काठमाडौं – वैखाख १२ गते आएको विनाशकारी भूकम्पपछि राहत सामग्रीभित्र बाइबल बाँडिएको चर्चाले बजार पाएको थियो । केही इसाई मिशनरी संस्थाहरुले भूकम्पपीडितहरुलाई राहतसँगै बाइबल बाँडेपछि धर्म परिवर्तनको निष्कृष्ट शैली भन्दै व्यापक आलोचना समेत भएको थियो । इसाई संस्थाहरुले गोरखा, धादिङ, काभ्रे र सिन्धुपाल्चोकमा यसरी बाइबल बाँडेपछि नेपालका केही इसाई संस्थाहरुले समेत त्यसको बिरोध गरेका थिए ।
तर अहिले फेरी केही संस्थाहरुले पुनः राहतसँगै धर्म परिवर्तनमा जोड दिएको समाचार प्रकाशित भएको छ । गत वैशाख २८ गतेको भूकम्पले प्रभावित बनेको सिन्धुली, रामेछाप र दोलखा जिल्लामा राहतको नाममा बाइबल बाँड्ने र आर्थिक प्रलोभनमा पारेर बाइबल बाँड्दै धर्म परिवर्तनका लागि दबाब दिइरहेको खबर एभरेष्ट डट कमले जनाएको छ ।
खबर अनुसार, सिन्धुलीमा भूकम्पपीडितलाई राहतसँगै बाइबल बाँडेर धर्म परिवर्तन गर्न दबाब दिन थालिएको हो । क्रिश्चियन धर्म मान्नेलाई बढी राहत दिने भन्दै धर्म परिवर्तनका लागि राहतको प्रलोभन देखाउने गरेको स्थानीय बताउँछन् ।
क्रिश्चियन धर्म मान्ने समुदायलाई खोजीखोजी राहत बाँडिएको छ । जिल्लामा राहत बाँड्न आएको मकावानपुरको अनुग्रह सेवा नेपालले राहतसँगै बाइबल वितरण गरेको हो । त्यो संस्थाले क्रिश्चियनलाई मात्र राहत बाँड्न पाउनु पर्ने माग राखेको आरोप लागेको छ ।
संस्थाले जिल्लाको पोखरी गाविसमा क्रिश्चियन धर्म लिएकाहरुलाई मात्र बाँडिएको राहतमा बाइबल तथा क्रिश्चियन धर्मसम्बन्धी सामाग्री बाँडेको कांग्रेस सिन्धुली क्षेत्र नम्बर २ सभापति कृष्ण दाहालले आरोप लगाए ।
उक्त संस्थाले त्यसक्षेत्रमा ५५ बोरा चामल र ३० थान त्रिपाल बाँडेको छ । राहतस्वरुप दिइएको चामलको बोरामा बाइबल राखेर बाँड्न थालिएपछि स्थानीयबासीले त्यसलाई रोक्न भनिएको उनको भनाइ छ ।
धर्म र जातको विभेद नगरी राहत बाँड्न जिल्ला दैवी प्रकोप उद्धार समितिले उक्त संस्थालाई निर्देशन दिएको थियो । विपत्तका बेला जो कसैले पनि सहयोग गर्न सक्ने बताउँदै सभापति दाहालले राहत दिँदा धर्म र जातिको नाममा गरिने यस्तो कार्य बन्द गर्नुपर्ने बताए ।