एकताको २१ औं राष्ट्रिय सम्मेलन : क्रान्तिकारीहरु भित्रै क्रान्तिको आवश्यक्ता

भर्खरै दश कक्षाको परिक्षा उर्तीण गरि विद्यार्थीहरु मावि तहको कक्षाहरुमा भर्ना भएका छन । नीजि शिक्षण संस्थाहरुमा चर्को शुल्क वृदि भएको छ । सामुदायिक शिक्षण संस्थाहरु दिनप्रतिदिन धरासहि बन्दै गइरहेका छन । अस्थायी शिक्षक अझैपनि आन्दोलनमै छन् । कतिपय बालबालिका विद्यालय जानबाट बन्चित छन् ।
त्रिभुवन विश्वविद्यालय सधैँ झै सुस्त गतिमा छ ।

खुल्ला विश्वविद्यालयको कार्यान्वयन अगावै उपत्यकाका सबै क्याम्पसहरुमा स्नात्तकोत्तर तहमा सेमेष्टर प्रणाली लागु गरिएको छ । अवसरको अभावमा मार्कसिट हातमा लिएर निराश हुने युवाहरुको संख्या बढ्दो छ ।

विद्यार्थी आन्दोलनमा उमेरको बहस बढ्दै गर्दा यता ६० बर्ष नाघेका डा गोविन्द के सी मेडिकल शिक्षाको विकृतीको विरुद्व एक्लै लडिरहेका छन् । यतिखेर उनी शैक्षिक आन्दोलनको केन्द्र बनेका छन ।

शैक्षिक जगतको यो पृष्ठभुमीमा नेकपा (माओवादी केन्द्र), अखिल (क्रान्तिकारी)ले संगठनको एकताको २१ ऋौ राष्ट्रिय सम्मेलन यहि भाद्र ७ देखि ११ सम्म किर्तीपुर काठमाडौमा गर्ने निर्णय गरेको छ ।

सम्मेलनमा विद्यार्थी आन्दोलनको समिक्षा, उपलब्धि, शैक्षिक एजेण्डाहरु, आगामी कार्ययोजनासहित कुशल नेतृत्वको बारेमा देशभरिबाट आएका प्रतिनीधिहरु बीच छलफल बहस हुने छ ।

समिक्षा
२०२२ सालमा अखिल स्थापना भएदेखि अहिलेसम्म विद्यार्थी आन्दोलनले करिब ५२ वर्ष पार गरेको छ । यो बीचमा देशमा भएका ठूलठूला राजनीतिक परिवर्तनमा आन्दोलनको महत्वपूर्ण भूमिका छ तर शैक्षिक मुद्दाप्रतिको आन्दोलनको नतिजा उल्लेख्य छैन ।

अखिल क्रान्तिकारीले स्थापना देखी नै शिक्षामा आमुल परिवर्तनलाई आत्मासाथ गरि पुरानो प्रणालीको शिक्षाको विकल्पमा वहस चलाएको थियो ।

त्यतिबेला जीवन, व्यवहार, उत्पादन, विज्ञानसँग जोडिएको निशुल्क जनवादी शिक्षाको एजेण्डाले शैक्षिक माफियाहरु त्रसित बनेका थिए ।

यस्तो लाग्थ्यो कि अब विकृतीहरु अन्त्य हुदै छ । तर शान्ति प्रक्रियाको एक दशकको अन्तमा आइपुग्दा शिक्षा क्षेत्रको अवस्था पहिले जस्तो मात्र होइन बरु अरु बिग्रीएको देखिएको छ । मनपरी बढेको छ , ढिलासुस्ती उहि छ , शैक्षिक बेरोजगारीको अवस्था उहि छ ।
क्याम्पस, विश्वविद्यालयबाट उतीर्ण भएपछि बेरोजगार हुने त्रास छ । त्यसैले युवाहरु ऋाजकाल विश्वविद्यालय भन्दा विदेश जान थालेका छन् । सामुदायिक शिक्षण संस्थाहरु कमजोर बन्दै गइरहेका छन, नीजिमा व्यापार र माफियाकरण बढेको छ ।

यो अवस्थामा हाम्रो आन्दोलन क्याम्पस गेट अगाडिको सडक जाम गर्ने र पछि गएर सम्झौतामा टुङ्गीने गरेको छ । यहि वरिपरी आन्दोलनले पछिल्लो दशक वितायो । अब आन्दोलनको तरिका र नतिजाहरुबारे बहस गर्नु आवश्यक छ । अहिले नेपालको सामाजिक आर्थीक धरातल फेरिएको छ । हामीले फरक परिस्थितीमा पनि पटक पटक एउटै विधिद्वारा समस्याको हल खोज्यौ ।

आइन्सटाइनले भनेका छन– एउटै विधि पटकपटक दोहोरायर फरब जतिजाको अपेक्षा गर्न सकिदैन । हामीले अवस्था सापेक्ष विधिहरु निर्माण गर्नु पर्छ जसले आन्दोलनलाई निष्कर्शमा पुर्याओस । उद्देश्य परिस्थितीको बदलावसँग स्वतन्त्र हुन्छ । हाम्रो उद्देश्य न्यायपूर्ण समाजको निर्माण गर्ने हो, यसको प्राप्ती अब समाजवादी शिक्षाको विधिद्वारा खोजिने छ ।

राष्ट्रिय सम्मेलनले संगठनको तापक्रम बढाएको छ र नेता कार्यकर्ताहरुको गतिशिलतामा तिव्रता आएको छ । छलफल र बहसहरु हुन थालेका छन् । भृकुटीमण्डपको चहलपहलबाट कतिपय साथीहरु अचम्मित भएका छन तर क्रान्तिकारीहरुमा एजेण्डाको बारेमा कुरा केन्द्रित नहुनु चाँहि अचम्मको छ ।
क्रान्तिकारी संगठन विचार र उद्देश्यहरुको आधारमा निर्माण हुन्छ, जहाँ एक उद्देश्यको लागि विविध विचारहरुको समुहिकरण हुन्छ । यसैको आधारमा नेतृत्वको पनि निर्माण हुन्छ ।

आफु किन नेता हुनुपर्ने र अरु किन नहुनु पर्ने कारणको खोजी र व्याख्यामा नै आजकाल भृकुटी मण्डप व्यस्त देखिएको छ । यो क्रान्तिकारीको इतिहासमै विडम्बनाको कुरा हो । यसलाई रोकेर संगठनको बहसमा सहभागि भएमा संगठन चुस्त बनाउन सहयोग पुग्दछ ।आजकाल क्रान्तिकारीहरुमै क्रान्तिकारीपन अलि नभए जस्तो देखिन थालेको छ । सागठानिक गतिविधि र चुनावी प्रकृयाहरुमा बुर्जुवा विधिहरु लोकप्रिय हुन खोजेको छ ।

यस्तो किन भयो?
मेरो विचारमा नेपालमा बेलाबेला क्रान्तिकारी विचार र बुर्जुवा विचारको बिचमा हाइब्रिडाइजेसन हुने गर्छ । जस्तो कि यस्तो एमालेमा पनि भएको थियो– जहाँ प्रगतिशिल विचारहरु लुप्त हुन्छन र बुर्जुवापन प्रबलतामा आउछ । अहिले भने केहि क्रान्तिकारी गुण देखा पर्न थालेको छ ।
यस्तो हाइब्रिडाइजेसनको सिकार यतिखेर माओवादी क्रान्तिकारीहरु भएका छन । भृकुटीमण्डपको गतिविधिमा क्रान्तिकारी विशेषता कम भएजस्तो लाग्छ । यस बुर्जुवाकरणको खतरा रोक्न क्रान्तिकारीहरु भित्र नै एउटा क्रान्तिको आवश्यकता भएको छ, जसले क्रान्तिकारीको शरिरबाट खराब गुणहरु बहिर निकालिने छन् ।

अबको शिक्षा
संगठनको मूल नारा “राष्ट्रियता र समाजवादी शिक्षाको पक्षमा अभियान । सुदृढ संगठनको लागि एकताको २१ ऋौ राष्ट्रिय सम्मेलन” तय गरेको छ । जनयुद्वताका देखि नै संगठनले जनवादी शिक्षालाई आफ्नो नारा र एजेण्डा बनाएको थियो । वैज्ञानिक, जनमुखी, व्यवहारिक र निशुल्क शिक्षाको बहसले शिक्षा क्षेत्रमा एउटा तरङ्ग ल्याएको थियो । शिक्षाका माफियाहरु थर्कमान भएका थिए । तर यसलाई स्थापित गराउन सकिएन ।

जनवादी शिक्षाको स्पष्ट खाका नआउदाँ बुर्जुवाहरुले यसलाई जनवादी शिक्षा भनेको बि फर बम र पि फर पेस्तोल भनेर खिल्ली उडाएका थिए । शिक्षालाई व्यवहार, व्यवसाय र विज्ञान तथा जिवन, उत्पादन र अनुशासनसँग जोड्नु नै जनवादी शिक्षाको मूल प्रस्थावना हो । अहिले समाजवादी शिक्षाको बारेमा बहस सुरू भएको छ क्रान्तिकारीमा, जनवादी शिक्षाको अवधारणाको स्थापना नै समाजवादी शिक्षाको आधार निर्माण हो ।

यसको लागि सबैभन्दा पहिले त शिक्षालाई राज्यले सम्पूर्ण रुपमा दायित्व बहन गर्नु पर्दछ । नीजिकरण, व्यापारीकरणको अन्त्य गरि वैज्ञानिक, व्यवहारिक, उत्पादनमुलक शिक्षा सबैमा समान माध्यमबाट प्रदान गरिनु समाजवादी शिक्षाको अनिवार्य कार्यहरु हुन । वैज्ञानीक, जीवनउपयोगी, उत्पादनमुलक अनुसन्धानमुलक निशुल्क शिक्षाले दक्ष, राष्ट्र र राष्ट्रियताप्रति प्रतिबद्व र अनुशासित जनशक्ति उत्पादन गदर्छ । यसले समाजवादको आधारहरु तयार पारेको हुन्छ । समाजवादी शिक्षाको स्पष्ट खाका सहित सम्मेलनले योजनाहरु निर्माण गर्नु पदर्छ ।

संगठन र निर्वाचन
पछिल्लो समय राजनीतिमा अनौठो घटना घट्यो । स्थानीय निर्वाचन र स्ववियु निर्वाचनमा एउटाको नीति र अर्कोको नेतृत्व स्थापित भयो । नीतिकर्ताको नेतृत्व स्थापित हुन सकेन ।

यस्तो किन भयो त ?

खास गरि यो सैद्वान्तिक भन्दा पनि सांगठानिक समस्याको परिणाम हो । पाट्री र भाद्रु संगठनहरुमा संगठनको आकार र गतिमा अन्र्तविरोध छ । संगठन हात्ती आकार छ र हामीलाई इलेक्ट्रोनको जस्तो गति चाहिएको छ । हात्तीको गति कहिल्यै इलेक्ट्रोनको जस्तो हुदैन । त्यसैले गतिविधिको गति बढाउन संगठन सानो, चुस्त र क्रियात्मक बनाउनु पर्छ ।

यसको लागि सायद अब निर्वाचन भन्दा अरु प्रभावकारी विधि नहुन सक्छ । अहिले सम्म क्रान्तिकारीले सर्वसहमतिको विधि अबलम्वन गर्दै आएको छ । यसमा नेतृत्व योग्यता, निरन्तरता र वरियतामा आधारित भएर चयन गरिन्छ ।
निर्वाचन गराउदा यसका खराब असरहरुलाई नियन्त्रण गर्नु पर्छ, जस्तो कि यसले स्थायी गुटहरु निर्माण गर्दछ र पहिलो हुने विधि अन्र्तगत यदि तिन वा चार उस्तै प्रतिस्पर्धि भएको अवस्थामा विजय हुनेको मत हार्नेहरुको भन्दा कम हुन्छ । यसले पछि सांगठानिक समस्या निम्त्याउन सक्छ ।

भड्किलो अनियन्त्रित प्रचारप्रसार शैलीमा नियन्त्रण गर्नु पर्दछ । निर्वाचनले गर्दा अरु शैक्षिक बहसहरु छायामा पर्न दिनु हुदैन । सर्वसहमति या निर्वाचन जुन भएपनि क्रान्तिकारी विद्यार्थीहरुबीच भएको एकता तथा धृवीकरणलाई ठिक स्वरुप प्रदान गर्नु नै मुख्य कुरा हो ।

पछिल्लो राजनैतिक घटनाहरु नयाँ युवापुस्तालाई निराश बनाउने खालको छ । राजनीतिमा इमान्दारिता र निष्टा कम हुन थालेको छ । झुट बोल्न र बेइमान गर्न छुट जस्तै छ । पाट्री संगठनका आन्तरिक राजनीति एकअर्कालाई लडाउने र खुट्टा तान्नमै व्यस्त छ ।

राजनीतिलाई पेशाको रुपमा हेर्न थालिएको छ । नेताहरु आजकाल सबैभन्दा बढि गालि खाइरहेका हुन्छन । राजनीतिलाई पेशा होइन , सेवा समर्पण र उन्मुक्तीको बाटोको रुपमा स्थापित गराउनु पर्छ । राष्ट्रिय सम्मेलनले युवाहरुमा नयाँ आशा जगाउन सक्नु पर्छ ।

युवाहरु स्वभावैले क्रान्तिकारी हुन्छन यसकारण किनकी उनीहरु यथास्थितीलाई हमेशा अस्विकार गरिदिन्छन । हामीले युवाहरुको यो गतिशिलतासँग हाम्रो विचार र आन्दोलनलाई मिलाउन सकेमा हामी हाम्रो व्यवस्थाको खराब परिस्थितीमा बदलाब ल्याउन सक्छौ ।

लेखक

कमलचन्द्र नेपाली

केन्द्रिय सदस्य तथा त्रिभुवन विश्वविद्यालयमा
रसायनशास्त्र अध्ययनरत

तपाईको प्रतिक्रिया
© २०१६ सर्वाधिकार समुद्रपारिमा सुरक्षित