काठमाडौं – भूकम्पपछि अवरुद्ध गोरखाको बारपाक पुग्ने सडक विहिवार दिउँसोबाट सुचारु भएको छ ।
नेपाली सेनाको टोलीले कच्ची सडकको ठाँउमा गएको पहिरो हटाएपछि मोटरबाटो सुचारु भएको हो । भैरवी दलका गणपति प्रेम थापाको नेतृत्वमा पहिलो पटक ना१झ १०४४ नम्बरको जीप बारपाक पुगेको हो ।
भैरवी दलका गणपति थापाले आफूहरुले गाडी बारपाक ल्याइपुर्याएर सडक खोलेको जानकारी दिनुभयो । ११ किलो छेवेटार, भालुस्वाँरा बारपाक सडक खण्ड अन्तर्गत भुकम्पले ठाँउमा पहिरो खसेर सडक अवरुद्ध भएको थियो । मुच्चोक देखि सिम्जुङको बालुवा, राङराङमा ठुला/ठुला पहिरो गएका थिए । जिल्ला प्रशासन कार्यालयले पनि बाटो खुलाउन जेसेभी र डोजरहरु प्रयोग गरेको थियो । भूकम्पको कारण खसेको राङरुङको पहिरोमा पुरिएर ३ जनाको मृत्यु समेत भएको थियो ।
बारपाक गाविसकै मान्द्रेमा सडक चिराचिरा परेर भासिएको छ । सडक अवरुद्ध हुदाँ स्थानियबासी आउजाउ गर्न र दैनिक उपभोग्य बस्तुहरु ढुवानी गर्न समस्या भएको थियो ।***