सोमबार, बैशाख २४, २०८१
Monday, May 6, 2024

काठमाडौं – जडीबुटीमध्ये उच्च पहाडी तथा हिमाली क्षेत्रमा पाइने यार्सागुम्बाको भने चर्चा विशेष हुने गरेको छ । पुरुषका लागि यौन शक्तिवर्धक जडिबुटीको रूपमा चर्चा गरिने यार्सागुम्बा ‘हिमालयन भिएग्रा’को नामले पनि परिचित छ ।

उच्च पहाडी तथा हिमाली क्षेत्रको अति दुर्गम क्षेत्रमा पाइने यसको सेवनबाट मानिसको शरीरमा लाग्ने थुप्रै किसिमका रोगसँग लड्ने शक्ति प्राप्त हुन्छ ।

यार्सागुम्बाको अंग्रेजी नाम ‘क्याटरपिलर फङ्गस’ अथवा ‘हिमालयन भिएग्रा’ हुन्छ । यस्तै, यसलाई ‘कोर्डाइसेप्स’ पनि भनिन्छ । बहुउपयोगी जडीबुटीको रूपमा रहेको यार्सागुम्बा ३२ सयदेखि पाँच हजार मिटरको उचाइको उच्च पहाडी तथा हिमाली क्षेत्रमा पाइन्छ । नेपाल, भारत र तिब्बतमा महँगो मूल्यमा बिक्री हुने यार्सागुम्बा धेरैजसो नेपालको उच्च पहाडी तथा हिमाली क्षेत्रमा पाइन्छ ।

चिनियाँहरूले दुई हजार वर्ष पहिलेदेखि नै आयुर्वेदिक औषधिको रूपमा यसको प्रयोग गर्दै आएको बताइन्छ । चिकित्सकहरूले यार्सागुम्बालाई संसारकै सबै भन्दा महँगो जडीबुटीको रूपमा चर्चा गरेका छन् ।

उच्च पहाडी तथा हिमाली क्षेत्रमा पाइने एक किसिमको किरा नै यार्सागुम्बा हो । यार्सागुम्बाले बेइजिङ ओलम्पिकको समयमा अत्यधिक चर्चा पाउनुका साथै यसको व्यापारमा समेत वृद्धि भएको थियो । प्रति किलो ३२ हजारदेखि ८ लाख रुपैयाँसम्म यसको बिक्री हुने गरेको सम्बन्धित व्यापारीको भनाइ छ ।

विशेष गरी तिब्बतबाट निवार्सित तिब्बतीहरू यार्सागुम्बा व्यापारमा संलग्न हुने गरेका छन् । हिमाली क्षेत्रमा यसलाई किरा, जडीबुटीको नामले चिनिन्छ भने तिब्बत तथा चीनमा भने यार्सागुम्बा वा यार्सागम्बूको नामले परिचित छ ।

तिब्बत तथा चीनमा यसलाई यौन उत्तेजक वा शक्तिवर्धक औषधिको रूपमा प्रयोग गर्ने गरिन्छ । केही जडीबुटीले नकारात्मक असर गर्ने गर्छ तर यार्सागुम्बाले भने कुनै पनि किसिमको साइट इफेक्ट गर्दैन ।

यसको स्वाद मीठो हुन्छ । सुरुमा किराको रूपमा रहने भएकाले यसको जीवन समय करिब ६ महिनाको हुन्छ । चैत, वैशाख महिनामा उक्त किराले आफ्नो जीवन चक्र पूरा गरेर मर्छ । मरेपछि यो किरा, जडीबुटीको रूपमा उच्च पहाडी तथा हिमाली क्षेत्रको घाँसे क्षेत्रमा रहने गर्छ ।

भारतमा यार्सागुम्बा सङ्कलनमा प्रतिबन्ध छ भने नेपालमा सन् २००१ देखि सरकारले प्रतिबन्ध हटाएको थियो । नेपाल सरकारले प्रति किलो २० हजार रुपैयाँ राजश्व उठाउने गरेको बताइन्छ ।

पछिल्लो समय भने धेरै नाफा कमाउने लोभमा यार्साको व्यापारमा थुप्रै बिचौलिया व्यापारीहरू प्रवेश गरेको पाइन्छ । यौन शक्तिवर्धक जडीबुटीको रूपमा रहेको यार्साको बिक्री विदेशमा महँगो मूल्यमा हुने गरेको छ । त्यसमा पनि चीनमा यसको माग धेरै छ ।

तपाईको प्रतिक्रिया