शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024

नेपाली पत्रकारहरुको साझा र गरिमामय संस्था नेपाल पत्रकार महासंघको २४ औं महाधिवेशनले नयां नेतृत्वको चयन गरेको छ । पत्रकारिताको अध्ययन र व्यवसायिक दुवै हिसाबमा राम्रो छवि बनाएका डा. महेन्द्र बिष्टलाई आगामी तीन वर्ष कार्यकालको नेतृत्व देशभरका सभासद पत्रकारहरुले सुम्पेका छन् । यस पटक उनी एक्लै नभएर चुनावी गठबन्धनको उनका पक्षका अधिकांश पदाधिकारी र सदस्यहरु पनि उनीसंगै निर्वाचित भएका छन् । यस अर्थमा उनलाई आगामी दिनमा काम गर्न सहज हुन सक्ने अनुमान गर्न सकिन्छ । तर यसस“गै सबैलाई अझ प्रष्टसंग भन्नुपर्दा प्रेस युनियन पक्षका पत्रकारहरुलाई समेत सम्मानजनक रुपमा समेटेर महासंघको एकतालाई कायम राख्नु उत्तिकै चुनौतीपूर्ण पनि छ ।यसरी अघि बढ्नुको उनीसंग विकल्प पनि छैन ।

चुनावी प्रक्रियामा पक्ष विपक्ष भए पनि पत्रकारहरुको समग्र एकता कायम हुन सक्दा मात्रै महासंघको अहिलेसम्मको प्रतिष्ठा कायम रहन सक्छ र आगामी दिनमा महासंघको साख अझ बढाउन सकिन्छ । महासंघको प्रमुख नेतृत्वमा पुग्नुअघि डा. बिष्टले सदस्यदेखि महासचिवसम्मको जिम्मेवारी सम्हालिसकेकाले उनलाई उल्लेखित चुनौतीको हेक्का राम्रैसंग हुनुपर्छ । तसर्थ पनि यो कुरामा उनको ध्यान उल्लेख्यरुपमा जानेछ भन्ने विश्वास गर्न सकिन्छ ।
महासंघका चुनौती त धेरै छन् तर यो नेतृत्वले गर्नैपर्ने र गर्न सक्ने कुराहरु के के हुन सूचिकृत गर्नु जरुरी छ । महासंघमा अहिले गैरपत्रकारहरुको ठूलो जमातले सदस्यता लिएर बसेको छ भन्ने बिषय पेचिलो रुपमा उठेको छ । तथ्य केलाउंदा पनि यो बिषय बुझन कठिन छैन । यस पटकको महाधिवेशनमा १६ सय भन्दा बढी त प्रतिनिधिहरु मात्रै थिए । ७ जना साधारण सदस्य बराबर एक जना प्रतिनिधि छानिने आधारमा कम्तिमा पनि महासंघका साधारण सदस्य ११ हजार भन्दा बढी हुने भए । के यतिधेरै पत्रकार छन् ? प्रश्न गम्भीर छ । महासंघ जस्तो संस्थाले यतिधेरै महाधिवेशन प्रतिनिधि चयन गरेर महाधिवेशन गर्नु मात्रै पनि सामान्य कुरा होइन । त्यसकारण यस अधिवेशनलाई विधिसम्मत सम्पन्न गरेर नयां नेतृत्व चुन्ने काम मात्रै पनि निकै कठिन बन्न पुगेको प्रष्ट देखिन्थ्यो । व्यवसायिक संस्था यसरी भिड मात्रै जम्मा गरेर सबल हुन सक्दैन । यो पक्षको व्यवस्थापन गर्दै गुणात्मक विकासमा महासंघको नया“ नेतृत्वले गम्भीरतापूर्वक पहल गर्नु जरुरी छ ।

खासगरी महासंघको संरचनामा सुधार गरी चुस्त दुरुस्त बनाउनुपर्छ । अहिले महासंघको केन्द्रीय समितिमा चयन हुनका लागि हरेक किसिमको जोरजुलुम हुने गरेको छ । व्यवसायिक संस्थामा जातीय क्षेत्रीय लगायतका आरक्षणले प्रवेश पाइसकेको छ । महासंघको महाधिवेशनमा पत्रकारिताका विषयमा कुनै छलफल वा व्यवसायिक कार्यपत्र प्रस्तुत गर्ने वा सिक्ने सिकाउने कुनै काम हुने वातावरण नै छैन । महाधिवेशनमा सहभागी भैरहंदा महासंघ आगामी दिनमा कता जानुपर्छ र के गर्नुपर्छ भन्ने विषयमा अग्रजहरुको कुरा सुन्ने र गम्भीरतापूवक छलफल गर्ने वातावरणको अपेक्षा गर्नु त अहिलेका लागि टाढाकै विषय भैसकेको प्रतीत हुन्छ ।
पेशागत सुरक्षा र हकहितका बिषयमा महासंघ एक ढिक्का नभएसम्म केही हुन सक्दैन । महासंघले ति कुराहरु प्राप्तिका लागि राजनीतिक दलहरुबाट निर्मित सरकारसंग लड्नुपर्ने हुन्छ । तर अहिले महासंघमा पुग्न नै तिनै राजनीतिक दलका कार्यकर्ता नभई नहुने भएको छ । नेपालमा कार्यकर्ताले नेताहरुसंग लड्ने हैसियत राख्छन् कि राख्दैनन् भनिरहनु नपर्ला । अर्को तिर महासंघको भवन बनाउन सरकारलाई गुहार्नुपर्ने, पत्रपत्रिकामा विज्ञापन सहुलियत चाहियो सरकार नै गुहार्नुपर्ने अनि अधिवेशन-महाधिवेशन गर्नुपर्दा पनि सरकारलाई नै गुहार्नुपर्ने अवस्थामा श्रमजीवी पत्रकारका हक हित लगायतका विषयमा महासंघले कुन हैसियतमा आफ़्नो अडान खुट्टा नकमाई राख्नसक्छ र आफ़्ना मागहरु लागू गराउन सक्छ भन्ने त्यतिकै गहन प्रश्न छ ।

महासंघले शाखा विस्तारको क्रमलाई विदेशसम्म पनि पुर्‍याएको छ । ति वैदेशिक शाखाहरुलाई विधानमा प्रष्टसंग समेटर नियमन गर्नुपर्ने शाखाको मान्यता दिइसकेपछि देशभित्रका अन्य शाखा र सदस्यलाई दिएसरहका हैसियत दिनुपर्ने हुन्छ । अहिलेसम्म त्यसो हुन सकिरहेको छैन । कि त विदेशमा भएका नेपाली पत्रकारहरुलाई समेट्न अरु नै विकल्पको खोजी गर्नुपर्ने हुन्छ । यी र यस्तै अन्य पत्रकार र पत्रकारिताको व्यवसायिक हितसंग सम्बन्धित विषयमा र महासंघको संस्थागत सुधारमा नवनिर्वाचित कार्यसमितिले ध्यान दिनैपर्ने हुन्छ । डा. बिष्टको नेतृत्वमा नवनिर्वाचित महासंघको सिंगो कार्यसमिति महासंघका आगामी चुनौतीहरुको सामना गर्न सक्षम रहोस् भन्दै हामी हार्दिक बधाइ र शुभकामना व्यक्त गर्दछौं । ***

तपाईको प्रतिक्रिया