हेटौंडा – थाहा सञ्चार समूहले वैशाख १२ गते भूकम्पमा परी मृत्यु भएका खेल पत्रकार सुमन भोम्जनको परिवारलाई तीनलाख रुपियाँ सहयोग प्रदान गरेको छ ।
समूहका सञ्चालक अरुणराज सुमार्गीले मङ्गलबार भोम्जनको हेटौँडा उपमहानगरपालिका—१० स्थित घरमा पुगेर पिता सुरेन्द्र भोम्जन र आमा बवितालाई उक्त सहयोग प्रदान गर्नुभएको हो ।
भोम्जनले ज्यान गुमाएपनि समाजमा ठूलो योगदान पुरयाएकोले समूहको भूकम्पपीडित सहयोग अभियान अन्तर्गत आर्थिक सहयोग प्रदान गरेको सुमार्गीले बताउनुभयो ।
सहयोग हस्तान्तरणका क्रममा सुमनको निधनलाई सामान्य रूपमा लिन आग्रह गरिए पनि आमा बविताको आँशु थामिएन । उहाँले छोराको स्मरण गर्दै रूँदै भन्नुभयो, “मेरो छोरा खोइ ?”
सुमनको सम्झनामा दीप प्रज्ज्वलन गर्नुका साथै एक मिनेट मौनधारण गरी श्रद्धाञ्जलि अर्पण गरिएको थियो ।
यसअघि गोरखापत्र संस्थानले एकलाखसहित विभिन्न संस्थाले भोम्जन परिवारलाई आर्थिक सहयोग प्रदान गरेका थिए ।
यसैबीच भोम्जनको आत्माको चीरशान्तिको कामना गर्दै पूजापाठ भइरहेको छ । भोम्जन परिवारले धर्म परम्परा अनुसार २१औं दिनसम्म पूजापाठ गरिने र मलामी गएका र आफन्तलाई प्रसाद खुवाइने पिता सुरेन्द्रले जानकारी दिनुभयो ।
३० वर्षीय सुमनको काठमाडौँको महाबौद्धमा डेरा गरी बसेको स्थानमा भूकम्पमा परी मृत्यु भएको थियो ।***