाई उछिन्नु छैन । बिजनेशमा होस् या उद्यमशिलतामा, समाचार उत्पादनमा होस् या साहित्य सिर्जनामा आफ्नोपन झल्कने केही मौलिक र नयाँ सिर्जना पनि डेलिभरि गरेर देखाऔं, सबैथोक अरुकै फर्म्याट र अरुकै मोडल कपी गर्ने सँस्कारमा भर नपरौं । सूचना र प्रविधिको सुबिधायुक्त दुनियाँमा नयाँ नयाँ अवसरका थुप्रै ढोकाहरु खुल्दै गएको सन्दर्भमा तन्नेरी पुस्ता झन झन रचनात्मक, सिजर्नशील र अब्बल हुँदै जानुपर्नेमा पुरानै ढर्राका निर्बाहमुखी ब्यवसायमै खुम्चिने र देखासिकी गर्ने प्रवृत्तिले हाम्रा ब्यवसायिक बजार साँगुरिदै गएका छन् । यो निकै सोचनीय बिषय हो । परस्परबीचको प्रतिस्पर्धाबाट निर्वाह त होला तर अपेक्षित परिणाम निकाल्न संभव छैन । यसतर्फ पनि सचेत भनिएको वर्ग अझै अचेत भईरहने हो भने औसत मान्छे र हामीमा के फरक भयो र ?

सञ्चार क्षेत्र अलि बढि सजग, सचेत र जिम्मेवार हुने हो भने समाजलाई सहि दिशामा हिडाउन सहज हुनेमा शंका छैन । आफुसंग सरोकार नभएको, आफुलाई थाहा नभएको बिषयमा प्रवेश गरेर समय खेर फाल्नुभन्दा प्रवेश नै नगर्दा गयल होईदैंन । संसारमा एउटै ब्यक्ति सर्बविज्ञ हुन सकिदैन । लाख राम्रो गर्दा कसैले वास्ता गर्दैन तर एउटा मात्र त्रुटि हुँदा दुनियाँ खनिन आउने अपजसी कर्म हो पत्रकारिता । त्यसैले हाम्रा प्रस्तुती, हाम्रा अभिब्यक्ति र हाम्रा लिखितममा प्रयोग भएका भाषा, शैली, ब्याकरण अनि शुद्धाशुद्धीमा समेत उच्च सतर्कता अपनाउन सके अरुलाई हैन हामी आफैलाई फाइदा हुने हो र यस्तो अभ्यासले स्वयमको ब्यक्तित्वलाई नै अरु उच्च बनाउँछ ।

मुलुकभित्रभन्दा मुलुकबाहिर सभ्य नागरिकको परिचय दिन अझ बढि आवश्यक छ । शालिन, सभ्य, सुसँस्कृत र विनयशिलता जापानबाट सिक्नैपर्ने अमूल्य पाठ हुन् । जापानमा हामी नेपालीले सिक्नैपर्ने अरु पनि थुप्रै बिषयहरु छन् । तिमध्य केही मात्र भएपनि अनुसरण गर्न सके हाम्रो जीवनशैली र समाजका लागि सकारात्मक प्रभाव पर्न सक्छ । यस्ता बिषयमा पनि बेला बेलामा हाम्रो सोसाइटीलाई घचघच्याउन र सिञ्चित गर्न आवश्यक छ । यसतर्फ पनि सञ्चार क्षेत्रको भूमिका अपेक्षित छ । हामीकहाँ लेखिनुपर्ने बिषयहरु अनेक छन् तर नलेखिनुपर्ने बिषय गिजोलेर समय खेर फाल्न कम्तिमा पनि हामीलाई छुट छैन । ***

तपाईको प्रतिक्रिया