शनिबार, बैशाख २२, २०८१
Saturday, May 4, 2024

टोकियो – विश्वकै विकसित देशमध्येको एक जापानमा बुलेट ट्रेन सञ्चालनको ५ दशकभन्दा बढी अवधि पूरा भइसकेको छ । तर यहाँको बुलेट ट्रेनमा कुनै दुर्घटना भएको रेकर्ड छैन । प्रतिघण्टा ३२० किलोमिटरसम्मको गतिमा दौडिए पनि जापानका रेलहरू अविश्वसनीय रूपमा सुरक्षित रहेका छन् ।

उसो त जापान धेरै कम अपराध हुने सुरक्षित र व्यवस्थित देश पनि हो । यहाँको वातावरण अन्तर्राष्ट्रिय पर्यटक, जोडी, एकल यात्री र परिवारका लागि पनि उपयुक्त छ । यति मात्र होइन, टेक्नोलोजीका साथै जापानका ट्रेनहरू पनि धेरै सफा र स्वच्छ छन् । यो भन्दा राम्रो सार्वजनिक यातायात व्यवस्था अरू कुनै देशमा सायदै होला । जापान आफ्नो सुपर फास्ट ट्रेन र विशेष गरी शिन्कानसेन बुलेट ट्रेनहरूको लागि परिचित छ ।

गतिको हिसाबले सबैभन्दा छिटो भएपनि जापानका रेलहरू निकै सुरक्षित छन् । झन्डै ५० वर्षको निरन्तर सेवामा यात्रु दुर्घटना भएको छैन । यस बाहेक जापानमा भूकम्प बढी आउने भएकाले शिन्कानसेन रेलमा भूकम्पका लागि विशेष स्वचालित एयर ब्रेकको सुविधा पनि छ । भूकम्प जस्ता आपत्कालीन अवस्थामा सुरक्षित र द्रुत रूपमा रोक्नको लागि ट्रेनमा नयाँ प्रविधिहरू छन् । परम्परागत ब्रेकिङ प्रणाली बाहेक यसमा छतमा एयर ब्रेकहरू र रेलहरू नजिक चुम्बकीय प्लेटहरू राखिएका हुन्छन् ।

५१५ किलोमिटर लामो टोकाइदो शिन्कान्सेन विश्वको सबैभन्दा व्यस्त हाई-स्पीड रेल लाइन हो । जसमा सन् १९६४ देखि २०१० सम्मको टोकियो ओलम्पिकको उद्घाटन देखि ४ अर्ब ९ करोड यात्रुले यात्रा गरिसकेका छन् । जापानमा धेरैजसो मानिस रेलमा यात्रा गर्छन् । एक अनुमान अनुसार यहाँ हरेक दिन ६ करोड ४० लाख मानिस रेलबाट यात्रा गर्छन्। यो संख्या विश्वको कुनै पनि देशको तुलनामा सबैभन्दा बढी हो ।

संसारका ५१ व्यस्त रेल स्टेशनहरू मध्ये ४५ जापानमा छन् । सबैभन्दा ठूलो र व्यस्त स्टेसन टोकियोको शिन्जुकु स्टेशन हो । जापानका अन्य व्यस्त स्टेशनहरूमा शिबुया, उमेदा, इकेबुकुरो र योकोहामा समावेश छन् ।

तपाईको प्रतिक्रिया