मंगलबार, बैशाख २५, २०८१
Tuesday, May 7, 2024

टोकियो – जापानमा बस्ने नेपालीहरुको संख्या पछिल्लो वर्षमा ह्वात्तै बढेको छ । सुरक्षित र नेपालीका लागि पछिल्लो समय आकर्षक गन्तवय मानिएको जापानमा नेपालीहरुको संख्या उल्लेख्य रुपमा बढेको हो ।

जापान सरकारको अध्यागमन विभागले हालै प्रकाशित गरेको विदेशीहरूको तथ्यांकअनुसार सन् २०२३ डिसेम्बर ३१ सम्ममा जापानवासी नेपालीहरूको संख्या १ लाख ७६ हजार ३३६ पुगेको छ । सन् २००३ मा यो संख्या केवल ५ हजार १८१ मात्र थियो । यो तथ्यांकले विगत २० वर्षमा ३४ गुणाभन्दा बढी नेपाली जापानमा बसोबास गरेको देखाउँछ ।

सबैभन्दा धेरै ५५ हजार ६ सय ४ विद्यार्थी रहेको तथ्यांकले देखाउँदा ५० हजार ३ सय ८२ परिवारका सदस्यहरू आश्रित बनेर जापान पुगेका छन् । इन्जिनियर, मानविकीका विशेषज्ञहरू, अन्तर्राष्ट्रिय सेवा क्षेत्रका ३२ हजार ८६२ नेपाली जापानमा बसोबास गरिरहेका छन् भने ७ हजार १४५ जना नेपालीले जापानमा स्थायी बसोबास अनुमति पाइसकेका छन् । यसैगरी कुकलगायत विशेष दक्ष जनशक्ति, निर्दिष्ट सीपका कामदार, प्रशिक्षार्थी कामदारहरू, जापानी नागरिकका परिवारको सदस्य बनेर नेपालीहरू जापान बसिरहेको तथ्यांकमा छ ।

पछिल्ला दिनहरुका नेपाली विद्यार्थीको आकर्षण जापानमा देखिन्छ । अस्ट्रेलिया, बेलायत, क्यानडालगायत देशहरूले आप्रवासी विद्यार्थी प्रतिकूल आप्रवासन नीति ल्याइरहेको अवस्थामा जापानमा यो संख्या थप बढ्ने अनुमान छ । जापानमा असाध्यै बढिरहेको नेपालीको संख्याले अध्ययन र रोजगारीको लागि धेरैभन्दा धेरै नेपालीले जापानलाई गन्तव्यको रूपमा रुचाएको संकेत गर्छ ।

तपाईको प्रतिक्रिया