आइतबार, बैशाख १६, २०८१
Sunday, April 28, 2024

टोकियो – बालबालिका भन्दा धेरै घरपालुवा जनावर भएको देश जापानमा कुकुरहरूको जीवन शानदार छ ।

घरपालुवा जनावरमध्ये कुकुरसँग जापानीको सम्बन्ध निकै पुरानो मानिन्छ । कुकुर प्राचीन कालदेखि नै जापानमा महत्त्वपूर्ण भूमिका खेल्दै आएको  छ । जापानको कुकुरले देवताहरूलाई सम्मान गर्ने धार्मिक चाडपर्व र तीर्थदेखि लिएर, लोककथा, किंवदन्ती र प्रतिमा, प्रसिद्ध कलाकृति, वास्तुकला परियोजना, चलचित्र र पुस्तकसम्म जापानी परम्पराहरूलाई प्रतिनिधित्व गर्छ ।

जापानको घरपालुवा जनावरको उद्योग एक वर्षमा १० खर्ब येन भन्दा बढीको अनुमान गरिएको छ ।

आर्थिक अस्थिरताले गर्दा धेरै जापानीहरु बिहे गर्ने कुरामा एक कदम पछाडी हत्छन् ।  तर कुकुरको लागि फोटो सेसन, मसाज र उपचारमा कुनै पनि अतिरिक्त पैसा खर्च गर्न खुसी देखिन्छन् ।

जापानीहरुले आफूले पालेका कुकुरहरुलाई दिने माया, ममता र स्याहार, सुसार संसारका अरु देशका मालिकले सायदै दिंदा हुन् । जापानीले कुकुरलाई आफ्नो परिवारकै सदस्य वा अझ परिवारको विशेष सदस्यको रुपमा व्यवहार गर्दछन् ।

जापानमा कपडा नलगाएको कुकुर देख्न मुश्किल नै छ । यहाँका कुकुरहरुले ज्याकेट वा कोट, टाउकोमा बो, सनग्लास वा जिन्स जस्ता कुनै न कुनै फेसनेबल लुगा लगाएकै देखिन्छ । कतिपय घरमा त कुकुरको आफ्नै कोठा र चिटिक्क ह्यांगरमा मिलाएर राखिएको डिजाइनर कपडाले भरिएको वार्डरोब हुन्छ । जापानमा च्यानल, डायर, हर्मेस र गुच्ची जस्ता डिजाइनर लेबलहरूले कुकुरको लक्जरी उत्पादन बेच्छन् । मलहरुले कुकुरको दर्जनौं लोकप्रिय ब्रान्डका कपडा र सामग्रीले भएको बाहिरी आउटलेट नै राखेका हुन्छन् ।  यहाँ कुकुरकै मात्र कपडा बनाउने बुटीकहरू पनि छन् जसले कुकुरका लागि फ्रिल फ्रक, डिजाइनर जीन्स, स्मार्ट डग्गी ब्याग र आदि इत्यादि बनाउँछन् । यहाँका कुकुरहरू थरि थरिका स्ट्रोलरमा सवार गरेको देखिन्छ । टोकियोका केहि भागहरूमा बच्चाहरूको लागि भन्दा कुकुरहरूको लागि लुगा किन्न सजिलो छ ।

यहाँ कुकुर मैत्री रेष्टुरेन्ट छन् जहाँ कुकुरहरू टेबलमा बसेर आफ्ना मालिकहरूसँग खाना खान सक्छन् । राजमार्ग सेवा स्टेशनहरूले कुकुरको खानाको बेन्टो बक्स बेच्छन् ।

यहाँ मानिसको जस्तै कुकुरको लागि पार्लर, स्पा र ओन्सेन (हट स्प्रिङ) रिसोर्ट छन् जसले आरामदायी बबल बाथ, अरोमाथेरापी तेल प्रयोग गरेर शरीरको मसाज, गहिरो छिद्र सफाई जस्ता ना-ना थरिको सेवा सहजै उपलब्ध गराउँछन् । केहि समय देखि जापानमा कुकुरको लागि योग कक्षाहरु प्रख्यात बन्दैछन् । त्यस्तै कुकुरको लागि यहाँ डेकेयर सेन्टर उल्लेखनीय संख्यामा खुलेका छन् । टोकियोमा कुकुरको लागि डेकेयर सेन्टर खोज्न बच्चाको लागि नर्सरी ठाउँ खोज्नु भन्दा सजिलो छ ।

यहाँ कब्रिस्तान पनि छन् जहाँ मृतक कुकुरको पूर्ण बौद्ध संस्कारका साथ अन्त्येष्टि गरिन्छ । कुकुरसंग पारिवारिक सम्बन्ध राखेका जापानीहरु कुकुरको अन्त्येष्टि र दाहसंस्कार समारोहमा  आठ/ नौ लाख वा बढी खर्च गर्न पनि हिच्किचाउँदैनन् ।

जापानमा प्राय: खेलौना जस्तो देखिने साना प्रजातिका कुकुर जस्तै मिनिएचर, ड्याचसन्ड, पूडल, चिहुआहुआ कोर्गिस र डचसुन्डहरू विशेष रूपमा लोकप्रिय छन् । सर्वेक्षण अनुसार विगत १३ वर्ष देखि पूडल प्रजातिको कुकुर जापानीहरुले सबैभन्दा रुचाएको कुकुर हो ।

तपाईको प्रतिक्रिया