आइतबार, बैशाख १६, २०८१
Sunday, April 28, 2024

नेपाली नयाँ वर्ष २०७१ को आगमनसंगै जापानको नेपाली समाजमा थुप्रै कार्यक्रमहरु सम्पन्न भएका छन् । नयाँ वर्षको स्वागत गर्न हतारो गर्ने हाम्रो पुरानै नेपालीशैली हो । नयाँ वर्षको स्वागत गर्न हामी जति हतारो गर्छौ त्यतिकै गएको वर्षको समीक्षा गर्न महत्व दिईनुपर्ने हो, तर त्यसो हुन सकिरहेको छैन । त्यसो नहुँदा उनै गल्तीहरु पुनराबृत्ति हुने रोगले हाम्रो समाजलाई गाँजेको छ ।

मानिसबाट त्रुटी हुनु स्वभाविक प्रक्रिया हो र भनिन्छ, गल्ती नगर्ने मानिस हुनै सक्दैन तर गल्ती दोहोर्‍याउने पनि मानिस हुन सक्दैन । अघिल्ला वर्षमा हामीले गरेका उन्नती-प्रगतिका कथा र जानअन्जानमा भएका त्रुटीहरुको वर्षान्तमा सबै मिलेर गम्भीर समीक्षा गरिनुपर्ने हो । जसले गर्दा बिगतबाट पाठ सिक्दै अगाडिका मार्गमा उन्नत र सार्थक कदम चाल्न सकियोस् र गल्ती दोहोरिन नपाओस् ।

तर यसपाली नयाँ वर्षको सुरुवातीसंगै यहाँका नेपाली समुदायका जिम्मेवार संघसंस्थाहरुले एकैदिन आपसमा कार्यक्रम जुधाएर आपसमा पर्याप्त सम्बाद हुन नसकेको गम्भीर कमजोरी सतहमा छरपष्ट पोखियो । कुनै पनि संस्थाका लागि अधिवेशन आफैमा अत्यन्त महत्वपूर्ण सभा मानिन्छ । कार्यकालभरिको समीक्षा, आगामी कार्यकालका लागि कार्ययोजना एवं दस्तावेजहरु पारितलगायतका महत्वपूर्ण कार्यसम्पादन अधिवेशनले टुंग्याउनुपर्ने हुन्छ । त्यसका लागि तयारी गर्न त्यतिकै समय र जनशक्ति खर्चिएको हुन्छ । तर ‘अघिपछि अन्त चैतमा जन्त’ भनिएझै एकैदिन एउटै सहरमा झण्डै आधा दर्जन कार्यक्रम तय गरिनु कुनै पनि हालतमा शोभनीय मान्न सकिन्न, र यसले नेपाली एकता र सौहार्द्रताको सन्देश कदापि दिन सक्दैन । कमजोरी जुनसुकै पक्षबाट हुन गएको भए पनि यसबारेमा समाजका अगुवाहरु गम्भीर भएर छलफलमा जुट्नु जरुरी छ । अन्यथा यस्ता प्रबृत्तिले फेरि प्रश्रय नपाऊलान् भन्न सकिन्न ।

समाजलाई सहि दिशा निर्देश गर्न र समाज उत्थानकै लागि बनेका संघसंस्थाहरुबिच आपसी तालमेल र सहकार्य हुनु आवश्यक छ । एक्लाएक्लै र बेग्लाबेग्लै यात्रा तय गरेर गन्तब्य पहिल्याउन सकिदैन र कहिं पनि पुगिदैन । त्यसैले अबको नयाँ सन्दर्भमा संघसंस्थाका अगुवाहरु छलफलमा जुट्न ढिला गर्नुहुदैन । साझा कार्यतालिका निर्माण गरेर वार्षिक क्यालेण्डर तयार गर्न अब आवश्यक भईसकेको छ । आपसी एकताबिना राष्ट्रिय मुद्दाहरु र मुलधारका साझा एजेण्डा एकल सँस्थाले मात्र बोक्न र हाँक्न संभव छैन । यसको ज्वलन्त उदाहरण जापानमा नेपाल चिनाउने नेपाल फेष्टिबलको बिषयमा नेपाली समुदाय एकठाउँमा उभिन सकिरहेको छैन ।

यसैगरी पछिल्ला समयमा नेपालबाट कलाकार ल्याएर आकस्मिक कार्यक्रम तय गर्ने प्रबृत्ति पनि बढ्दो छ । कुनै निश्चित उद्देश्य प्राप्तीका लागि यस्ता कार्यक्रम गरिनु आफैमा राम्रो मानिए पनि बिसौं-तिसौं वर्षदेखि यहाँको नेपाली समुदायमा बिद्यमान सहिष्णुता र सौहार्द्रतालाई पनि उत्तिकै ध्यान दिन जरुरी छ । आपसी संवाद र सहकार्य यस्तो बेलामा अझ बढि आवश्यक पर्दछ । अर्कोतिर नेपालका चर्चाका शिखरमा रहेका भनिएका कलाकारहरु पनि बिदेश भनेपछि आफ़्नो हैसियत र औकातलाई ख्यालै नगरी जतिबेला पनि, जति पटक पनि र जसले बोलाए पनि उडिहाल्ने प्रबृत्ति पनि त्यति राम्रो मान्न सकिदैन । यस दिशामा पनि सुधार हुनु जरुरी छ ।

नेपाली समाजको एकता चाहे स्वदेशमा होस् या बिदेशमा अपरिहार्य छ । नयाँ वर्षको नयाँ आँगनीमा नेपाली एकता र शुभकार्यका बिस्कुन मनग्गे फिजाउन सकियोस्, हाम्रा कमीकमजोरीहरु दोहोरिन नदिन र एकले अर्काको सम्मान गर्दै अगाडि बढ्न हामी सबैलाई नयाँ वर्ष २०७१ सार्थक वर्ष साबित हुन सकोस् हार्दिक मंगलमय शुभकामना ।  ***

तपाईको प्रतिक्रिया