बिहिबार, फाल्गुण १०, २०८०
Thursday, February 22, 2024

आफु बसेको समाजमा देखिएका र मनमा लागेका बिषय नै शब्दमा उनिएर आलेख बन्नेहुन् । शब्दहरु निर्जीव हुन्छन् तर तिनै निर्जीव शब्दहरु जब कुनै कुशल ब्यक्तिको अधरबाट प्रस्फुटित हुने सौभाग्य प्राप्त गर्दछन् अनि ती शब्दहरु निर्जीव रहँदैनन् अनि सजीव बनेर पाठक-स्रोताका मनलाई हुँडल्ने सामर्थ्य राख्दछन् । हामी बसेको समाज बडो विचित्रको छ । समय, काल, परिस्थिति र समसामयिक बिषयवस्तुमा जानकार राख्ने जानेबुझेका अपडेटेड् वर्ग हम्मेसी बोल्दैन, नबुझेकाहरु नबुझेकै भईहाले, आधाउधी बुझेकाहरु जता पनि चाहिनेभन्दा बढि बोलेर झन भ्रम छर्ने काम गरिरहेका हुन्छन् । के सहि र के गलत हो भनेर खुट्याउन सक्नेहरु सहि समयमा बोलिदिने हो भने समाजको स्थिति फरक हुन सक्छ ।

समाज शाष्त्रको सिद्धान्तअनुसार १५ प्रतिशत लिडरलाई समाजका ८५ प्रतिशत हिस्साले फलो गरिरहेका हुन्छन् । समाजको सबैभन्दा ठूलो हिस्सा अरुको फलो गर्नमै तल्लिन हुने भएकोले उनीहरुको स्वविवेकबाट आफ्नै निर्णय र धारणा उत्पादन हुन सक्दैन । यसो भएको हुनाले समाजको अगुवा अर्थात लिडर भनेको जिम्मेवार र अध्ययनशील हुनुपर्छ । जबाफदेही हुनुपर्छ । परिआउँदा तथ्यमा टेकेर बोल्न सक्ने निडर र सिंगो सोसाइटीलाई डोर्‍याउन सक्ने हुनुपर्छ भन्ने हो । त्यो क्षमता र ऊर्जा आर्जन गर्नका लागि अध्ययन नै अचुक औषधी हो । तर विडम्वना हामीकहाँ पठन सँस्कृति संकटमा छ । पुस्तक, पत्रपत्रिका पढ्ने कल्चर बिरानो हुँदैछ, ब्यवहारिक ज्ञानगुणका कुरा, ब्यक्तित्व बिकास, नेतृत्व बिकास र क्षमताको बिकास गर्ने खालका कार्यक्रमहरु हुँदैनन्, कार्यक्रमका लागि कार्यक्रम गर्ने र आफु आफुमै खादामाला र सम्मान ग्रहण गर्ने-गराउने अनि आत्मरतिमा रमाउने प्रवृत्ति अचाक्ली बढेको छ । यो शुभसंकेत होईन र आवश्यक छैन भन्ने लगभग सबैलाई थाहा छ तर यहाँ अगुवाहरु कोही चुइँक्क बोल्दैनन् । कतिपय अवस्थामा नेतृत्वमा हुनुपर्ने गुणका कारण पनि अपेक्षित भूमिका निर्बाह नभएको हुनसक्छ ।

कुनै ब्यक्तिको बाहिरी आवरणसहित आन्तरिक गुण वा विशेषताहरुको समग्ररुप नै ब्यक्तित्व हो । ब्यक्तिको शारीरिक अवस्था, भेषभूषा, शृङ्गार, साजसज्जा बाहिरी आवरण हुन् भने उसको अध्ययन, वौद्धिकता, ज्ञान, योग्यता, सिप र विनम्रता उसको आन्तरिक गुण हुन् । यिनै गुणका आधारमा एक ब्यक्ति अर्को ब्यक्ति भन्दा फरक हुन्छ । जानकारहरुका अनुसार यहि फरकपनलाई नै ब्यक्तित्व भनिन्छ ।
मानिसले आफ्नो शारीरिक अवस्थालाई बदल्न नसके पनि चाहने हो भने आन्तरिक विशेषतालाई पूरै परिवर्तन गर्न सक्दछ र पहिलेको भन्दा विशेष बन्न सक्छ । श्रीमतीबाट अपहेलित भएर घरबाट निकालिएका महामूर्ख कालिदास पछि विद्वान बनेर फर्केको इतिहासमा पढ्न पाईन्छ । उनै पदमूर्ख कालिदास सँस्कृत साहित्यका महाकवि र महाज्ञानी मात्र बनेनन् बिश्वप्रसिद्ध दार्शनिक बन्न सफल भए । त्यसो भएको हुनाले ब्यक्तिले चाह्यो भने आफुलाई परिवर्तन गर्न र महान बनाउन सक्दछ । भनिन्छ, सामान्य अवस्थाबाट महानता तर्फको यात्रा नै ब्यक्तित्व निर्माण हो । निरन्तर अभ्यास, आदत र अध्ययनबाट नै ब्यक्तित्व निर्माण गर्न सकिन्छ ।

मान्छेभित्र असिमित ऊर्जा र क्षमता हुँदा हुँदै पनि कतिपय मानिसहरु विभिन्न कारणले असफल र लक्ष्यविहिन हुनुपरेको छ । उच्चतम चेत र विवेकशील प्राणीको हैसियत बनाएको मानिसमा रहेका सबल र दुर्बल पक्षहरुको पहिचान बेगर उ अगाडि बढ्न सक्दैन । यसका लागि पनि उसले ब्यक्तित्व बिकासका साथै आफुभित्रको क्षमताको बिकास गर्नैपर्दछ । अनि मात्र उभित्रको खराबीलाई हटाउन र सबल पक्षलाई बढाउन सक्षम हुन्छ ।

मानिसको जीवन सबल र दुर्बल पक्षको संगम हो । इतिहासका विभिन्न कालखण्डमा हाम्रा पुर्खाहरुले गरेका गल्ती र त्यसबाट प्राप्त शिक्षाकै कारण आजको आधुनिक युग संभव भएको हो । ऐतिहासिक एवं चामात्कारिक आविष्कारहरु निरन्तर गल्तीका उपज हुन् । कतिपय मानिसहरु आफ्नो गल्ती स्वीकार्न सक्दैनन् । ब्यक्तित्व निर्माणका लागि आफ्नो गल्ती, कमी, कमजोरीहरु स्वीकार्ने क्षमता पनि हुनुपर्दछ । यि सबै गुणहरु ग्रहण गर्दै निरन्तर ऊर्जाशील भईरहन अध्ययन गर्ने बानी बसालौं, पठन सँस्कृतिलाई जोगाऔं भन्ने सन्देशसहित समस्त नेपालीहरुमा भरखर सुरु भएको अंग्रेजी नयाँ बर्ष २०२४ को हार्दिक शुभकामना ।

तपाईको प्रतिक्रिया