शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024

काठमाडौं – गीतकार डा.हेमन्त खतिवडाको हिन्दी गीतको किताब ‘कैसा मन मस्ताना प्यारे’ प्रकाशित भएको छ । यसमा विशेष गरेर प्रेमको रोमान्टिक विषयलाई गीतकारले समेटेका छन् । यस कृतिमा दुई सय वटा हिन्दी गीतहरू रहेका छन् । दुई सय पृष्ठमा किताब तयार भएको छ । गीतहरू प्रेम गीतको प्रचलित परम्परा भन्दा फरक किसिमले लेखिएका छन् ।

गीतकार खतिवडा भन्छन्, प्रेम भनेको सतही विषय नभई, यसको आफ्नै दर्शन छ, प्रेम गीतलाई पनि म दर्शनसँग जोडेर हेर्छु र लेख्न रुचाउँछु । ओम प्रकाशन दिल्लीले प्रकाशन गरेको यस गीत संग्रहका गीतहरूको बनोट र प्रस्तुतिको जुन तरिका छन् ती कलात्मक र बिम्बात्मक छन् । शब्दहरू सरल छन् तर ती शब्दहरूले बोक्ने भाव गम्भीर छन् । उनका गीतहरूमा प्रेमको मनोविज्ञान अनौठो तवरले घुलित भएका छन् ।

प्रस्तुत पुस्तकमा प्रस्तुत गरिएका गीतहरूमा प्रेमका विविध स्वरूपलाई विभिन्न आयामहरूबाट व्याख्या गरिएको छ । आकर्षक कागज र राम्रो छपाइमा आएको गीत संग्रह रोमान्टिक गीतहरूको संग्रह नै बन्न पुगेको छ । वि.सं. २०५३ मा नातिकाजीको स्वर संगीतमा ‘मनमा काँडा बिझेपछि’ बोलको गीत रेकर्ड गराएर सांगीतिक क्षेत्रमा उदाएका खतिवडाका दर्जनौं नेपाली गीत चर्चित छन् ।

उनी नेपालको सबभन्दा कम उमेरमा गीत लेख्ने गीतकार पनि हुन् । यस कृति लाई निकै महत्वका साथ हेरिएको छ । यसको मूल्य २ सय भारु राखिएको छ ।

तपाईको प्रतिक्रिया