शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024

स्वभावैले मानिस स्वार्थी प्राणी हो । आफ्नो स्वार्थसंग दोस्रो पक्षको स्वार्थ र रुची मिल्दासम्म नजिकिने हो । त्यतिबेलासम्म उ अचाक्ली राम्रो अर्थात आँखामा राखे पनि नबिझाउने भईरहन्छ, जतिबेलासम्म उनीहरुबीच एकअर्काको स्वार्थले मेल खाईरहन्छन्। अनि बाटो फरक, बातै फरक, संवादहिन हुँदै ‘खोली तर्‍यो लौरी बिर्स्यो’ को अवस्थासम्म पुग्ने प्राणीको नाम हो मानिस ।

भनिन्छ, देखिने वस्तु भन्दा नदेखिने अर्थात अदृश्य वस्तु शक्तिशाली हुन्छ, जस्तै हावा, प्रकाश, ग्यास, कोरोना, भूकम्प अनि माया आदि । मायाको जातै बैगुनी हुन्छ भन्ने कुरो गीतहरुमा पनि धेरै नै सुनिन्छ तर त्यहि बैगुनी माया नभई नहुनी भनेर फेरि उनैले जो-जसले गाए सिद्ध गरिदिएका छन् । मायाको रंग ठ्याक्कै यस्तै हुन्छ भनेर अहिलेसम्म कसैले भनेका त छैनन् तर माया भन्दाबित्तिकै झट्ट दिमाखमा प्रेमी-प्रेमिका बीचको सम्बन्धलाई मात्र बुझाउने सोझो अर्थ लगाउने हाम्रो समाजमा बाबुआमा र छोराछोरीबीचको माया, दाजुभाइ दिदीबहिनीबीचको माया, साथीभाइबीचको माया, गाउँठाउँ, प्रकृति र प्राणीहरुलाई गरिने माया र आफ्नो श्रम र पसिनाबाट आर्जित उपलब्धि, द्रब्य र भौतिक तथा अभौतिक जिनिसलाई गरिने मायालाई बिर्सन मिल्दैन । त्यसैले यदि हामीले रंग दिएर मायाको वर्गिकरण गर्ने हो भने विपरित लिंगबीच गरिने मायालाई हरियो रंग दिन सकिन्छ किनभने हरियोले उठाउने रातोले काट्ने भनिएझैं यसप्रकारको मायाको राजमार्गमा कुनबेला रातो बत्ति बल्ने हो केहि थाहा नहुने भएकैले माया बैगुनी भनिन थालियोहोला शायद । सबैभन्दा बढि स्वार्थ मिसिएको माया पनि यहि हरियो मायालाई लिन सकिन्छ । र, यो संसारमा सबैभन्दा धेरैलाई रुवाउने र हँसाउने माया पनि यहि क्याटगोरीको माया हुनुपर्छ शायद तर सबैभन्दा बढि चर्चा पनि यहिखाले मायाले पाउने गरेको पनि बिर्सन मिल्दैन ।

चराचुरुंगी, पशुपंक्षी, रुख, बोट बिरुवा, प्रकृतिजन्य हिमाल, पहाड, जंगल, खोला नालाको पनि मान्छेले उत्तिकै माया गरेका हुन्छन् जस्तै जतिबेला मान्छे टाढा धेरै टाढाको साइत गरिरहेका हुन्छन् र कहिले फर्कने भन्ने कुरोको पनि टुंगो हुँदैन । यस्तो माया साँच्चिकै निस्वार्थ माया हो, त्यसैले यसलाई हिमालकै रंग सेतो दिन सकिएला । अर्को एक खाले माया ओह्रालो मात्र बग्ने टाइपको हुन्छ, एउटा भनाई नै छ, बाउआमाको माया छोराछोरीमाथि, छोराछोरीको माया ढुंगामुढामाथि, भनिएता पनि संसारमा सबैभन्दा निस्वार्थ माया भनेको बाउआमाले आफ्ना सन्तानलाई गर्ने माया नै हो । त्यसैले यो क्याटगोरीको माया अटल, गहिरो र समुद्रजस्तै अगणित हुने भएकोले यसलाई निलो रंग दिंदा उपयुक्त होला ।

अर्को मायाको क्याटगोरी छ आफ्नो श्रम, सीप, र मिहिनेतबाट पसिना बगाएर हासिल गरेको भौतिक वा अभौतिक उपलब्धिलाई लिन सकिन्छ । यसमा आफुले जोडेको धनसम्पत्तिका अलावा, आफुले कमाएको ख्याती, प्रसिद्धि, डिग्री, लोकप्रियता, करियर, अनुभव, विज्ञता, क्षमता, सिर्जना आदि पर्छन् । त्यसो भएको हुनाले आफ्नो मिहिनेतले उमारेको खुशी र त्यस्तो खुशीले दिने आनन्द साँच्चिकै अलौकिक हुन्छन् । तसर्थ यो खालको माया सुन जस्तै बहुमूल्य र पवित्र हुने भएकोले महत्वपूर्णको प्रतिक पहेंलो रंग उपयुक्त होला । जीवनको रंगमा साँच्चिकै यो रंग घोल्ने अवसर जो कोहीलाई जुर्दैन, जुरी हाले पनि कतिपयले भेउ नपाउँदै लेउ लागेका उदाहरण पनि प्रशस्त भेटिन्छन् ।

पृथ्वीमा करीव ८ अरव मानिस बस्दछन् । पुरुष होस् वा महिला अरवौ मान्छेहरुको बीचमा कोही कोही मान्छे साँच्चिकै खास लाग्दछ । त्यस्ता मान्छेको सामिप्यता प्रिय लाग्दछ । त्यहि खास लाग्ने मान्छेसंग हो रहेछ, जिन्दगीमा आश लाग्ने पनि । मदनकृष्ण श्रेष्ठको गीतको एउटा लाईन कति दमदार छ, असाध्यै पावरफुल र मर्मस्पर्शी लाग्छ । ‘अरवौ मान्छेहरुमा तिमी एक मनपर्ने मान्छे ।’ हुन पनि अरवौ मान्छेहरुको भिडमा त्यहि एउटा मान्छे किन मन परेको होला, किन माया लागेको होला ? अरु मानिसहरु पनि छन् त । अरुचाँही किन मनमा बस्न नसकेको होला ? दुनाटपरी गाँसेझैं यस्तै यस्तै भावहरुलाई उनेर सीप हुनेहरुले गीत बनाउँदाहुन् शायद, आवाजका धनीहरुले आवाज भर्दाहुन् र त हामी सुन्नेहरुले आफ्नै लागि बनाईएको झैं भान हुने गरि सुनिदिन्छौं अनि शब्दमा कति शक्ति हुन्छ भन्ने भेउ पाउन सक्छौं । रुवाउने भन्दा हँसाउने माया र हँसाउने भन्दा रुवाउने माया बीचको अन्तर संघर्षमा जसले जिते पनि, जसले हारे पनि आखिर माया बैगुनी त हो नै, तर नभई पनि नहुने भनेर सुप्रसिद्ध गायक उदितनारायण झाँले उहिलै आफ्नो गीतमार्फत घोषणा गरिसकेका छन् । हामी भुंईमान्छेले त अहिलेलाई स्वीकारिदिए भयो ।

अर्कोथरि माया हुन्छ, खास साथीभाइबीच जोसित मनका कुराहरु शियरिङ अनि हियरिङ र कियरिङ हुन्छ, बिश्वास हुन्छ अनि आड र भरोसा पनि । यो खालको साथी कमाउन जो कोहिलाई साँच्चि गाह्रै हुन्छ । औसत मान्छेको औसत साथी मात्रै हुन्छन्, मात्रै भेट्दा हाइ हेलोमा सीमित, कागलाई बेल पाके जस्तै । भए पनि ठीकै, नभए पनि ठीकै । हुनु र नहुनुको कुनै फरक नै नपर्ने खालको । आफु हुनुको अर्थ आफैले बनाउने हो, अरुले बनाउने होईन, यो साथीभाइबीचको रिलेशन बिल्डअपमा अत्यन्त महत्वपूर्ण अर्थ राख्ने सत्य हो, यहि सत्यलाई बुझ्न नसक्दा अधिकाँश मानिसहरु जिन्दगीभरि भ्रम र भिडको पछि दगुरिरहेका हुन्छन् । भिड आफ्नो पछि लाग्ने कसरी हुन सकिन्छ भन्नेतिर हामी अधिकाँश मान्छेले मेसै पाउँदैनौं । काम न काजका पाङ्दुरे साथी धेरै हुनुभन्दा थोरै तर माइडियर होऊन्, सुखमा भन्दा दुखमा साथ दिने, हाँसोमाभन्दा रोदनमा साथ दिने र परिआउँदा केहि नगरे पनि म छु है भनेर ढाडस दिने साथी पो साथी नत्र माया बैगुनी, नभई नहुनी जस्तै हो । किताब होस् या लेख, समाचार होस् या साहित्य, धेरै लेखेर थोरैले पढ्ने भन्दा थोरै लेखौं तर धेरैले पढून्, धेरै बोलेर थोरैले सुन्नेभन्दा थोरै बोलौ तर धेरैले सुनुन्, भिड जम्मा भएर धेरै हल्ला गर्ने तर काम नगर्नुभन्दा थोरै भए पनि परिणाम आउने खालको काम हुनु हजारौं गुणा राम्रो हो । फलफुलमा पनि बोक्रा धेरै हुन्छ, गुदी थोरै हुन्छ, मोबाइल ठूलो हुन्छ, सिम सानो हुन्छ, मान्छेको पनि ज्यान ठूलो हुन्छ, मुटु सानो हुन्छ । त्यसैले क्वान्टिटी भन्दा क्वालिटी सँधै अगाडि हुन्छ । भिड कता छ भनेर खोज्दै आफु जाने नभएर भिडले आफुलाई खोज्दै आउने कसरी हुन सकिन्छ त्यस्तो टावर फिगर बनौं, सकिदैंन उपबुज्रुकचाँही नबनौं नत्र हामी पनि आधुनिक जमानाको माया बैगुनी नै ठहरिन्छौं । हाम्रो समाजमा कोही कोही मान्छे यस्ता हुन्छन् कि उनीहरु हुनु र नहुनुमा खासै अर्थ राख्दैन र केहि फरक पर्दैन पनि । तर उनीहरु – म यो धर्तीमा के का लागि आएको हुँ ? म कुन कामका लागि फिट छु ? मैले के गर्न सक्छु ? मेरो खास दायित्व के हो ? भन्ने पटक्कै भेउ नपाएरै जूनी काटिरहेका हुन्छन् तर तिनैलाई झन जता पनि स्पेश चाहिएको हुन्छ । त्यस्ता बज्रस्वाँठहरु पनि हाम्रो समाजमा एकप्रकारका नभई नहुनी बैगुनी मायाको क्याटगोरीमा परिबक्सिन्छ ।

हुन त माया त आखिर माया नै हो नि । कलमको पनि माया लाग्छ, आफ्नो बाल्यकालमा पढेको स्कुलको माया लाग्छ । केटौले उमेरमा उट्पटयाङ गर्दै खरबारी, बयरघारी चाहार्दै निर्दोष चराहरुलाई यातना दिएको अहिले सम्झदा माया लागेर आउँछ । मायाको अर्थ धेरै गह्रौं पो छ त, तर जबर्जस्ती हलुका बनाईएको छ र पो । बुझेकाले बुझ पचाएपछि र अबुझहरुले बुझेको अभिनय गरेपछि नेपाली भाषाका केहि गर्विला शब्दावलीहरु अन्यायमा परिरहेका छन् र अझै पर्ने क्रममा छन् । माया इमोशन हो, माया फिलिङ्स हो, माया समर्पण हो, माया त्याग हो, माया आँशु हो, माया पसिना हो, माया एउटा हृदय र अर्को हृदयबीचको नेटवर्क कनेक्शन जस्तै हो । माया केमिष्ट्री हो । माया विज्ञान हो, माया तरंग हो, माया उमंग हो, माया एक सिंगो भूगोल हो, यो अदृश्य छ तर बहुत शक्तिशाली छ । (सन्दर्भः प्रणय दिवसको)

तपाईको प्रतिक्रिया