शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024

नेपालीहरुको महान चाड दशैं हाम्रो सामु आएको छ । नेपालीहरुका चाड थुप्रै भए पनि दशैंको विशेष महत्व रहने गरेको छ । दशैंका आफ़्नै धार्मिक र सामाजिक महत्व रहेकाले पनि यो चाड परापर्वकालदेखि अरु चाडका तुलनामा महान चाड बन्न पुगेको हो । यस चाडसंग विभिन्न कथाहरु पनि जोडिएका छन् ।

सत्य युगमा भगवान रामले राक्षस रावणको बध गरेको उत्सवका रुपमा यसलाई जोडेर हेर्ने गरिएको छ । यसैगरी दूर्ग माताले असुरहरुको नाश गरी देवताहरुको रक्षा गरेकाले त्यसैको उपलक्ष्यमा मनाइदैं आएको खुसियाली नै चाडको रुपमा परिणत भएको कथा धार्मिक ग्रन्थमा उल्लेख छन् । यस चाडका अवसरमा सबैले आ-आफ़्ना दुःख कष्ट बिर्सिएर भए पनि दशैंलाई विशेष उल्लासका साथ मनाउने गरेकाले यो चाड हिन्दूहरुको मात्रै नभई नेपालमा रहेका सबै धर्मावलम्बीले विशेष महत्वका साथ मनाउने गरेका छन् । दशैंमा दिइने लामो सरकारी तथा गैरसरकारी संघसंस्था र शैक्षिक संस्थाका बिदाले पनि यसको सामाजिक महत्वलाई दर्शाउँछ ।

दशैंमा सम्भव भएसम्म काम वा रोजगारीका कारण तितर-वितर हुन पुगेकाहरु परिवारको ज्येष्ठ सदस्य भएका ठाउँमा जम्मा भएर चाड मनाउने चलन छ । यस अवसरमा विदेशबाट समेत उल्लेख्य संख्यामा नेपालीहरु स्वदेश जाने गरेको पाइन्छ । यसैगरी विदेशमा बस्नेहरुले सम्भव भएमा आफ़्ना माता पिताहरुलाई आफू भएको ठाउँमा बोलाएर विदेशको दशैंको अनुभव संगाल्ने गरेको पनि बाक्लै देखिन थालेको छ । जे जस्तो अवस्थामा भए पनि दशैंलाई एउटा मिलनको चाड, विगतका दुःखलाई विर्सेर खुसी मनाउने पर्व, एकआपसमा सद्भाव र मित्रताको प्रदर्शन गर्ने, मीठो मसिनु खाने अवसरका रुपमा लिने गरेको पाइन्छ । विजयादशमीको केही दिन अगाडिदेखि नै शुभकामना आदान-प्रदान गरेर होस् वा दशमीका दिनमा मान्यजनका हातबाट टीका जमरा थापेर आशिर्वाद लिनु प्रत्येक वर्षो अनिवार्य काम जस्तै भएको छ । नेपाल भित्र यस अवसरमा आर्थिक कारोबार पनि निकै बढ्ने गर्छ ।

विदेशमा भने नेपालमा जसरी दशैं मनाउने कुरा सहज छैन । परिवारसाथमा नहुनेहरु र हुनेहरु पनि परिवारका बाँकी सदस्यहरुलाई फोनै गरेर भए पनि दशैंको नियास्रो मेट्ने गर्दछन् । जापान पनि यस अर्थमा फरक हुने कुरै भएन । यति हुँदाहुँदै पनि यहाँका नेपालीहरुबीच दशैंको चहल पहल नजानिदो रुपमा बढ्न थालेको छ । दैनिकजसो माछा मासु नै खाने गरे पनि दशैंका अवसरमा इष्टमित्र वा साथीभाइसँग बसेर नेपाली स्वादले खानपिन गर्ने रहर धेरैले गरेको पाइन्छ । केही वर्षयता परिवारसहित नै जापानमा बसोवास गर्ने नेपालीहरुको संख्या उल्लेख रुपमा बढेकाले जमरा राखेरै टिका लगाउने चलन शुरुभएको छ । यसले जहाँ भए पनि हाम्रो संस्कार र संस्कृतिसँगै रहन्छ भन्ने कुरा प्रमाणित गरेको छ । यो राम्रो पक्ष हो । तसर्थ धर्म, जात-जाति र अन्य विभेदका कुराहरुलाई एकातिर पन्छाएर जहाँ भए पनि हामी सबै नेपालीहरुले मनाउने र रमाउने दशैं जस्ता पर्वहरुको संरक्षण र सर्ंबर्द्धन गर्नु हामी सबैको दायित्व भएको धारणा हाम्रो छ । विजया दशमीको हार्दिक शुभकामना ।

तपाईको प्रतिक्रिया