शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

नेपालमा जस्तै साना ठूला चुनाव अरु मुलुकमा पनि हुन्छन् तर चुनाव अघि र चुनाव पछि नेपाली समाजमा जस्तो भड्कीला प्रदर्शन हुने गरेको अन्त कमै देखिन्छन् । अन्त टाढा किन जानुपर्‍यो र हामी बसेको जापानमा हालैमा भएको आम निर्वाचनमा सत्तारुढ लिबरल डेमोक्र्याटिक पार्टी (एलडीपी) को गठबन्धनले दुईतिहाई बहुमत हासिल गरी नयाँ जनादेश प्राप्त गर्न सफल भएको छ । जसले गर्दा प्रधानमन्त्री सिञ्जो आबेको लोकप्रियता थप चुलिएको छ भने दोस्रो बिष्वयुध्दयता जापानको इतिहासमा उनी सबैभन्दा लामो समय सत्तामा टिक्न सफल र शक्तिशाली प्रधानमन्त्रीकारुपमा दर्ज भएका छन् । तर कहींकतै तामझाम, फूलमाला, अबिर, बिजय जुलुस, नाराबाजी, घोंचपेचपूर्ण भाषणवाजी भएको देखिदैन र मिडियाले पनि त्यति धेरै उछालेको र अतिरञ्जित गरेको पाईदैन ।

नजिकको छिमेकी मुलुक भारतमा पनि नेपालमा जस्तो अस्वभाविक तामझाम र अर्थहिन सस्तो प्रचारबाजी त्यति साह्रै देखिदैन । तर हाम्रो देश नेपालमा उम्मेदवारी दिएको दिनदेखि नै फूलमाला, अबिर, खादाको अस्वभाविक प्रयोग र भड्कीला प्रदर्शनको प्रचलन प्रचुरमात्रामा बढेको छ, जुन पटक्कै आवश्यक छैन । चुनावी नारा, एजेण्डा र ब्यक्तित्व नै चुनावका प्रमुख हतियार हुन्, त्यही हतियारको आधारमा जनमत हासिल गर्ने हो । तर बिकसित देशहरुमा बसेका हामी नेपालीले यहाँका राम्रो कुराहरु सिक्नुपर्नेमा उल्टै बिदेश आएर पनि नेपालका भड्कीला सँस्कारलाई उच्च प्राथमिकताका साथ हुबहु नक्कल गर्न उद्यत छौं । जुन समाजको हितमा छैन ।

सार्बजनिक पदधारण गर्नु भनेको आफैमा सबैको साझा मान्छे हुनु हो, अर्थात समाजप्रति पुरै उत्तरदायी बन्नु हो । जनमतको माध्यमबाट जिम्मेवार ओहदामा पुग्ने जो कोहीबाट समाजले उच्च अपेक्षा गरेको हुन्छ, जुन स्वभाविक पनि छ । तर उल्टै जनताबाट मान सम्मान र सस्तो लोकप्रियताको अपेक्षा जनप्रतिनिधीले गर्नुहुँदैन । जनता जनार्दनले पनि औपचारिकताको नाममा चाहिनेभन्दा बढि मान मनिता, चाप्लुसी र महत्व दिनुको सट्टा कर्त्तब्यप्रति जबाफदेही हुन सदैव सजग र सचेत बनाउनुका साथै आवश्यक परेको बेला सहयोग गर्ने सँस्कार बसाल्नुपर्दछ ।

हामी नेपालीका लागि यो वर्ष निर्वाचनको वर्ष साबित भएको छ । तीन पटक गरेर चरणवद्धरुपमा भएका स्थानीय तहको निर्वाचन लगत्तै प्रतिनिधी सभा र प्रदेश सभाको निर्बाचन केही हप्तामा हुँदैछन् । जनताबाट निर्मित संबिधान बमोजिम आसन्न निर्वाचनबाट प्रादेशिक सरकार र केन्द्रीय सरकार गठन हुनेछन् जसले मुलुकको बिकास र समृद्धिको ढोका खोल्ने सर्बत्र अपेक्षा गरिएको छ । त्यसकारण पनि जनप्रतिनिधीहरुलाई निरंकुशता हावी हुन प्रेरित गरेर हैन जनताप्रति उत्तरदायी बनाउन जरुरी छ । आसन्न निर्वाचनको उम्मेदवारी मनोनयनका खबरहरु आईरहँदा मानौ उम्मेदवारहरुले चुनाव नै जितिसकेको आभास दिलाईरहेका छन् । यसो हुनुमा सामाजिक सञ्जालमा नेपालीहरुको बढ्दो पहुँचका साथै हाम्रा मिडियाहरु पनि उत्तिकै जिम्मेवार छन् कुन बिषयलाई कति महत्व र स्पेश दिने भन्ने बारेमा मिडियाले खासै हेक्का राखेको पाईदैन ।

अझ भन्नुपर्दा मिडियामा डिजिटल प्रविधि हावी भईदिंदा उनीहरु बेलगामका घोडा भएका छन् । नियमन र अनुगमन गर्ने कुनै आधिकारिक संयन्त्र छैन । खराव नियत भएका जो कोहीबाट आफुअनुकुल मिडिया दुरुपयोग हुने खतरा बढेको छ । जसको निशाना कुनै पनि बेला जो कोही हुन सक्ने कुरालाई नकार्न सकिदैंन । कानुनी उपचार प्रक्रिया झन्झटिलो छ । सस्तो लोकप्रियताप्रेमी ढोंगी समाज र त्यही समाजको उत्पादन जनप्रतिनिधीहरुको सोच अनि बेलगामको मिडियालाई हेर्दा नेपाली समाज झन झन उत्ताउलो हुँदै गएको छ । यसकारण पनि नेपाली समाजमा शालिनताको खाँचो छ ।***

तपाईको प्रतिक्रिया