शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024
काठमाडौं– सञ्चारकर्मी मिलन तिमिल्सिनाको दोस्रो कृति ‘नेताजीको म्याद’ आजदेखि बजारमा आएको छ ।
कृतिमा पछिल्लो राजनीतिक घटनाक्रम, संविधानसभाले चार वर्षसम्म पनि जनतालाई संविधान दिन नसकेर विघटन भएको प्रसङ्ग र विभिन्न पार्टीका नेताको दैनिकीलाई समेटिएको छ  ।
रेडियो अडियो एफएमको आयोजनामा एफएम परिसर बानेश्वरमा भएको गाईजात्रा कार्यक्रममा हास्यकलाकार किरण केसी, राजाराम पौड्याल, सीताराम कट्टेल, कुञ्जना घिमिरेलगायतले सो कृतिको विमोचन गर्नुभयो ।  सो कृतिबारे टिप्पणी गर्दै कलाकार मनोज गजुरेल, सिस्नुपानीका अध्यक्ष लक्ष्मण गाम्नाङ्गे र सदस्य नरनाथ लुइँटेलले समाजका विकृति र विसङ्गतिलाई कृतिले व्यङ्ग्यात्मकरुपमा ऊजागर गर्न सफल भएको बताउनुभयो ।
उहाँहरूले नेपाली समाजमा दिनानुदिन भइरहेका विकृतिलाई कुशलरुपमा लेखकले टिप्न सकेका छन् भन्दै कृति पठनीय र सङ्ग्रहनीय रहेको बताउनुभयो ।
सेन्चुरी प्रिन्टिङ एन्ड पब्लिकेसन्स् प्रालिद्वारा प्रकाशित सो कृति लेखक तथा पत्रकार तिमिल्सिनाको दोस्रो कृति हो । यसअघि तिमिल्सिनाले ‘मिलनको बकपत्र’ बजारमा ल्याइसकेका छन् । विसं २०३५ असोज २ गते धादिङको नलाङमा जन्मनुभएका पत्रकार तिमिल्सिना १२ वर्षदेखि पत्रकारितामा क्रियाशील भई हाल उज्यालो एफएममा कार्यरत हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया