मंगलबार, बैशाख ११, २०८१
Tuesday, April 23, 2024

न जाडो, न गर्मीको शारदीय मौसमसंगै दशैं भित्रिएको छ । चाडपर्व एउटा खुसी हुने एउटा सुन्दर बहानाबाजी पनि हो । दशैंमा मीठो खानु र राम्रो लाउनुको मीठास अवर्णनीय छ । मुखमा दाँत नहुनेहरु यसबेला हड्डी चपाएको ती दिनको ‘नोस्टाल्जिक’ मा रौसिन्छन् । यही मनोविज्ञानलाई साकार पार्न सरकारले नयाँ नोटको भण्डारा लगाउँछ । नयाँ कपडा, नयाँ नोटको बासना र खान्कीको बान्कीले नेपालीभित्र भिन्दै अतृप्त रहर भर्छ । सरकारी कार्यालय जानोस, काम हाप्न शुरु भइसक्यो । स्कुलमा आग्लो लागिसक्यो । चेलीले माइती घुर्क्याउन थालेका छन् । घरदेशीहरु परदेशीसंग गौंथलीको बच्चाले चारो मागेको भावमा फर्मायस थालिसके । दशैंका लागि कितावदेखि सोमरसका पाने र सितनका प्रसंग छेडखानी शुरु भइसक्यो । विमानस्थलदेखि बसपार्कसम्म धुइरो बढ्न थालेको छ । दशैं यस्तो पर्व हो, छटपटीभित्र आनन्द छ । आँसुभित्र हाँसोको खोजी छ । असन्तुष्टिमा तृप्तिको प्राप्ति छ । परदेशीसंग घरदेशको छटपटी छ । घरदेशीसंग ममताको भोक छ । दशैं छ र नै त सपना छन । त्यही सपनाले जिजिविषाको घर बनाउँछ । दशैंभित्र परिवार, समाज, अर्थतन्त्र, समाजशास्त्र, सन्तुष्टि सबै छ । अझ भनौं दशैं एउटा सामाजिक सलाद हो, यसभित्र सबैको सहअस्तित्व लुकेको छ ।
अर्कातिर असन्तुष्टि छरपस्ट छन् । अतृप्त चाहनाको संवेगले मानिस आफैंसंग अनियन्त्रित छ । विरामीसंग डाक्टर बिच्किएको छ । नेतासंग कार्यकर्ता पड्किएको छ । जन्ती-मलामी जस्तो संवेदनशील मानिने छिमेकीको साइनो एक अर्कालाई बिझाएको छ । पहिला परिवारको बागडोर बाको हातमा थियो, अहिले परिवारको कान्छो सदस्यको रहर र लहडमा परिवार चल्छ । पाँच दशकअघि आफैले जन्म दिएको सन्तानसंग अंशवंशको ठाकठुक परेपछि बाउले भन्छ- ‘बल्ल तँलाई चिनें ।’ एउटा बाउले सन्तान चिन्न त पाँच दशक बिताउनुपर्छ भने यहाँ कसले कसलाई चिन्ने र विश्वास गर्ने भन्ने प्रश्न सँधै जीवित रहन्छ । त्यो ठाकठुक र ठासठुसबीच समझदारी खोज्ने साइत हो- दशैं ।
पाकाहरु भन्छन- फाटेको बादल मात्र राम्रो हो । हो, दशैंको माहोलले सवभन्दा पहिले बादल फटाउँछ । चराहरुका कोकिल आवाजले वातावरण झंकृत बन्छ । हिमाल दन्तलहर खोल्छन् । धानखेतमा प्रकृति रमाउँछ । मानिसका आशा पाखा भित्तामा नाच्छ । जहाज उडाउने पाइलट चंगा उडाउँदा अझ बढी खुसी हुन्छ । भित्ताको पात्रोले समेत रंगीन आभा खोलेर दशैंको स्वागतमा दैलो खोल्छ । पहिला पहिला पहेंलपुर काँक्रो थाङ्ग्रोमा रमाउँथ्यो । टाट्नामा बाँधिएका खसीबोकाको दृश्यले दशैं बोलाउँथ्यो । घरलौरी चाहारेर गाउँका पारखीहरु मासु धार्नी, बिसौली अड्कलमा रमाउँथे । बाटो सिंगार्ने प्रतिस्पर्धा चल्थ्यो । लिंगे र रोटेपीङमा मानिसका रहर फुल्थे । कुन घरमा जेठो, माइलो, साइँलो, अन्तरे भित्रियो भन्ने लेखा पुरै लेखाजोखा गाउँले राख्थ्यो । राम्रो लाउनु र मीठो खानुबीचको प्रतिस्पर्धा बेग्लै थियो । जेठो बुढो चामलको बखानले अर्कै महत्व पाउँथ्यो । नयाँ लुगा आङमा नहालेसम्म टीकाको साइत खुल्दैनथ्यो । धर्मराज थापा, लालबहादुर गन्धर्व, नारायण रायमाझी, बमबहादुर कार्की, हरिदेवी कोइरालाजस्ता स्वनामधन्य कलाकारहरुले संगीतका माध्यमबाट सरसपूर्ण बनाउँथे । त्यो दशैमा भक्तिभावपूर्ण समर्पण थियो । अहिले त सबै रहर सामाजिक सञ्जालमा कैद भएका छन् । चुरा बजाउँदै आमाले पकाउने खाना मृगतृष्णा बनेको छ । तेल भीसा र टोप भीसाले आमाहरुको रहर खोसेको छ । धानखेत भन्दा विदेशका उदेकलाग्दा दृश्यमा आमाहरु भुलेका छन । यता आमाबा छोडेर विदेश हानिएका सन्तान उतै अल्झिएका छन । सन्तानका हातबाट गंगाजल खाएर परत्रको बाटो सपार्ने अभिभावकहरुको इच्छा अपूर्ण बन्दै गयो । नायग्रा फल्स, गोवा, पट्टाया, आइफेल टावटर, सिड्नीको ओपेरा हाउस, न्यूर्योकको स्क्वायर सिटी, स्वतन्त्रताको सालिक, बेलायतको पुलका बखानका अगाडि नेपालका दुख ओझेलमा परे । पहिला पहिला आमा बाको मुख हेर्न सन्तान धाउँथे । अहिले सन्तानको मुख हेर्न आमा बा धाउनु परेको छ । यी सबै यथार्थ पन्छाएर हातमा होस या पातमा दशैं त दशैं नै हो । मानिसको जीवन झर्नाजस्तै हो । परबाट हेर्दा कञ्चन देखिए पनि ढुंगासंग पौंठेजोरी खेल्दाको पीडा त त्यो पानीलाई नै थाहा हुन्छ । दशैंले दुखको सागरबाट छिनभरकै लागि भए पनि पार लगाईदिन्छ । दशैं धेरै नेपालीका लागि एउटा साझा बिसौनी हो । माया जोड्ने सुपरग्लु हो । यिनै चाडपर्व छन् र नै त कर्तव्य जीवित छन् । त्यही कर्तव्यको लीगमा अनुशासन हिँडेको छ ।

सानाले ठूलाबाट लिने आशिर्वादभित्र एउटा सिंगो समय छ । एउटा छिप्पिएको समयले कलिलो समयलाई लक्ष्मणरेखाको ज्ञान गराउनु दशैंभित्र लुकेको अतुलनीय, अवर्णनीय शाश्वत पाटो हो । मंगल धूनसंगै बीस सय आयुका लागि गरिने कामना आफैमा ठूलो कमाई हो । अघिल्लो वर्ष दीर्घ जीवनको कामना गर्दै अक्षता लाइदिनेहरु अहिले इतिहास भएका छन् । दशैं त्यसै दशै भएको होइन । साहु दशैं तेर्स्याएर ऋण उठाउन तम्सिन्छ । आसामी दशैं निहुँ बनाएर उम्किने बहना खोज्छ । प्रविधिको प्रतापले के गाउँ, के शहर, के घरदेश, के परदेश सबै ठाउँ एकाकार भएको छ । खीर, कुराउनी, चाम्रेलाई गाउँघरसम्मै पिजा, बर्गर, स्याण्डवीचले विस्थापित गरिसकेका छन् । अब मासु हैन चिकेन, मटन, पोर्कका भेराइटीले सर्बत्र घर गरिसकेका छन् । शहरका चोक गल्ली किन र ? गाउँका पाखापखेरासमेत पानीपुरीका लागि किशोरकिशोरीको उदेकलाग्दो भीड देखिने गरेको छ । युट्युवमा हेरेर कपाल काट्ने, लुगाको डिजाइन छान्ने पुस्ता हावी हुन थालिसकेको छ । अब धेरै नौ जवानका लागि देश आमा नभएर रहर फुलाउने ट्रान्जिट भएको छ । कर्म नभई भाग्य फुलाउने रहरले भाषणमा जति आत्मनिर्भर देखिन्छ, भोगाइमा भने मुलुक भारत र चीनको शोरुम बन्दै गएको छ । दशैंमा जसले जसलाई जति आशिर्वाद दिएपनि ढर्रा फेरिएन । बाउको आशिर्वाद लिएर मुन्टो हल्लाए पनि आफ्ना बा आमा जस्तो इमानी हुने साहस सन्तानले देखाएनन् । पहिला गाउँमा साना घरभित्र धेरै सदस्य थिए । पर्खाल बन्दिलो थिएन, एकताको साङलो प्रवल थियो । सानो ढोकाभित्र निहुरिएरै धेरै मान्छे छिर्थे । अहिले शहरमा ठूला ढोका छन् तर छिर्ने मान्छे छैनन् । आफ्नैसंग हार्दिकता छैन । अब धेरै कुर्न पर्दैन टीका, आशिर्वाद भिडियोबाट दक्षिणा डिजिटल पे बाट भुक्तानी भएको खबर आउने छ ।
पहिला पहिला थोरै आयस्ता, थोरै प्राप्तिबाट धेरैको सदिच्छा पूरा गर्नुपर्ने बाध्यता थियो । घुँडा टालेको मयलपोस सुरुवाल लगाउने बाउले एकदर्जन सन्तानको व्यवस्थापन गर्थे । जात्रामा मजेत्रो पाएका साइँली, काइँलीले दशैंको भाग पाउँदैनथे । तीजमा धोती जुरेका हजुरआमा, आमा र काकीका लागि दशैं आउँदैनथ्यो । दशैंमा जसले जुत्ता र कमिज पाउँथे, तिनीहरुका भागमा जाडो छल्ने खद्दरका बाक्ला कमिजसंग भेटघाट हुँदैनथ्यो । जेठा, माइला दाइले सानै उमेरमा बाउन्न लात, त्रिपन्न ठक्कर खाएर घर व्यवहारमा बाउसंगै साझेदार बन्नुपर्थ्यो । घरैपिच्छेको सामाजिक अर्थशास्त्र यही थियो । आमाले भाग लगाएर दिएको हरेक चीज भगवानको प्रसादजस्तो हुन्थ्यो । घरभित्रको अनुशासन समाज हुँदै राज्यमा फैलिएको थियो । विकृति संस्कृति बनाउने दुष्प्रयास हम्मेसी कसैले गर्दैनथ्यो । अहिले जिन्दगीको मेन्यू नै फेरिएको छ । न मीठोले कोही सन्तुष्ट हुन्छ, न राम्रोले कसैलाई फ्रेश बनाउँछ । दुख रोपेर सुख खोज्ने विडम्बनापूर्ण पात्र बन्दैछ मान्छे ।

अझ यो कली हो यहाँ कसम खानेले नभई रक्सी खानेले साँचो बोल्छ, नोट देख्दा सबै अघि सर्छन, चोट देखेपछि पछि सर्नेको जमात गनी साध्य हुन्न । मन दुखाएर होइन, मन बुझाएर कटाउनुपर्छ समय । बच्नुपर्ने सानोतिनो गल्तीबाट नै हो, मान्छे पहाडसंग नभएर ठोक्किने ढुंगासंग हो । अन्ततः बुझ्नुपर्ने सत्य के हो भने हामी सबै यो पृथ्वीको पाहुना हो, मालिक होइन । निधारमा के लेखिएको हुन्छ नभोग्दासम्म कसैलाई थाहा हुन्न । हाँसेको आफ्नै तस्वीर हेरेर हरेक रात रुनुपर्ने पात्र यही धरामा भेटिन्छन् । स्कुलको परीक्षा जस्तो हुँदैन जिन्दगीको परीक्षा । यसलाई घोकेर नभई सोचेर हल गर्नुपर्छ । राम्रो दिनको प्राप्तिका लागि नराम्रो दिनसंग लड्नुपर्छ । भाग्यको कितावमा लेखिएका धेरै पाना जिन्दगीले च्यातिदिन्छ । आखिर जिम्मेवारीको बोझ, परिवारको सोच र धनको खोजमा मानवयात्रा सकिने रहेछ । भनिन्छ- पसिना र आँसु कहिल्यै झुटो हुन सक्दैनन किनकी पीडा नभई आँसु झर्दैन र दुख नगरी पसिना बग्दैन । मान्छेले घर बदल्छ, साथी बदल्छ तर पनि दुखी नै हुन्छ किन थाहा छ ? उसले आफूलाई बदल्न सक्दैन ।

अरु त अरु रेशम किरोले समेत मानिसको आङ ढाकिदिएर अमर हुने काम गर्छ । कमिलाले मेहनत सिकाउँछ । कुकुरले स्वामीभक्तिमा कदाचित गद्दारी गर्दैन । शक्तिशाली भएको दम्भमा बाघले हप्ता त के भोलिका निम्ति पनि आहारा सञ्चय गरेको थाहा छैन । निरीह प्राणी भ्यागुतो र मृगपछि नै प्रकृतिले सर्प र बाघको निर्माण गरेको हो । प्रकृतिको सरल व्याकरणभित्र नेपाली मनोदशा विचित्र खालको छ । जुनसुकै शासक आएपनि उसका दुखान्त कथा पढ्नु नयाँ पुस्ताको नियति बन्दै आएको छ । हामी नेपालीकै जीन नै आँसुमा डुब्न शोख मान्ने हो कि जस्तो भइसक्यो । सँधै एक्लो दुखमा रमाउने पुस्तौनी विशेषता बन्दै गयो । बटुवाले एक गिलास खानेपानी माग्दा ‘छोरीको पेवा’ भनेर दिन इन्कार गर्ने गाउँमा आज घरघर पानी पुगेको छ । आज गाउँमा पीङको लट्ठा बनाउन एकजुट हुने त्यही समाज हिजो धारा बनाउन खटेको भए काकाकुल भएर कुनै पुस्ताले बाँच्नु पर्दैनथ्यो । गफ धेरैथोरै होला रे, पानीको स्रोत त घटीबढी हुन्न नि । कसैले एक थोपो पानी बनाउने सामर्थ्य राख्दैन । यो त रिचार्ज हुने बस्तु हो । जब घोडाभन्दाअघि बग्गीको साम्राज्य बढ्छ, त्यसबखत नीति फन्टुस बन्दै जान्छ । उनीहरुलाई थाहा हुन्न कि मुकुण्डो लगाएर अनुहारको आवरण छोपिँदैन । जो जहाँ जस्तो अवस्थामा भएपनि दशैंको सगुन सबै सबैका लागि फाप्य रहोस् ।***

तपाईको प्रतिक्रिया