काठमाडौं – शनिबार गएको शक्तिशाली भूकम्पका कारण राजधानी लगायत मुलुकभर उद्दार कार्य जारी रहेको छ । तर ठूला–ठूला बिल्डिङ र भयावह क्षतिका कारण ज्यान गुमाएका शव निकाल्न समस्या भएका कारण राजधानीमा दुर्गन्ध फैलिन थालेको छ । जसबाट माहामारी रोग फैलिने त्रासका कारण राजधानीमा विभिन्न पेशा, व्यवसाय अंगालेर बसेका नागरिकहरु घर फर्किरहेका छन् ।
त्यसरी घर फर्कन चाहने नागरिकहरुका लागि सरकारले राजधानीका विभिन्न क्षेत्रहरुमा निःशुल्क बसको व्यवस्था गरिरहेको छ । सरकार लगायत उच्च माध्यामिक विद्यालय संघ, प्याव्सन र एनप्याब्सनले ५ सयवटा बसको व्यवस्था गरेको हुन् ।
काठमाडौंबाट इटहरी र बुटवलसम्म जानेका लागि बस तीनकुने माइतीघर सडक खण्डबाट छुट्ने र गन्तव्यस्थलसम्म निःशुल्क पुर्याइने प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जनाएको छ ।
यस्तै धौलागिरी अञ्चल यातायात बस व्यवसायी सञ्चालक समिति बागलुङले बुधबार र बिहीबारका लागि निःशुल्क बस चलाउँदैछ । काठमाडौंको गोंगबुमा रहेको ३२ र ४० नम्बरको टिकट काउन्टरमा सम्पर्क गर्न समितिले आग्रह गरेको छ ।
यस्तै गोरखा रामेछाप, कास्की र स्याङजा जानका लागि पनि बुधबार निःशुल्क बसको व्यवस्था मिलाइएको छ । त्यस क्षेत्रमा जानेले बसका लागि ९८५१०२७२९७ मा सम्पर्क गर्न सक्ने यातायात व्यवसायीले बताएका छन् ।
काठमाडौंमा रहेका झापाका बासिन्दालाई लैजान दमक नगरपालिकाले ३५ वटा बस काठमाडौं पठाइएको छ । नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघले कलंकी र बसपार्कमा निःशुल्क बस सेवा लेखिएको व्यानर सहित ५० वटा गाडी सेवाका लागि राखिएको जनाएको छ ।
सरकारले निःशुल्क बसको व्यवस्था गरेपछि यात्रुले केही राहत महसुस गरेका छन् । यसैबीच धेरैजसो चालक भूकम्प प्रभावित जिल्लाका भएकाले अहिले चालकको समस्या भएको महासंघले जनाएको छ ।
महासंघका अनुसार प्रभावित क्षेत्रका चालक गाउँ गएकाले गाडी भएपनि त्यहि अनुसार चालक छैनन् । तर यात्रुलाई सेवा दिनको लागि आवश्यक व्यवस्था मिलाइएको महासंघले जनाएको छ ।***