शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024

गत सोमबार मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको गेट नजिकै अर्थात् राजधानीको मुटु बबरमहलमा दिनदहाडै बम विस्फोट भयो । बिस्फोटमा परी ३ जनाको ज्यान गयो भने दर्जनजति गम्भीर घाइते भए । घटनाको जिम्मेवारी लिंदै जातीय मुक्ति मोर्चा नाम गरेको एक सशस्त्र समुहले यो त शुरुवात मात्रै हो भन्दै अनेकौं ठाऊँमा बिस्फोट हुनसक्ने चेतावनी दिएर आफ्नो निशाना अझै बाँकी रहेको संकेत गरेको छ ।

राजनीतिक दलहरुको क्रियाकलाप र देशमा भइरहेको पछिल्ला परिवर्तनप्रति एकखाले जनता सन्तुष्ट छैनन् भन्ने चेतावनीका रूपमा बबरमहलमा भएको बम आतंकलाई लिन सकिन्छ । मुलुकको आमुल परिवर्तनका लागि हतियार उठाएका हातहरू राजनैतिक नेतृत्वका कार्यशैलीप्रति असन्तुष्ट बन्न पुगे भने ती हातहरु अवश्य पनि चुपचाप बस्न सक्दैनन् । हिजोसम्म तिनैका बफादारी सिपाही बनेका कार्यकर्ताहरु आज नेतृत्वका सवारी साधनहरूमाथि अवरोध खडा गर्नेसम्मका आवाजहरूलाई त्यसरी नै लिन सकिन्छ । यी आवाज उठाउनेहरूले बोकेका हतियारहरू थान्को लगाउँदैमा देशमा शान्ति कायम हुन सक्दैन भन्ने धेरैको अनुमानलाई बबरमहल घटनाले थप बल प्रदान गरेको छ ।

केही सीमित व्यक्तिहरूबाहेक आम नेपाली जनताले परिवर्तनको अनुभव गर्न नसकिरहेको बर्तमान अवस्थामा नेपाली जनताले अपेक्षा गरेको परिवर्तनको ठूलो चाहनालाई सम्बोधन हुन नसक्दा कुनै न कुनै रुपमा असन्तुष्टीको पहिरो गर्जने गरेको हाम्रो सामु बिगतका अनुभवहरु छन् । यसबाट के भन्न सकिन्छ भने, परिवर्तनका लागि फेरि पनि हतियार उठ्न सक्छन् भन्ने सन्देशका रूपमा पनि बबरमहलमा भएको बम विस्फोटनको घटनालाई लिन सकिन्छ ।

बबरमहल प्रकरण जोसुकैको नामबाट भएको भए पनि त्यो निन्दनीय छ, तर यसलाई निन्दा, भत्सर्ना, र कडा कार्वाही गरेर एउटा घटनालाई सामसुम पार्न त सकिएला तर सँधैका लागि साम्य पार्न त समस्याको पहिचान र सम्बोधन नै गर्नुपर्ने हुन्छ । तसर्थ उक्त घटनालाई राजनीतिक दलहरुप्रतिको चरम आक्रोश, निराशा र यथास्थितिविरुद्धको प्रहार मान्न सकिन्छ । जुन घटनाबाट पाठ सिक्दै सरकार, राजनैतिक दलहरु र जिम्मेवार सबैले ईमान्दारितापूर्वक मुलुकलाई अग्रगमनको बाटोमा हिडाउनु नै सबैको हितमा छ र बबरमहल जस्ता घटना दोहोरिन नदिने अचुक उपाय पनि । त्यसैले त भनिन्छ, असन्तोषको कसौंडीमा शान्ति पाक्दैन, सबैलाई सन्तुष्ट राख्न सके शान्ति भाग्दैन । सिंहदरबारमा निदाएका दलहरुलाई बबरमहलको सन्देश यसरी नै बुझ्नु मुनासिव होला कि ?

तपाईको प्रतिक्रिया