जापानमा मैले देखेको कुरा के नेपालमा सम्भव छैन र ?

धेरै पहिला देखि लेख्न मन लागेको थियो । तर भने जस्तो सजिलो हुदैन रहेछ लेख्नलाई । अब त लेख्नै परयो भनेर कोशिश गर्दैछु ।
हाल म जापानमा छु । त्यसैले यहाँ मैले जे देखें, त्यो नेपालमा पनि संभव हुन्छ होला जस्तो लाग्छ । जापान विश्वमा कहलिएका विकसित देशहरूमध्ये एक हो । यहाँको रहन-सहन, भाषा संस्कृति, अाफ्नो देशप्रतिको अाम नागरिकको सोच लगायतका कुराहरू अन्य देशका भन्दा केही फरक लाग्छ । ध्वस्त भएको यो देश यहाँका बासिन्दाहरूको सोचाई कै कारणले अहिले उच्च स्थानमा पुग्न सफल भएको हो । जति आधुनिकीकरणले विकसित छ यो देश, त्यति नै आफ्नो परम्परा, संस्कृतिको दृष्टिले पनि धनी छ ।

आफ्नो परम्परालाई धेरै माया गर्छन् जापानीहरू । यहाँका जनताहरूको जात-जाती भन्दा देशप्रतिको अास्था माथि छ । तर ठाँऊ विशेषका परम्परालाई विशेष महत्व दिन्छन् । जस्तै जापानको परम्परागत मेला (ओमाचुरी) का कुरा । आओमोरी केन (जिल्ला) को नेबुता माचुरी जापानको प्रख्यात मेला मध्येकाे एक हो । यो मेलाको नामसँग त्यो ठाँउमाको नाम पनि सँगै जोडिएर आउंछ । यो मेला हेर्न स्वदेशी तथा विदेशी पर्यटकहरूको घुईचो लाग्ने गर्दछ । त्यस्तै होक्काईदोको युकी माचुरी, फुकुसिमा-सेन्दाईको तानाबाता पनि प्रख्यात छन् । जुन हेर्नको लागि त्यही ठाँउमा जानुपर्ने हुन्छ । वर्षको एक पटक मात्र हुने यस्ता मेला त्यो ठाँऊको पहिचान बनेका छन् । यस्तो मेला हेर्न जाने मात्र नभएर जाने बेलामा परम्परागत पहिरन (किमोनो) लगाएर जाने चलन पनि छ । बुढापाकाहरूले भन्दा जवानहरूले यस्तो पहिरन बढि लगाएको देख्ने गरिन्छ । यसले यो प्रष्ट हुन सकिन्छ कि नयाँ पिंढीका जापानीहरू पनि अाफ्नो परम्परा र संस्कृतिप्रति उत्तिकै सजग छन् ।
यहाँ केही नभएर पनि धेरै विकास गरेका छन् । यहाँको भन्दा धेरै प्राकृतिक सम्पदाहरू छन् हामीसँग । नेपालमा ठाँऊ विशेष भन्दा पनि जाति विशेषका परम्पराहरू धेरै छन् । पहिला त तेरो र मेरो भन्न छाडेर हामी सबै नेपालीको हो भन्ने भावना हामीमा पैदा हुनुपर्दछ । सबै जात जातिका आफ्नै भाषा आफ्नै भेष छन् । नेपालमा ठाँऊ अनुसार जात जातिको बाहुल्यता भएको ठाँऊहरू पनि धेरै छन् जस्तो लाग्छ । त्यो ठाँऊमा बाहुल्यता भएको जातजातिको चाडपर्व आदिको छाप पनि अरूको भन्दा बढि नै पाईन्छ । यसलाई अहिलेको समय अनुसार चलाउन सक्यो भने कति राम्रो हुने थियो होला ।
जस्तैः काठमाडौं भने पछि नेवार समुदायको परम्परा र संस्कृतिको बाहुल्य भएको ठाँउ जस्तो लाग्छ । पोखरा भन्नाले गुरुङ, धरान-राई लिम्बु, चितवन कैलाली भन्नाले थारूको बाहुल्यता भएको ठाँउ भन्ने बुझिन्छ । (माफ गर्नु होला, यसमा सबैलाई समेट्न सकिन । यो एउटा उदाहरणको लागि मात्र लिएको हुँ, अन्यथा नलिनु होला ।) नेवार बस्ती धेरै भएको ठाँउ काठमाडौंमा प्राचीन कालदेखिको चलिआएको विशेष चाडबाडलाई विशेषता दिने । त्यो मेला हेर्न अन्य ठाँऊका नेपालीहरू पनि लालायित होऊन । अनि जुनसुकै जात जातिका भए तापनि त्यो मेला हेर्न जाने बेलामा नेवारी पहिरनमै सजिएर जाने रहर होस् । त्यस्तै पोखरामा गुरुङको मेलामा जाने बेलामा गुरुङ पहिरनमै सजिएर जाने रहर होस् । राई लिम्बुकोमा जाने बेलामा उनीहरूकै ड्रेसमा सजिने अवसर मिलोस । अनि थारूको मेलामा जाने बेलामा थारू पहिरनमै चटक्क सजिएर जाने रहर पैदा होस् । स्वदेशी तथा विदेशी पर्यटकले यसको मजा लिन पाउन । रमाईलो पनि हुने, परम्परा पनि जोगिने र आर्थिक मजबूत पनि हुन सकिने । यही त हो अहिलेको आवश्यकता ।

‘साना ठूला जातले हुनु नपरोस् यहाँ, कसैको मन दुखाउने बात गर्नु नपरोस् यहाँ ।’
त्यस्तै मैले देखेको अर्को कुरा जापानीहरू समय अनुसार प्रकृतिसँग नजिकिएर रमाउने गर्दछन् । मेशिन जस्तै खटिनुपर्ने यहाँको जीवन शैली छ । यसबाट केही पलको लागि भएपनि छुटकारा पाउनलाई जापानीहरू प्रकृतिसँग नजिक हुने गर्दछन् । मार्च अप्रिलमा यहाँ साकुरा (नेपालमा हामी पैयुँ भन्छाैं) हेर्न जानेको घुईचो लाग्ने गर्दछन् । यो फूल छोटो समयको लागि मात्र फुल्ने भएकोले पनि यसको महत्व बढि भएको होला । यो मौसममा सबैजना घरबाट अथवा पसलबाट खानेकुरा किनेर परिवार तथा साथीभाइसँग साकुराको बोटमुनि बसेर खाने गर्दछन् । अरूबेला सुनसान हुने ठाँऊहरूमा पनि यो बेला निकै घुइँचाे देखिन्छ । बिहानै देखि गएर ठाँऊ ओगट्नेहरूको पनि कमी हुदैन । अरू प्रकारका फूलहरू जुन सिजन अनुसार फुल्ने गर्दछन् । अनि विशेष ठाँऊमा मात्र फुल्ने गर्दछन् । केही पनि उब्जनी संभव नभएको डाँडा-काँडालाई पनि फूलले सिंगारेर मानिसलाई लोभ्याईरहेका हुन्छन् । नोभेम्बरतिर यहाँका डाँडा-काँडा  (कोउयो) पहेंलो रातो पात जुन पात झर्नु भन्दा अगाडिको रंगले सिंगारिएको हुन्छ । यो समयमा पनि कोउयो हेर्नलाई मानिसहरू टाढा-टाढा बाट आउने गर्दछन् । जुलाई अगस्त महिनामा हानाबी (आतिसवाजी) को एकदमै चहलपहल हुन्छ । डिसेम्बर जनवरी तिर इलुमिनेसनले राती पनि दिउसै हो कि भन्ने भान हुने गरी विशेष ठाँऊहरू सिंगारिएको हुन्छन् । त्यस्तै फेब्रुअरी मार्चमा हिऊ पर्ने ठाँऊमा स्कि खेल्न जाने गर्दछन् । यहाँ यी सबै कुराले देशलाई आर्थिक लाभ पनि दिईरहेका छन् ।

हाम्रोमा पनि यस्ता कुराहरू नभएका भने होइनन् फरक यति हो हामीले समय अनुसार तिनीहरूको प्रयोग गर्न जानेनाैं या त अरू केही नै । राष्ट्रिय फूल लालीगुराँस फुल्ने समयमा पुरै बनलाई नै सिंगारेर फुलेको हुन्छ । तपाई हाम्रो पर्खाईमा धेरै पटक फुल्दै झरिसक्यो । तर पनि कसैले त्यसको महत्व बुझ्न सकेको छैन । उसको महत्व एउटा किताबी पान्नामा मात्र सीमित छन् । हाम्रो पनि तिहारमा झिलीमिली हुन्छ तर यो व्यवस्थित छैन । मुस्ताङ्गको स्याऊ त्यसै कुहिएर जान्छ । त्यहाँ स्याउ ताबेहोउदाईको क्यान्पेन  (निश्चित रकम तिरेर निश्चित समयभित्र जति खान सकिन्छ खान पाइने) टुर भए केही मात्र पनि राम्रो हुने थियो होला । त्यस्तै सिन्धुलीको जूनार, भक्तपुरको जुजु धौ । भोजपुरमा खुकुरी संग्रहालय बनून, जसमा हाम्रा पूर्खाले अंग्रेजसँग यहि हतियारले जितेको सान आगामी पुस्ताले महसूस गर्न पाउन् !

अहिले सामाजिक संजालको यस्तो बाहुल्यता छ । नेपालमा विभिन्न ठाँऊ घुम्न जानुहुनेहरूले त्यो ठाँऊको राम्रा-राम्रा फोटाहरू सामाजिक संजालमा अपडेट गरून । ताकि अरूलाई पनि त्यो ठाँऊमा जान उत्साहित बनाऊन् । तराईका लोभलाग्दा फाँट, पहाडका हरियाली डाँडा काँडा, हिमालमा हिऊँले सजिएको बेलामा मात्र भएपनि हेर्न जानेको घुईचो होउन् । अनि सहर रातीमा पनि उज्यालो भएको हेर्न पाउन् ।
आफ्नै संस्कृतिमा रमाउन पाऊँ, परम्परा पनि जोगाउन सकौं र त्यसलाई चलाउन केही आर्थिक लाभ पनि लिन सकौं । यहि नै हो अहिलेको हाम्रो आवश्यकता । मात्र १ वर्ष सबैले आफ्नो ठाँउबाट इमान्दारीता देखाउने हो भने अहिले सम्मको असम्भव भएका कुराहरू पनि संभव भएर आउनेछन् । एक वर्षमा सबैलाई त्यहि बानीको आदत हुनेछन् । हरेक पलपलमा हामीले जापानमा देखेका यी कुराहरू के नेपालमा सम्भव छैन र ?

लेखिका सूर्यवंशी  K・LINE GROUP मा कार्यरत हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया
© २०१६ सर्वाधिकार समुद्रपारिमा सुरक्षित