सोमबार, बैशाख २४, २०८१
Monday, May 6, 2024

Dilaghare-kakaछोरो जापानमा छ भनेर डिलाघरे काकाको भुंईमा खुट्टा छैनन् अचेल । काकीको त झन के कुरा गर्नु ? एकाबिहानै पानी भर्न पधेंरामा जम्मा भएका टोलभरिका पधेर्नीहरुलाई हरेक दिन जापानकै बारेमा बेलीबिस्तार लगाउनु काकीको दिनचर्या नै बनेको छ । उसो त त्यस गाउँबाट जापान पुग्ने डिलाघरे काकाको छोरो मात्र एक्लो भने होइन । त्यो गाउँले धेरै युवाहरुलाई जापान पठाएको छ । त्यसैले त होला धरमपानी गाउँका बासिन्दा एकाबिहानै भेटघाट हुँदा एकआपसमा ’ओहायो गोजाइमास्’ भनेर अभिवादन साटासाट गर्दछन् ।

आफु गाउँमै दुखजिलो गरेर भए पनि डिलाघरे काकाले एउटो छोरो राजधानीको राम्रै स्कुलमा पढाएका थिए । हुर्कदै गरेको छोरोलाई ऋणधन गरेर भए पनि काठमाडौं आफन्तीकोमा राखेर एसएलसी गराए, त्यसपछि ’प्लस टु’ सम्म पढाएका थिए । बाउआमा गाउँमा, सहरमा बसेर पढीटोपल्ने यता छोरो राकेश भने भित्रभित्रै खराब केटाहरुको संगतमा फसिसकेको थियो । उसले संगत गरेका साथीहरु प्रायः धनिबाउका छोराहरु थिए । उनीहरुले यो वा त्यो बहानामा घरबाट भनेजति पैसा निकासा गराउँथे अनि बिभिन्न अवसर भनेर पार्टीको आयोजना गर्थे त कहिले कता कहिले कता घुम्न जान्थे । सँधै अरुको मात्र खाएर पनि भएन धनाढ्य बाउका छोराहरुको दाँजोमा गाउँबाट झरेको राकेशलाई खर्च धान्न धौ धौ हुन्थ्यो । अनि उसले पनि अनेक बहानामा घरबाट पैसा मगाउँथ्यो अनि जाँडपार्टीमा उडाउँथ्यो । पार्टीको रमझममा रम्ने बानी परिसकेका उनीहरुको बेला बेलामा ग्याङ् फाइट् चल्थ्यो । ग्याङ् फाइटमा कहिले उनीहरुले अरुलाई गधालाईझैं चुट्थे भने कहिले उनीहरु आफै रगतपच्छे हुनेगरी नराम्रोसंग कुटिन्थे । अनि नजिकको प्रहरीले दोषीलाई लगेर १, २ रात थुनेझैं गरेर आफ्नो ड्यूटी पुरा गर्थ्यो, अनि खासखुस गर्दै हल्का दक्षिणाभेटी चढाएपछि उनीहरु छुट्थे । बरु आफै गोदाई खानुपरे पनि जाँडपार्टीमा हल्का झगडा भएन भने उनीहरुलाई मजा नै आउँदैनथ्यो । झगडा गर्ने, थुन्ने अनि छोड्ने उनीहरु र प्रहरीबिच मिलेमतोमा गरिएको बिजनेश जस्तै भईसकेको थियो । छोरो काठमाडौंमा बसेर राम्रोसंग पढीरहेको छ भन्ने भ्रममा परेका बिचरा बाबुआमालाई के थाहा ? छोरो दिनप्रतिदिन कुलतमा फस्दै गएको । हुँदा हुँदा राकेश कलेज नै जान नसक्ने अवस्थामा पुग्यो । हुन त उसको पढाई जसरी तसरी पास मात्र गर्ने औसत खालको थियो । त्यसरी नै उसले बल्लतल्ल प्लस टु पनि सकाएपछि एकाएक उसलाई जापान जाने भूत सवार भयो । विद्यार्थी भिसामा जापान जानका लागि उसले जापानी भाषा पढ्न थाल्यो अनि एउटा नाम चलेको कन्सल्ट्यान्सी मार्फत करिव १२ लाख खर्चेर उ जापान आईपुग्यो ।

जापान त आयो तर उसले सोचेको जस्तो जापान भेटेन । न त हप्तैपिच्छे जाँडपार्टीको आयोजना गर्ने साथी पाउनु यहाँ, न त पैसा सकिंदासाथ महिनावारी सयकडा ५ ब्याजमा ऋण काढेर भए पनि खुरुखुरु पैसा पठाईदिने सोझो बाबुआमा पाउनु । एकाबिहानै उठ काममा जाउ, त्यसपछि कलेज जाउ अनि कलेज सकेर फेरि अर्को काममा जाउ, कोठामा फर्कदा रातीको १ बजिसकेको हुन्छ । यसो एकछिन आईफोन र नेट चलाउँदा रातीको दुई, साढे दुई बजिसकेको हुन्छ । कतिबेला किनमेल गरेर, कतिबेला पकाएर खानु, कतिबेला नुहाउनु, कतिबेला कपडा धुनु, कतिबेला कोठा सफा गर्नु, कतिबेला घरमा फोन गर्नु ? एकैचोटी यस्तो कहालिलाग्दो चुनौतीको सामना गर्नुपर्दा राकेशजस्ता दुखको नाममा नेपालमा सिन्को नभाँचेका अल्लारे ठिटाहरुको जापानमा होस हवास नै उड्नु स्वभाविकै हो । कामको क्षेत्रमा होस् वा जहाँतहीं अरुको खटन पटनमा चल्ने मुलुक हो जापान । नेपालमा जस्तो बहानाबाजीले केही काम चल्दैन यहाँ । आफुभन्दा सिनियरले भनेपछि त्यसको जबाफमा दुई वटा मात्र कुरा हुन्छ जापानमा, त्यो भनेको कि हाइ (हस् हजुर) कि त बाइ बाइ (मलाई बिदा दिनुस्) । त्यसै पनि स्वतन्त्र र स्वच्छन्द हिसाबले चलेका मान्छेहरु अरुको अरोटभरोट र खटनपटनमा चल्न मुश्किल पर्छ, ठिक त्यस्तै भयो राकेशलाई पनि । कलेजको फि तिर्न एवं बाँच्नका लागि काममा जानुपर्ने बाध्यता र जापानमा अडिनका लागि कलेज जानुपर्ने अर्को बाध्यताको जाँतोमा राकेश पनि पिल्सिदैं गयो जसरी उजस्तै अरु विद्यार्थी पनि पिल्सिदैं आईरहेका छन् । उता बिचरा डिलाघरे काकालाई के थाहा यता राकेशको दैनिकी साँच्चिकै कष्टकर बन्दै गईरहेको छ भनेर । नेपालमा अरुको कमाईमा होहल्ला र जाँडपार्टी गर्दै हल्लेर खाएका राकेशहरुलाई जापानले कि त साँच्चिकै गरिखाने गतिलो मान्छे बनाउँछ, कि त उनीहरु चुनौतीदेखि भागेर बिच बाटोमै गलत दिशातिर मोडिन्छन् । यस्तै यस्तै परिस्थितिको उपजका रुपमा जापानमा शरणार्थीमा आबेदन दिने नेपालीहरुको संख्या सबैभन्दा उच्च बन्न पुगेको छ, त्यसमा पनि विद्यार्थी पृष्ठभूमिबाट आएकाहरु सबैभन्दा बढी छन् । यसैको शिकार बन्न पुग्यो राकेश पनि ।

विभिन्न उपाय लगाएर जापान आईपुगेका एकथरि नवजवानहरु आई त हालियो जसरी तसरी पढाई सकाएर यतै जागीरमा लाग्ने ध्याउन्नमा देखिन्छन् भने अर्कोथरि जसरी भए पनि पैसै कमाउनु छ भने ढिला गर्नुभन्दा छरितो बाटो किन अवलम्बन नगर्ने भन्नेमा पुग्नेहरु लहैलहैमा चोरबाटो समाउन पुग्छन् । कलेज जान पनि नपर्ने, फि तिर्न पनि नपर्ने महिनाभरि ज्यानले सकुञ्जेल काम गर्‍यो टन्न तलब बुझ्यो अनि पुरानै दिनको झझल्को मेटाउन पनि पाईने, साथीभाइ जम्मा भयो जाँडपार्टीमा रमायो, अनि नानीदेखि लागेको बानी ’दाइलाई सक्दैन भाउजुलाई राख्दिन’ भनेझैं नेपाली नेपालीबिच झगडा गर्‍यो, बहादुर नेपालीको पहिचान देखायो, दुई चार ठाउँ टाँका लगायो, ठुलो युद्ध जितेको सिपाहीझैं गर्वले छाती फुलायो हिड्यो । भविष्यका एकथरि कर्णाधारहरु जापानमा यस्ता पनि भेटिन्छन् भने एकथरिले भने असाध्यै राम्रो प्रगति संगै सह्रानीय कार्य गरेर नेपालकै शान र मान उचो बनाउने युवाहरु पनि छन् ।

बिचरा डिलाघरे काकासम्म यी सबै कुरा त पुगुन् पनि कसरी ? उनीमा हर्षको उचाई चुलिनु स्वभाविकै थियो । किन कि दुखजिलो गरी हुर्काएको पढाएको छोरो कमाउने ठाउँमा पुगेपछि कमाएर आफुलाई नदिए पनि आफ्नो जिन्दगीको बन्दोबस्ती मिलाएको देख्न पाए हरेक बाउआमाको लागि अर्को खुशी थपिने कुरा हो । तर राकेश नेपालमा छँदा त खराब संगतमा पर्‍यो पर्‍यो यता जापान आएर पनि उ सुध्रिन सकेको थिएन । हुँदा हुँदा उ पनि कलेज जान छोडेर शरणार्थीको लामबन्दीमा तामेली हुन पुग्यो । कलेज जान नपरेपछि एकोहोरो काम मात्र गर्दा हुने कमाइको आकारले आकर्षित गरेको शरणार्थीको मोहमा उ पनि फस्न पुग्यो । कलकलाउदो जवानी, चट्ट क्यारियर बनाउने, राम्रो जागीर खाएर बाउआमाको सपना पुरा गर्ने, आफ्नो भविष्य बारे सोच्ने उमेरमा संगतका कारण र उपयुक्त सल्लाह सुझावको अभावमा राकेशले पनि बाटो बिरायो । उसको पाईला पनि हेर्दाहेर्दै गलत बाटोतिर मोडियो ।

राकेशको फेरि अर्को जिन्दगी सुरु भयो । हप्ताभरि काम गर्थ्यो, बिदाको दिनमा साथीभाइ जम्मा हुने जाँडपार्टीमा रमाउने झैं-झगडा गर्ने जस्ता उसको पहिलेकै दिनहरुको पुनरावृत्ति सुरु भएको थियो । दिनहरु यसरी बित्दै थिए, एकदिनको कुरा हो जाँडपार्टीमा झगडा हुँदा उमाथि नराम्रोसंग भौतिक आक्रमण भयो । उ मरणासन्न हुने गरी कुटियो, उमाथि ज्यादती गर्नेहरुको पहिचान हुन सकेन । शायद उनीहरु बिदेशी थिएहोलान् भागे । साथीहरुले एम्बुलेन्स बोलाएर राकेशलाई अस्पताल त पुर्‍याए तर उसको साथमा स्वास्थ्य बिमाको त कुरै छोडौं, परिचय खुल्ने कुनै कागजात थिएन । किन भने उसलाई शरणार्थीमा जान उक्साउनेहरुले आफुसंग भएको परिचय खुल्ने सबै प्रमाणहरु नष्ट गर्न सल्लाह दिएका थिए । परिचय खुल्ने स्पष्ट प्रमाण नभएपछि अस्पतालले उसको उपचारमा चासो देखाएन र भर्ना लिएन । त्यसपछि अर्को अस्पतालको खोजी गर्दैगर्दा उसको टाउकोबाट धेरै रगत बगिसकेकोले उ बेहोस भईसकेको थियो । मुश्किलले एकजना चिनेजानेको नेपाली ग्यारेन्टर बसेर एउटा अस्पतालले भर्ना त लियो तर स्थिति संबेदनशील भन्दै तुरुन्तै अर्को अस्पतालमा रिफर गर्‍यो । त्यहाँ २, ४ दिनको उपचारपछि मात्र बल्ल राकेश सामान्य अवस्थामा आयो । उसलाई आफुमाथि भएको अन्यायको असैह्य पीडाले नराम्रोसंग पोल्न थाल्यो । त्यसदिनको घटनामा आफु सोह्रैआना निर्दोष हुँदाहुँदै आफुमाथि भएको ज्यादती सहन उसलाई गाह्रो हुँदै आयो । उसले आफु अन्यायमा परेकोले कानुनी उपचारका लागि जाहेरी गर्ने बिचार गर्‍यो । जानेमानेकाहरुले प्रमाण जुटाएर प्रहरीमा जान सल्लाह दिएअनुसार उ प्रहरीकोमा पुग्यो तर त्यहाँ पनि उसको परिचय खुल्ने कागजात नहुँदा प्रहरीले उसको उजुरी लिन मानेन । भएको परिचय नष्ट गरेकाले आफुमाथि भएको अन्याय सहेर बस्न बिबश हुनुपरेकोमा उसलाई पश्चातापले पोल्न थाल्यो । आफ्ना भएभरको वास्तविक कागजात मिल्काएर नभएका बनावटी कागजातबाट दोस्रो दर्जाको नागरिक बन्न उद्यत युवा जमातले अँगालेको बाटो साँच्चिकै गलत रहेछ भन्ने बल्ल उसले अनुभूति गर्‍यो, र लामो सुस्केरा हाल्दै भन्यो – ’सध्य मान्छे खोटी बन्दा झन धेरै दुख पाईयो ।’

जापानमा भएको छोरोको खबर एक दिन डिलाघरे काकाले पनि थाहा पाउँछन् । अनि उनको खुशी क्षणभरमै हावा फुस्केको बेलूनझैं शून्यतामा परिणत हुन्छ । गाउँघरको खेतीकिसानी पृष्ठभूमिका सामान्य हैसियतका काकाले सकी नसकी छोरोलाई राजधानीमा पढाएकै थिए, त्यसपछि पनि जापानको सपना देख्ने छोरोको ईच्छा पुरा गर्नका लागि भएका जायज्येथा धितो राखेर गर्जो टारेकै थिए । छोरो जापानमा छ भनेर मात्र नहुँदो रै’छ, राकेशको जापानको कमाई डिलाघरे काकाले अहिलेसम्म सुको देख्न पाएका छैनन । उता बैंकको किस्ताले च्याप्दै ल्याएको छ भने अर्कोतिर बूढौलीसंगै नानाभाँतीका रोगले सताउन थालेका छन् । डिलाघरे काकाको घरमा अचेल हिजोको जस्तो रौनकता छैन । सपनाको आधार नै गलत बाटोमा लागेपछि होस् पनि कसरी ? सहरमा राखेर पढाएको छोरो जापान पुगेर के के नै गर्ला भन्ने उनीहरुको सपना चकनाचुर भएको छ । आफु एकछाक खाएर, फाटेको र  मैलो लुगा लागाएर भए पनि आफ्ना सन्तानको सँधै खुशी चाहने निर्दोष बाबुआमाको खुशी खोसिने काम कहिलै नगर्न र पैसाका लागि परिचय नत्याग्न धरमपानीका डिलाघरे काका जस्तै लाखौं काकाहरु पुकार गरिरहेका छन्, आशा र भरोसाका आजको युवा पुस्ताले बाटो नबिराओस् भनेर !

(यस कथामा  उल्लिखित घटना र पात्र नितान्त काल्पनिक हुन कसैसंग मेल खाएमा संयोग मात्र हुने छ)

तपाईको प्रतिक्रिया