सोमबार, बैशाख १०, २०८१
Monday, April 22, 2024

कुनै बेला जापानमा यस्तो समय पनि थियो, टाढैबाट नेपालीजस्तो कोही देख्यो भने नजिकै गएर बोलाऊँ बोलाऊँ हुन्थ्यो, बोलाइन्थ्यो पनि । कत्रो चाह र मोह हुन्थ्यो एकअर्का नेपालीबीच, आत्मियताको गहिराई मापन गर्ने यदि कुनै यन्त्र वा संयन्त्र हुन्थ्यो भने त्यतिबेला र यतिबेलाको भिन्नता शायद आकाश-जमिनको फरक पर्ने थियोहोला । आखिर उनै जापानमा भेटिने नेपाली न हुन् यत्रो भिन्नता किन त ? किनभने धेरै हुँदै गएपछि जुनसुकै चीजको पनि महत्व कम हुँदै जानु स्वाभाविकै हो, यो एउटा पक्ष होला, अर्कोतिर पछिल्ला समयमा नेपालीहरुबीचको आत्मियता, हार्दिकता, भावनात्मक सामिप्यता र निकटतामा पहिलेको जस्तो अर्गानिक स्वाद र सुभाष भेटिदैंन । कारण मान्छेहरु यान्त्रिक हुँदै गए, रुचीहरु पनि फेरिदैं गए, समयमा धेरै बद्लाव आईसक्यो, स्वभाविकरुपले यि सबैको प्रभाव नयाँ पुस्ताका नेपालीहरुमा पर्ने नै भयो । परिणामस्वरुप मान्छे-मान्छेबीचको घनिष्टता उतिसाह्रो गहिराईमा पुग्न आवश्यक ठानिदैन अचेल, हामी बसेको समाजको साझा चरित्र र मनोविज्ञान लगभग यसरी नै विकसित भईरहेको छ । यस्तो सामाजिक परिवेशबाट नीर्मित कारखानामा उत्पादित विचारले अबको नेपाली समाजलाई कता डोर्‍याउला यसै भन्न सकिन्न । किनभने हामीलाई त्यतातिर सोच्ने फुर्सद नै छैन ।

भनिन्छ, मान्छेको जिन्दगी लामो छ, शायद यो भनाई मान्छेले आफ्नो चित्त बुझाउनका लागि भनिएको होला । लाग्छ मान्छेको जिन्दगी एक सर्को भुसाहाको धुँवा जस्तै हो । हिजो अस्तिझैं लाग्छ, जापानमा पाईला टेकेका कहालीलाग्दा सुरुवाती दिनहरुमा हामीले जानेर वा नजानेर बचेखुचेको समयलाई सामाजिक कार्यमा लगानी गर्ने जुन थिति बसाल्यौं, त्यसैको जगमा टेकेर जापानमा अहिले समुहमा मिलेर काम गर्ने सँस्कार यत्र तत्र सर्बत्र झांगिएर गएको छ । ब्यवस्थित हुन नसकिएको एउटा पाटो आफ्नो ठाउँमा होला, तर विदेशमा बस्दै गर्दा आ-आफ्नो थात, थलो र भूगोलसंग जोडिईरहने र मिलेर बस्ने कल्चरले भैपरि आउने भीमकाय समस्यालाई मिलेरै समाधान गर्न संभव गराएको छ । यहि कल्चरको उपज मध्यको एक हो गलकोट समाज जापान ।
(ऐतिहासिक गलकोट दरबार)
हुन त गलकोटेहरु नपुगेको देश कहाँ होला र ? गलकोटेहरु आफुचाँही आफ्नो बारेमा के सोच्छन् थाहा भएन, आफैले आफ्नो बारेमा भन्दा पनि लामो समयदेखि नजिकबाट मसिनोगरी नियालिरहेका अरु अरु जो छन् उनीहरुले गलकोट र गलकोटे बारे के सोच्छन् भनेर खोजखन्तर हुनु र त्यसलाई बाहिर ल्याउने जमर्को गरिनु धेरै राम्रो कुरो हो । यहाँसम्मको सोंच विरलै मान्छेहरुको दिमाखमा मात्र फुर्छ जस्तो लाग्छ । गलकोट भनेको केवल एउटा भूगोल र माटो मात्रै हैन, एउटा पृथक लिगेसी बोकेको भूगोल र त्यस भूगोलभित्रका ऐतिहासिक, सामाजिक, साँस्कृतिक र प्राकृतिक सम्पदाको खानी, विद्वत-विदुषी, सर्जक र कलाकर्मीहरुको अत्यन्त उर्वरभूमि हो । ऐतिहासिक महत्वका हिसाबले बाइसे, चौबिसे राजाहरुको पालामा शक्तिशाली मानिने मल्ल राजाहरुको गढ त गलकोट हुँदै हो त्यसमाथि शिक्षा, साहित्य, गीत-संगीत, कलम र आवाज मार्फत त्यहाँका हरकोहीले आफ्नो माटोको बारेमा लेखे, आफु उभिएको जमिनको बारेमा बोले, आफ्नो नाभी गाडिएको धरातलको बारेमा गाए, आफु हुर्किएको भीरपाखा र गामबेसीका कथा सुनाए, सबै-सबैले आफ्नो जमिनप्रतिको अगाढ स्नेह ओकले, आफ्नो माटोको सुगन्ध घरदेशदेखि परदेशसम्म फैलाए । त्यसैको फलस्वरुप आज गलकोट, गलकोटमा मात्रै छैन । संसारको जुन भूगोलमा टेकेपनि त्यहाँ गलकोट भेटिन्छ र गलकोटेहरु भेटिन्छन् । देशभित्रै पनि काठमाडौं, पोखरा, बुटवल, भैरहवा, हेटौडा, चितवन, धनगढी, सुर्खेत, नेपालगञ्ज लगायतका नेपालका ठूला सहरहरु जता गयो उतै गलकोटभेटिन्छ जहाँ गलकोट भेटिन्छ, त्यहाँ गलकोटेहरु हुने नै भए । यो नै गलकोटको पानीले सिकाएको अन्त नभेटिने पृथक विशेषता हो । यस्तो कल्चर अन्यत्र लगभग पाईदैन ।

जापान टेकेकै समयताकाको कुरो हो । उतिबेलै जता फर्किए पनि गलकोटे साथीहरु ठोक्किन्थे । औसतमा केहि गरौं भन्ने हुटहुटी उनीहरुमा प्रष्ट झल्किन्थ्यो । ९० को उत्तरार्धतिर आईपुग्दा जापानमा थकाली सेवा समिति, तमु धी जापान, नेपाल मगर संघ र मार्फाली थकाली सेवा समिति गरी चार जातिय संस्था अस्तित्वमा आईसकेका थिए भने त्यस अघि नै स्थापित नेपाली समाज संगठन (नाज) ले बेला बेलामा विभिन्न कार्यक्रमहरु मार्फत आफ्नो सक्रियता देखाउँदै आईरहेको थियो । तथापी ति संस्थाहरु राजधानी टोकियो केन्द्रीत भई एउटा निश्चित घेरामा सीमित जस्तो देखिन्थे । सन् १९९९ मा आएर जापानभरिका सबै नेपालीहरुलाई समेट्ने उद्देश्यले नेपाली समाज जापान (NCJ) को स्थापना भयो । सन् २००० पछि भने जापानमा नेपालीहरुको आगमन बृद्धिभएसंगै संघ-संस्थाहरुको स्थापना गर्ने क्रम बाक्लिन थाल्यो । जनसम्पर्क समिति जापान, एनआरएन जापान, अनेसास जापान, शान्ति तथा लोकतान्त्रिक फोरम जापान (PDNFJ), नेकपा एमाले प्रवास कमिटी (हाल प्रवासी नेपाली मञ्च), लोकतान्त्रिक गणतान्त्रिक मोर्चा (हाल नेपाली जनप्रगतिशील मञ्च), गलकोट समाज जापान लगायतका संस्थाहरु सन् २००० पछिको पहिलो दशकमा जन्मेका संस्थाहरु हुन् ।

गलकोटको पानी खाएर हुर्केकाहरु मृदुभाषी, अरुलाई नपिराउने, मनको बाठो, सिर्जनशील चिन्तन, मिहिनेती, आफ्नो माटोप्रति असाध्यै सचेत, अरुको हेपाई पटक्कै नसहने, परिआउँदा त्याग र समर्पण भाव देखाउन सक्ने, अलि-अलि इगो पाल्ने तर त्यहि इगोका कारण सफलताको धुरी चढेर ठाउँको ठाउँ देखाईदिने परिश्रमी स्वभावको हुन्छन् भन्ने मेरो निजी बुझाई हो, यो बुझाई जीवनको विभिन्न कालखण्ड र विभिन्न सन्दर्भमा जे जति गलकोटेहरुको संगत गरियो, त्यसैको निचोड पनि हो । तर यसमा सहमत वा असहमत हुन पाईयो है ।

भूगोलले सिमाना जोडिएको, मावली जाँदा, ससुराली जाँदा गलकोट भएरै जानुपर्ने र धेरैचोटी जन्त जाँदा समेत गरेर पचासौचोटी गलकोटको माटो टेकेको र गलकोटको बाटो नापेको मान्छे भएर पनि होला शायद गतवर्ष म नेपाल जाँदा गलकोट पुग्ने भुत सवार भएकोले एकदिन समय छुट्याएर एक फन्को गलकोट घुमेर फर्केको थिए । करीव अढाई दशकपछि गलकोट टेक्दा कतिपय संरचनाहरु जस्ताकौ तस्तै देखिन्थे भने कतिपय संरचनाहरुमा केहि नयाँपन झल्किन्थ्यो । त्यहाँ पुगेपछि स्थानीय जनताको जनजीवन, जनप्रतिनिधिहरुको सक्रियता, गलकोट दरबारको अवस्था, गाउँ-गाउँमा पुग्नका लागि बनाईएका कच्ची मोटरबाटो लगायतका गलकोटको सेरोफेरो नियाल्दै गर्दा आधुनिकताले भित्र्याएको कंक्रिटको कलेबरमा बैश झुलाउँदै हटिया बजार ढसमस्स बसेको देखिन्थ्यो । घुम्टेको धुरी समग्र गलकोटको सुरक्षामा खटिएको सुरक्षाकर्मी जस्तो ठिंग उभिएको देखिन्थ्यो भने गलकोटको बीचमा सुसाउँदै बग्ने दरम खोलाले आफ्नो शितलताको स्पर्शबाट जो कोहीलाई मन्त्रमुग्ध बनाउनमा तल्लिन देखिन्थ्यो । लामो समयपछि टेकेको गलकोटको जमिनमा उभिदैं गर्दा जापानमा नौ नंग्री खियाउँदै दशकौ बिताएका दर्जनौ गलकोटे साथीहरुको अनुहार मेरो मानसपटलमा झलझली आएको थियो । ति मित्रहरु सबैको नाम लिदा कसैको नाम छुट्न गयो भने अन्याय हुने हुँदा त्यतातिर म गईँन । आफ्नै आँगनको हिरा नदेखेर सात समुद्रपारि बगिरहेका पसिनालाई एकत्रित गरी यहि ठाउँलाई सिंगार्न सके यो ठाउँ जुरुक्क उठ्न के बेर लाग्दो हो र ? मनमनै कल्पिएं । त्यो दिनको गन्तब्य बागलुङ बजार फर्कनु अघि हटिया बजारको एउटा चिया पसलमा खाजा खाँदै गर्दा गलकोटलाई केन्द्रमा राखेर छचल्किएका यस्तै यस्तै भावनाका ज्वारभाटाहरुसंग भएको भलाकुसारीले केहीबेर आफैभित्र हराएको पत्तै भएन । त्यसपछि भने गन्तब्यको यात्रा त तय गर्नु जो थियो । गलकोटको अवलोकन भ्रमणमा मलाई सहयोग गर्न जापानबाट मित्र भवानी पन्तले एकजना स्थानिय जनप्रतिनिधि मित्रलाई खटाउनुभएको थियो, मित्रद्वयलाई नमन छ ।

अन्तको कुरो छोडेर जापानको मात्रै कुरो गर्ने हो भने पनि जापानमा रहेका नेपालीहरु मध्य धेरैको दिमाखमा गलकोट नामको एउटा छाप अवश्य बसेको हुनुपर्छ । जापानमा गलकोटेहरुको बाहुल्यता, संस्थागत तथा ब्यवसायिक गतिबिधिहरुमा हुने उनीहरुको सहभागिता एवं सक्रियताका कारण यो संभव भएको हो । त्यसो भएको हुनाले गलकोटको नाम धेरेचोटी सुनिरहेको तर गलकोट बारे पटक्कै थाहा नभएका अन्यत्रका नेपालीहरुले पनि ब्यक्त गरेपनि नगरेपनि नेपाल गएको बेलामा एकचोटी गलकोट पुग्ने रहर मनमनै पालेको हुनुपर्छ । यो जापानमा हुने गलकोटेहरुका लागि अतिरिक्त कमाई (बोनस) हो । यसलाई आफ्नो भूगोलमा क्याश गर्नका लागि जापानका गलकोटेहरुको थप रचनात्मक भूमिका अपेक्षित छ । जस्तै, आन्तरिक पर्यटकका अतिरिक्त रिटर्नी पर्यटकलाई समेत लक्षित गरी होमस्टे, कटेज, क्याफे, पैदल मार्ग, स्थानीय उत्पादनमा आधारित अर्गानिक खाना, गलकोटको कोसेलीरुपमा दरम खोलाको ड्राई माछा र ताराखोलाको च्याउ, आलुबाट बनेका चिप्स जस्ता परिकार स्थानीय उत्पादन सिस्नो र अल्लोबाट बनेको झोलामा राखेर पाहुनाको सत्कार र विदाई गर्‍यौं भने कुनचाँही पाहुना खुशी नहोला र जीवनभरि गलकोटको मुक्तकण्ठले प्रशंसा नगर्ला ? देशभित्र र देशबाहिर रहेका गलकोटे दाजुभाइ दिदीबहिनीहरुको सक्रियता, अग्रसरता र पहलकदमीले मात्रैले पनि गलकोट अब यसैपनि विश्व समुदायमा चिरपरिचित छ, तर समय अब पूरै भर्च्युअलमा गईसकेकोले अब यतिले मात्रै पुग्दैन । पर्यटन प्रवर्द्धनका लागि डिजिटल प्लेटफर्म र प्रविधि प्रयोग गरी देश-विदेशमा प्रचार-प्रसार गरिनुका साथै पुस्तक, पत्रपत्रिका प्रकाशन, विदेशी छापाहरुमा गलकोट चिनारी प्रकाशन, गलकोटसंग सम्बन्धित चलचित्र तथा डकुमेन्ट्री निर्माण, गलकोटका थिङ्क ट्याङकको पहिचान, गलकोटमा लगानी सम्मेलनको आयोजना, गलकोटेहरुको बाहुल्य रहेको विदेशमा गलकोट महोत्सव वा गलकोट फेस्टिवल जस्ता अवधारणाले अबको तन्नेरी पुस्तालाई जागरुक र आकर्षित गर्न सकिन्छ भने त्यहाँ आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन सकिन्छ ।

गलकोटले सबै पाएर पनि एकथोक भने अवश्य गुमाएको छ, त्यो के भने त्यति राम्रो स्वर्गको टुक्राजस्तो गलकोट क्षेत्रका ग्रामीण बस्तीहरु करिव करिव खाली हुने अवस्थामा छन् । विदेश पहिलो प्राथमिकता, त्यसपछि काठमाडौं पोखरा जस्ता ठूला सहरमा बसाई सराई गर्ने सँस्कारको चपेटाबाट गलकोट पनि अछुटो छैन । त्यसकारण गाउँमै बसूँ बसूँ लाग्ने वातावरण निर्माण गर्न र बाहिरिएकाहरुलाई पनि गाउँ फर्कन आकर्षित गर्ने खालको अति प्रभावकारी र बुलन्द खालको गुरुयोजना तय गरी गलकोटको विरासतलाई जोगाउनुपर्ने ठूलो चुनौती देखिन्छ । यसका लागि सरोकारवलाहरुबीच पर्याप्त छलफल, बहस, अध्ययन, अनुसन्धान गरी त्यसको निचोडबाट नीति तथा कार्यक्रम सहितको गुरुयोजना निर्माणमा सिंगो गलकोट अवश्य जुरुक्क उठ्ने छ, किनभने हरेक हिसाबले गलकोट आफैमा सक्षम छ, मात्रै छरिएर रहेका गलकोटका वौद्धिक सम्पति, पूँजी, ज्ञान, सीप, अनुभव र विद्वतालाई एकत्रित गरी ब्यवहारिकरुपमै उपयोगमा ल्याउन आवश्यक देखिन्छ ।

(गलकोट समाज पोखराको स्मारिका ‘गलकोट’ मा प्रकाशित यस लेख पाठकहरुको अनुरोधमा साभार गरिएको)

तपाईको प्रतिक्रिया