आइतबार, फाल्गुण १३, २०८०
Sunday, February 25, 2024

नेपाली समाजको मनोविज्ञान बडो बिचित्रको छ । सामाजिक सञ्जालमा आएका सूचना र सन्देशकै भरमा हामी तत्काल आफ्नो धारणा बनाईहाल्छौं । र, त्यसैको आधारमा कसैको देवत्वकरण गर्नुपरे पनि दानवीकरण गर्नुपरे पनि ज्यानै फालेर होमिन्छौं । यो बडो डरलाग्दो पक्ष हो । सत्यतथ्य र स्रोत खोज्ने झन्झटमा फस्न यहाँ कसैलाई फुर्सद छैन । लाखौंको संख्यामा फलोअर्स हुने प्रयोगकर्ताहरु मध्य यदि कसैले गलत नियतले झुटो अफवाह फैलाउन चाह्यो भने यो प्लेटफर्मको दुरुपयोग गर्नबाट कसैले रोक्न सक्दैन । सामाजिक सञ्जालमा अहिले सबैभन्दा बिकाउ माल भनेकै झुटको खेती भईदिएको छ । यसबाट पर्ने नकारात्मक असरबाट सामाजिक सद्भाव खलबलिन सक्छ । मिलेर बसेको समाज विखण्डित हुन पुग्छ । कपोलकल्पित र अफवाह सन्देशका कारण सारा जिन्दगी खर्चेर बनाएको कसैको ब्यक्तित्व क्षणभरमा धुलिसात भईदिन्छ । यो भन्दा संभावित खतरा अरु के हुन सक्ला ? हरेकको हातमा अदृश्य तर डरलाग्दो हतियार जो छ, यसको सहि प्रयोग बिधि, डिजिटल साक्षरताको अवस्था र नेपाली मनोविज्ञान हेर्दा अगाडिको चित्र निकै भयावह देखिन्छ ।

हाम्रोजस्तो अर्ध डिजिटल साक्षरता भएको देशमा भिडलाई आफुतिर आकर्षित गर्न सामाजिक सञ्जाल एउटा गतिलो अष्त्र बनेको छ । यसै अष्त्रको प्रयोग गर्दै भिडबाट रातारात नेता हुने र राजनीतिको रोटी सेक्ने प्रवृत्ति अचाक्ली बढ्दो छ । के सहि र के गलत भन्ने भेउ छुट्याउनका लागि मुलजरो खोतल्ने झमेलालाई यो प्रवृत्तिले सिधै खारेज गरेको देखिन्छ । हुन त भिड र भ्रमको आयु छोटो हुन्छ भनिन्छ । तै पनि समाजको एउटा तप्कालाई निश्चित समयसम्म प्रभावित पार्न यो प्रवृत्तिको भूमिका सँधै रहिरहन्छ नै ।

स्रोतका अनुसार अघिल्लो जनवरीसम्ममा नेपालभित्र १ करोड २६ लाख सामाजिक सञ्जाल प्रयोगकर्ता रहेको पाईन्छ । त्यसमध्य १ करोड २० लाख हाराहारी त फेसबुकको प्रयोगकर्ता मात्रै छन् । करीव ३ करोड जनसंख्या भएको देशमा सवा करोड जनसंख्या समक्ष एउटै प्लेटफर्ममार्फत जोडिन सकिने यो नेटवर्कलाई सहि सदुपयोग गर्न सो अनुसारको चेतनाको स्तर र डिजिटल साक्षरताको अति आवश्यक पर्दछ । प्रयोग गर्न जान्नेहरूका लागि सामाजिक सञ्जाल सञ्जीवनी नै साबित भएको छ । यसको प्रयोगले संसारभर भएका घटना परिघटना एकै ‘क्लिकमा’ हेर्न, पढ्न र सुन्न सकिन्छ । फरक फरक भूगोलमा रहेका आफ्ना परिवारका सदस्य, आफन्तजनहरुसंग जोडिएर खबर आदान-प्रदान गर्नुका साथै देशविदेशका नयाँ नयाँ गतिविधि बारे जानकारी लिन सकिन्छ । तर हरेक चिजका सकारात्मक र नकारात्मक पाटा हुन्छन् नै । विशेष गरी चेतनाको स्तर कम भएको समाजमा यसले निम्त्याउने नकारात्मक असरले सिंगो समाजलाई नै कतातर्फ मोडिदिने हो यो सबैभन्दा चिन्ताको बिषय हो । पछिल्ला समयमा विभिन्न राजनीति दलविशेषमा आस्था राख्ने नेता तथा कार्यकर्ता तहमा एकले अर्कालाई हिलो छ्याप्ने, उत्तेजना फैलाउने जस्ता हर्कत सामाजिक सञ्जालभरि छरपष्ट देख्न पाईन्छ । आफुबाहेक अरु सबै बेठीक भन्ने आशयबाट प्रेरित यस्ता तर्कहरुबाट भावी पुस्तामा कस्तो सन्देश जाला ? सार्बजनिक फोरमहरुमा राखिने आफ्ना प्रस्तुतीका भाषा मर्यादित, सभ्य र विनयशील हुनुपर्छ भन्ने उनीहरुका हेडसरहरुले किन सिकाउँदैनन् होला ?

पढेलेखेकै युवा पुस्ताबीच पनि डिजिटल साक्षरता आजको अहम प्रश्न हो । के सत्य हो र के झुट हो भनेर छुट्याउन नसकिने सामग्री सामाजिक सञ्जालमा पोष्ट गर्न हतार गरिएको हुन्छ । नकारात्मकताले भरिएका, नैराश्यता मिसिएका र लाञ्छनायुक्त सामग्रीहरुले सकारात्मक भावनाको विकास गर्न सकिदैंन । बरु यसले मानिसमा भय, चिन्ता, पिर र आक्रोश पैदा गर्छ । यहाँ केही पनि राम्रो छैन, सबै बिग्रिएको, भत्किएको र बरबादी मात्र छ भनेर मान्छेमा असन्तुष्टि र निराशा मात्र पैदा गर्दछ । त्यसैले कस्तो सामग्री प्रयोग गर्ने वा संप्रेषण गर्ने, कस्ता समग्रीलाई विश्वास गर्ने भनेर हरेक नागरिक सचेत हुनु जरुरी छ । यदि आफुमा त्यो क्षमता छैन भने आफुले विश्वास गरेको निकटका साथीहरुको सल्लाह लिएर पनि आफ्नो डिजिटल साक्षरताको स्तरोन्नती गर्न सकिन्छ । सभ्य र सुसंस्कृत समाज निर्माण गर्ने जिम्मेवारी हामी सबैको हैन र ?

तपाईको प्रतिक्रिया