Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

टोकियो – नेपालीहरूको संख्या धेरै रहेको जापानमा मन्दिर बनाउने अभियान सुरु गरिएको छ । धर्मप्रति आस्थावान् धेरैले हिन्दुहरूका लागि पूजापाठ तथा दर्शन गर्न मन्दिरको आवश्यकताको महसुस गरिरहेको बेला यसलाई मूर्तरूप दिन अभियान सुरु गरिएको हो ।

मन्दिर निर्माणको निमित्त बेलाबेलामा चर्चा भइरहेपनि त्यसले पूर्णता भने पाएको थिएन । जापानमा रहेका नेपालीहरूले हालसम्म सामूहिक रुपमा विभिन्न चाडपर्व मनाउनुपरेमा वा पूजाआजा गर्नुपरेको खण्डमा स्थानीय रेष्टुरेन्टको हललाई भाडामा लिई प्रयोग गर्दै आइरहेका छन् । यसै समस्यालाई मध्यनजर गर्दै मन्दिर निर्माण अभियान सुरु गरिएको व्यवसायी दीपक सुवेदीले बताए । मन्दिर निर्माण अभियानको सुरुवात गर्दै उनले आफ्नो तर्फबाट १ करोड जापानी येन सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

मन्दिर निर्माणपछि नेपालबाट संस्कृतमा उच्च ज्ञान प्राप्त गर्नुभएका धार्मिक गुरुहरू र पुरोहितलाई बोलाई दैनिक पूजापाठ, भजन कीर्तन र विभिन्न चाडपर्वको समयमा यज्ञ आयोजना गरिनेछ । दान पेटिकामार्फत प्राप्त सहयोगलाई नेपालमा रहेका दुःखी तथा गरिबलाई सहयोग गर्न सकिने उनको भनाई छ ।

को हुन् दीपक सुवेदी ?
बागलुङ जिल्ला विहुँकोटका दीपक सुवेदी हाल जापानलाई कर्मभूमि बनाएर व्यवसाय गरिरहेका छन् । रेष्टुरेन्ट व्यवसाय तथा रेस्टुरेन्टमा आवश्यक खाद्य सामाग्रीको बिक्री वितरणमा सक्रिय सुवेदी सफल व्यवसायीको रुपमा नेपालीमाझ परिचित छन् । कर्मशील तथा सहयोगी मनका उनी सपरिवार जापानमा रहेको छ भने उनको बुवा बागलुङमा परिचित पण्डित हुन् ।

२५ वर्षअघि जापान प्रवेश गरेर रेष्टुरेन्ट व्यवसाय सुरु गरेका सुवेदीले खाद्यान्नको थोक बिक्रेता एवम् हालसम्म २० वटा रेष्टुरेन्ट सञ्चालन गरिरहेका छन् । सफल व्यवसायीको पहिचान निर्माण गर्दै सयौँलाई रोजगारी सिर्जना गर्न सफल व्यवसायी तथा सामाजिक व्यक्ति दिपवे जापानका प्रमुख एवं दिपवे फाउन्डेसनका संस्थापक सुवेदीलाई जापानमा भएको चैत्राष्टमी मेलामा पहिलो बागलुङ रत्नको रुपमा सम्मान गरिएको थियो ।बागलुङ समाज जापान र बिहुँकोट समाज जापानद्वारा आयोजित कार्यक्रममा सुवेदीले मन्दिर निर्माण अभियान घोषणा गरेका हुन् । मन्दिर निर्माण अभियानमा जापानमा रहेका अधिकांश नेपालीहरू सकारात्मक रहेका छन् भने धेरैको मौखिक रुपमा सहयोगको लागि प्रतिबद्धता आउने काम भइरहेको छ । छिट्टै समिति गठन गरी निर्माण कार्य थालनी गर्ने व्यवसायी सुवेदीको भनाई छ ।

  • सुवेदीले नेपाली नयाँ वर्षको अवसरमा जापानमा भएको चैत्राष्टमी मेलामा गर्नुभएको संकल्प जस्ताको तस्तै…

‘‘जापानमा गरिएको चैत्राष्टमी मेला २०२४ को पवित्र दिन पारेर जापानको भूमिमा पहिलो मन्दिर बनाउने संकल्प गर्दछु । यस भूमिमा पाइला राख्न सफल भएको म जस्तो भुईँ मान्छेलाई मेहनत, भाग्यका साथै कर्मभूमि जापानले मलाई, परिवार, आफन्त, साथीभाइ एवम् गाऊँ, जिल्ला, देशवासी सबैलाई धेरै कुरा दिएको छ । त्यसैले साँच्चिकै म जापान प्रति धेरै ऋणी छु । आजसम्म मेरो जीवनमा जे छ जति मिलेको छ, खुसी छु । मलाई जन्मदिने बुबा आमा, साथ दिने परिवार, आफन्तजन, कृपा एवम् रक्षा गर्ने भगवान्, साथीभाइ एवम् शुभचिन्तकहरूप्रति कृतज्ञ छु । भोलि कसले के देखेको हुन्छ र कुन अवस्थामा भइन्छ भन्ने कुरा कसैलाई थाहा हुँदैन । त्यसैले आज म आफैबाट जापानी येन १ एक करोड दान संकल्प गरेर ऐतिहासिक पवित्र कामको सुरुआत गर्न चाहन्छु । जापानको पवित्र भूमिमा पहिलो हिन्दु धर्मावलम्बीहरूको ऐतिहासिक सनातन मन्दिरको निर्माण गर्न समर्पित हुने कुरा हजुरहरू सबैलाई जानकारी गराउन चाहन्छु । हजुरहरू सबैलाई यस ऐतिहासिक पवित्र अभियानमा जोडिन अनुरोध, आग्रह, आह्वान गर्न चाहन्छु । जापानमा हामीहरूको ऐतिहासिक, गौरवशाली एवम् धार्मिक योजना हो, हाम्रो धर्म,हाम्रो संस्कार, हाम्रो संस्कृति हामीले नै बचाउनुपर्छ ।

जापानमा भएका सबै संघसंस्था, बुद्धिजीवी, व्यवसायी, विद्यार्थी सबैलाई समेटेर टिम तयार गरी मन्दिरको ट्रस्ट स्थापना गर्ने र विभिन्न माध्यम प्रयोग गरी देश विदेशबाट रकम जुटाएर जग्गा खरिद गर्नतर्फ लाग्ने कुराको जानकारी गराउन चाहन्छु । यसको निमित्त कम्तीमा २० हजार मान (२० करोड येन) देखि माथि लगानी हुन सक्ने अनुमान रहेको छ । जापानमा अहिलेसम्मकै ठूलो लगानीको धार्मिक, ऐतिहासिक, गौरवशाली योजना भएको हुनाले सम्पन्न हुन केही वर्ष लाग्न सक्छ तर हाम्रो धर्म, हाम्रो संस्कार, हाम्रो संस्कृति हामीले नै बचाउनुपर्छ हाम्रो मन्दिर हामी आफै बनाउनुपर्छ । संसार भरबाट लाखौँको सङ्ख्यामा हिन्दु धर्मावलम्बी बसेको देश अझै दिन प्रतिदिन संख्या बढिरहेको भएपनि जापानमा अहिलेसम्म आफ्नै मन्दिर थिएन । ऐतिहासिक पवित्र अभियान सफलतापूर्वक सम्पन्न गर्नको लागि जापानमा भएका विभिन्न संघ संस्थाका पदाधिकारीहरू, समाजसेवीहरू, बुद्धिजीवी वर्गहरू, व्यवसायीहरू, विद्यार्थी भाइबहिनीहरू, रोजगारीको सिलसिलामा आउनु भएका हजुरहरू सबैलाई यस अभियानमा तन, मन बचन का साथ जोडिन अनुरोध, आग्रह आह्वान छ । आउनु होस, सबै मिलेर सफल पारौँ ।” *** 

तपाईको प्रतिक्रिया