सोमबार, जेठ १४, २०८१
Monday, May 27, 2024

कांग्रेससँगको गठबन्धन भत्किएर एमाले नेतृत्वमा फेरि सत्ता गठबन्धन बन्छ भन्ने कुरा धेरैलाई पत्यार लागेको थिएन । तर एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डबीचको सघन संवाद र गृहकार्यले धेरैलाई आश्चर्यचकित बनायो । अप्रत्याशित सत्ता समीकरण बदलिए पनि नागरिकका समस्या, देशको आर्थिक अवस्था र ‘समृद्ध नेपाल सुखी नेपाली’को सपना पूरा गर्न वर्तमान गठबन्धन सरकारसामु चुनौती छ । प्रतिपक्षले केही मन्त्रीको विषयलाई लिएर खरो आलोचना गरिरहेको बेला ती चुनौतीको सामना गर्ने सामथ्र्य गठबन्धनले राख्ला ? यि प्रश्नहरुबीच राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी नेपालको राजनीति फोहोरी खेलमा फस्दै गएको टिप्पणी गर्छन् । सत्ताको गोलचक्करमा अल्झिएको राजनीति अब कहाँ पुग्ला ? यिनै विषयमा केन्द्रीत रहेर अध्यक्ष केसीसँग समुद्रपारिका लागि नृप रावलले गरेको कुराकानीको सम्पादित अंश :-

वर्तमान राजनीतिक घटनाक्रममाथि राष्ट्रिय जनमोर्चाको टिप्पणी ?
राजनीति सबै नीतिको माउ नीति हो । तर प्रायजसो सबैले कमाउने नीति र पैसा जम्मा गर्ने नीतिको रूपमा व्याख्या गर्दै राजनीतिलाई फोहोरी खेल बनाए । राजनीति नगर्नेहरूले भन्छन् नि, ‘डर्टी गेम’ । सबैभन्दा असल ‘गेम’ त राजनीति नै हो । तर त्यसलाई राजनीति गर्नेले सत्ता र शक्तिको दुरुपयोग गरेर बदनाम गरे । त्यसैले गर्दा अहिलेको राजनीतिक घटनाक्रम राम्रो छैन ।

पुरानो गठबन्धन किन भत्कियो, नयाँ किन बन्यो त ?
पुरानो गठबन्धनले भ्रष्टाचारका फाइल अलि बढी खोल्यो । त्यसले गर्दा गठबन्धनमै सामेल भएकाहरू र तत्कालीन प्रतिपक्षीको पनि पोल खुल्ने भयो । यस्तो हुँदा सत्ता र प्रतिपक्ष सबैतिर प्रहार हुने भएको हुनाले पुरानो गठबन्धन भत्कियो र नयाँ बन्यो । यो भनेको ती फाइलहरूबाट केही दिनलाई जोगिन खोजिएको हो । अब आयोग सायोग बनाएर चोख्याउने कुरा त नेपाली राजनीतिमा भई नै रहन्छन् । निरन्तर प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र र देशभक्तिको नाउँमा पैसाको खेती गरिरहेकालाई त अहिले अलि बिझायो । त्यही भएर पुरानो गठबन्धन भत्काउनै पर्ने भयो र भत्काए ।

गठबन्धन भत्काउँदा जुन तर्क गरिएको छ, यसमा दम छ कि, भडास मात्रै हो ?
भडास मात्रै हो । प्रतिपक्षीले जुन कुरा उठाएको थियो, त्यो कति जायज थियो र ? २०७४ सालमा राष्ट्रिय जनमोर्चालाई नै यो गठबन्धन भित्रबाट धेरै फकाइफुल्याई गरिएको थियो । २००७ सालपछि, कमसेकम देशको राष्ट्रियताको पक्षमा वामपन्थीहरू नै बढी अग्रपंक्तिमा लडिराख्या छन् भन्ने मान्यता र ब्यहोरा थियो । नेपाली जनतामा पनि वामपन्थीहरूप्रति अलि बढी विश्वास थियो । उनीहरूमा सैद्धान्तिक स्तर, आचरण र चरित्र पनि थियो । तर अहिले त्यसमा असाध्यै स्खलन आयो । अहिले त वामपन्थी को हो भनेर छुट्ट्याउन पनि सकिन्न । वामपन्थीको निश्चित सिद्धान्त र त्याग तपस्याको भावना हुन्छ भनिन्थ्यो तर, अहिले त्यो केही पनि देखिएन ।

अमेरिका र चीनबीच विश्व व्यापार प्रतिस्पर्धामा द्वन्द्व चलिरहेको छ । कतै नेपाललाई युक्रेन बनाउने त होइन भन्ने पनि मलाई चिन्ता लाग्छ । पहिला दक्षिणबाट मात्रै बढीभन्दा बढी हस्तक्षेप गर्ने भएकाले हामीलाई त्यसको मात्रै पीडा थियो । अब दक्षिणको भारतमात्रै छैन, उत्तरको चीन र अमेरिका पनि नेपालको विषयमा आएका छन् । वास्तवमा नेपाल शक्ति राष्ट्रहरूको क्रीडास्थल बन्ने खतरामा छ ।

तपाईंले नयाँ गठबन्धनलाई विश्वासको मत दिनुभएन, बालकोटप्रति खरो टिप्पणी गर्नुभयो नि !
पोहोर साल नै मैले संसद्मा भनेको थिए, ‘संसदीय प्रणालीमा खेल्ने भनेको त सत्तामा जाने र पैसा मात्रै कमाउने त्यसपछि फेरि पाँच वर्षपछि पैसा लगेर उडाएर फेरि संसद् र सरकारमा आउने त होनि नेपाली प्रवृत्ति’ भनेर । मैले भनेको कुरा के हो भन्नुहुन्छ भने गत वर्षको पुस २६ गते विश्वासको मत लिनेबेलामा संसद्भित्र रहेका सबैले प्रधानमन्त्री प्रचण्डको समर्थन गर्न गएको कुरा त आश्चर्यजनक नै थियो नि ! त्यतिबेला ममात्रै प्रतिपक्षी थिए । नेमकिपा पार्टी त बालकोटको गतिविधिमा सधैँ मौन समर्थन गर्छ । मैले त मत पाउनेभन्दा पनि मत दिनेहरूको स्तरलाई व्यंग्य गरेको हो ।

राजनीतिक भ्रष्टाचार बढ्यो भन्नेहरु पनि छन् नि ! लामो समयसम्म राजनीतिमा सक्रिय रहँदा के पाउनुभयो ?
त्यो एकातिर छ । तर राजनीति गर्ने भनेको राष्ट्र र जनताको लागि आफूले दुःख पाएर पनि गर्नुपर्छ भन्ने हो नि ! यहाँ त यो संसदीय व्यवस्थाभित्र ठूलो रकम आर्जन नगरिकन र पैसा लगेर नउडाइकन चुनाव जित्न नसकिने जनता र मतदाताको स्तर पनि त्यस्तै छ । दक्षिण एसियाका देशहरूमा प्रायः पैसा खर्च गरेर चुनाव जितेर आउने प्रचलन जस्तै छ । जसरी पनि चुनाव जित्ने अनि सत्ता र शक्तिमा बस्ने, सांसद भएर मात्रै बस्न प¥यो भन्दा पनि मान्दैनन् । उनीहरूलाई मालदार मन्त्रालयको मन्त्री हुनै प-यो । छिट्टै चुनावमा गरेको खर्च चाँडै उठाउनु प-यो । मैले त त्यो भोगे देखेको छु । म ९ महिना सहकारी मन्त्री भएपछि बुझेँ नि कसरी त्यहाँ महत्वपूर्ण ठाउँमा बसेकै व्यक्तिले सहकारी लुट्दा रहेछन् भन्ने कुरा । त्यो राजनीतिक संरक्षण नभइकन सांसदहरूले सहकारी चलाउन मिल्दैन । यसैगरी प्रशासनमा बसेर भ्रष्टाचार गरेर निस्किएको मान्छेले पनि सहकारी चलाइरहेका छन् । सहकारीको सिद्धान्त र नीतिविपरीत चलिरहेका छन् । सहकारी भनेको ठग्नका लागि बनाइएको जस्तो देखियो । सरकारकै मान्छेको संरक्षणमा उनकै मान्छेहरूले अहिले पनि सहकारीमार्फत ठगी रहेका छन् ।गठबन्धनमा कम्युनिस्ट एकताको कुरा गरेका छन्, स्थिरताको कुरा पनि छ । त्यसलाई नपत्याउने ?
तपाईंलाई पत्याउने अधिकार छ । मैले पनि त्यही पत्याएर २०७४ मा उहाँहरूको गठबन्धनमा गएको । कम्युनिस्ट नभए पनि कमसेकम अरु बुर्जुवा पार्टीको तुलनामा यिनीहरू देशभक्त र जनतान्त्रिक शक्ति हुन् भनेर नै गएको हुँ । आफूले समर्थन गरेको सरकार भत्काउन मैले गण्डकी प्रदेश सांसदलाई कारबाही गर्नुप-यो । अरू पार्टीहरू भएको भए गर्ने थिएनन् । आफ्नो पार्टीभित्र अल्पमतमा परिसकेपछि संसद्मा विश्वासको मत लिन जान पनि नपर्ने, पशुपतिमा सुन किनेर जलहरी चढाउने अनि त्यसमा आफ्नो नाउँ लेख्न लगाउने, दुईदुई पटक संसद् विघटन गरेपछि सर्वोच्चले बेठिक भयो भनिसकेपछि फेरि संसद् चल्न नदिएको दुर्दशा देखेर बनेको गठबन्धन हो नि त्यो त । कसैका रिसले त होइन । सयौं वर्ष लडेर ल्याएको लोकतन्त्र र गणतन्त्र सिध्याउन भएपछि त आफूले समर्थन गरेको र आफूले मत दिएको गण्डकी प्रदेशमा हाम्रै सांसदले आनेकाने गरे । अनि मेरै विरुद्धमा प्रचारबाजी गरेर बागलुङका जनताको भावना चित्रबहादुरले बुझेन भनेर । मैले त सधंै एमालेको गठबन्धनलाई साथ दिइरहनु पर्ने, अनि लोकतन्त्र मास्नका लागि उनीहरू लाग्दा पनि समर्थन गर्नुपर्ने भनेपछि गण्डकी प्रदेशमा जनमोर्चाका सांसदलाई कारबाही गरियो । यसमा जनतालाई भ्रममा पनि पारिएको थियो । जनताले एमालेको ठाउँमा कांग्रेसलाई राख्दा कम्युनिस्ट विरोधी भनेर मेरै विरुद्धमा प्रचार गरे ।

राजनीति गर्ने भनेको राष्ट्र र जनताको लागि आफूले दुःख पाएर पनि गर्नुपर्छ भन्ने हो नि ! यहाँ त यो संसदीय व्यवस्थाभित्र ठूलो रकम आर्जन नगरिकन र पैसा लगेर नउडाइकन चुनाव जित्न नसकिने जनता र मतदाताको स्तर पनि त्यस्तै छ ।

उसो भए अहिलेको नयाँ गठबन्धनबाट आशा गर्ने ठाउँ छैन ?
विभिन्न काण्डमा परेका र बदमासी गरेकाहरूलाई जनताले कसरी मतदान गर्छन् त्यताबाट पनि हेर्नुपर्छ । किनभने उनीहरूलाई चुन्ने त जनता हुन् । यसमा अब जनतालाई पनि जिम्मेवार देख्छु म । कसैको इतिहास के हो, चरित्र के छ र के गरिराख्या छ भन्दा पनि उसले गएर चुनावमा कति खर्च गर्न सक्छ, जनतालाई झुक्याउने दलालहरूलाई कति खेलाउन सक्छ, त्यसका आधारमा चुनिएर आउने हो, मैले त त्यो पनि देखि राख्या छु । राम्रो गरे समर्थन गर्ने हो, नराम्रो गरे विरोध गर्ने हो ।

अब कांग्रेसले बनाउने गठबन्धनमा तपाईं सामेल हुने हो कि, त्यतिबेला पर्ख र हेर हो ?
त्यो प्रश्न नगर्नुस् अहिले । कसरी जान्छन् एमाले माओवादीहरू । कांग्रेसलाई पनि मैले चिन्या छु, बुझ्या छु । अहिले कांग्रेसको पनि र अरु वामपन्थीहरूको पनि आवश्यकता छ । जसले लोकतन्त्र र गणतन्त्रको लागि लामो समयदेखि लडे त्यो लोकतन्त्र र गणतन्त्रलाई संस्थागत गर्नका लागि जुन खालको चरित्र हुनुपर्ने थियो त्योबाट यिनीहरू चुके । जो लोकतन्त्र र गणतन्त्रको लागि लड्यो, जेल नेल भोगेर आएकाहरू अहिले जनताका अगाडि बदनाम, जो एक्कासि आएका र जनतालाई भ्रममा पारेर चुनाव जितेकाहरू अहिले हिरो हुन लागेका छन् । त्यसैले अहिले पनि पुराना दलहरू सच्चिनुपर्छ । लोकतन्त्र र गणतन्त्रमाथि चारैतिरबाट हमला भइराख्या छ । यसलाई जोगाउनु पर्छ र योभन्दा उन्नत लोकतन्त्र र जनवादी गणतन्त्रतर्फ जानुपर्छ ।

अन्त्यमा पछिल्लो राजनीतिक घटनाक्रम हुनुमा उत्तर दक्षिण कसको ‘ग्राइन्ड डिजाइन’ हो ?
अहिले उत्तर दक्षिणमात्रै नभई अमेरिका पनि यो खेलमा सामेल भयो । पहिलापहिला अमेरिका प्रत्यक्षरूपमा आउँदैनथ्यो । एमसीसी ल्याएर संसद्बाट पास गरेपछि अमेरिका पनि जोडिएको छ । अमेरिका र चीनबीच विश्व व्यापार प्रतिस्पर्धामा द्वन्द्व चलिरहेको छ । कतै नेपाललाई युक्रेन बनाउने त होइन भन्ने पनि मलाई चिन्ता लाग्छ । पहिला दक्षिणबाट मात्रै बढीभन्दा बढी हस्तक्षेप गर्ने भएकाले हामीलाई त्यसको मात्रै पीडा थियो । अब दक्षिणको भारतमात्रै छैन, उत्तरको चीन र अमेरिका पनि नेपालको विषयमा आएका छन् । वास्तवमा नेपाल शक्ति राष्ट्रहरूको क्रीडास्थल बन्ने खतरामा छ ।

तपाईको प्रतिक्रिया