आइतबार, बैशाख १६, २०८१
Sunday, April 28, 2024

नेपालका राजनीतिक दल र तिनका नेतागणलाई सत्ता पद र प्रतिष्ठा बाहेकमा कुनै रुचि देखिदैंन । ठाउ“मा नपुगुञ्जेल यो गर्छु त्यो गर्छु भने पनि अलिकति अवसर पाए पछि सबैकुरा विर्सने सत्ताकै छिनाझम्टीमा रुमलिरहने सँस्कारको अन्त्य हुन सकेन । अहिले दोस्रो संविधान सभाको निर्वाचन पछि तीन महिना वितिसकेको छ तर सरकारले पूर्णता पाउन सकेको छैन । मिलेर संविधान बनाउन पर्ने दलहरु मन्त्रालयको भागबण्डामा सहमति गर्न नसकेर दुनिया हंसाइरहेका छन् ।

मुलतः नेपालको वर्तमान राजनीतिमा जनमतका हिसावले पहिलो र दोस्रो स्थानमा रहेका नेपाली काँग्रेस र नेकपा एमाले सत्ता राजनीतिको चक्करमा फन्फन्ती घुमेर देश दुनियालाई रमिता देखाइरहेका छन् । अपारदर्शी शैलीका वार्ताहरुमा भएका सहमति अहिले बिवादका विषय बनेका छन् र ती दुवै दलका नेताहरुले परस्पर विरोधी वयानबाजी गरेर भ्रमपूर्ण वातारण सिर्जना गरी जनताको नजरमा आफ़्नो कद घटाइरहेका छन् । विश्वाशको संकटले ती दुवै दलका नेताहरुलाई नराम्रोसंग गा“जिरहेको देखिन्छ भने मुलुकलाई जनअपेक्षा अनुकूलको मेलमिलाप र सहकार्यको बाटोमा अगाडि बढाउंदै संविधान निर्माणको दायित्व यस्तो गतिविधिबाट पूरा नहुने आशंका खडा गरेको छ । संविधानसभा-२ को निर्वाचन परिणामले संविधान निर्माणका लागि काँग्रेस र एमाले मिलेर जानुपर्ने र सरकार पनि मिलेरै चलाउनुपर्ने प्रष्ट जनादेश दिएको हो । तर वर्षौदेखि सत्ताको खेलमा मात्रै अल्झिने, एकले अर्काको खोटमात्रै देखाउने र देश र जनताप्रतिको बफादारिता नदेखाउने सँस्कृतिको विकासमा रमाउंदै आएको पृष्ठभूमिले गर्दा उनीहरुमा जनचाहना र परिवर्तित समयको चेत सम्म पलाउन नसकेको आभास भैरहेको छ । सहकार्यको सँस्कार बसाउनुभन्दा पनि सत्ताको भागबण्डामा खिचलो गर्ने प्रवृत्तिको प्रदर्शनले मुलुक निरन्तर पछाडि परिरहेको छ ।

चार महिना अगाडि सम्पन्न निर्वाचनले नेपाली काँग्रेस र नेकपा एमालेलाई विकल्पहीन विकल्पकारुपमा राजनीतिक व्यवस्थापनका लागि जिम्मेवारी सुम्पिएको हो । तर सत्ताको भागबण्डाका लागि जुन हदसम्म पनि तल ओर्लन तयार हुने चरित्र त्याग्न भने दुवै दलका नेता तयार हुन सकेनन् भन्ने अहिले देखिदैं छ । २०४८-२०६३ सम्मको संसदीय कालमा व्यवस्था र सरकार सञ्चालनमा यी दुइ दलका नेताहरु असफल भएकै कारण मुलुक नयां राजनीतिक बाटोतिर आकर्षित भएको कुरामा कुनै विमति छैन । आमूल परिवर्तनको नया“ दिशामा एनेकपा माओवादी नयां शक्तिको रुपमा उदय भयो तर उसले पनि राजनीतिक व्यवस्थापनमा कुनै दक्षता देखाउन सकेन । घुमिफिरी रुम्जाटार भने झैं पुनः काँग्रेस एमालेको हातमा नया“ अवसर त आयो तर त्यो अवसर पनि अब सत्ताकै भागबण्डाको र कलहको शिकार बनेर विना उपलब्धि सकिने हो कि भन्ने चिन्ता र्सवत्र बढ्न थालेको छ । नेताहरुमा आ-आफ़्नो डम्फू बजाउने बाहेको जनचाहनाको कुनै चासो देखिदैन । सरकार गठनको पहिलो गांसमा ढुंगा लागेको अहिलेको अवस्थाले संविधानसभा-१ को ऐतिहासिक अवसरलाई माओवादी, काँग्रेस र एमालेका नेताहरुले रिसोर्ट-रिसोर्टका गोप्य कोठामा अपारदर्शी छलफल गर्दै जसरी तुहाएका थिए त्यसरी नै यो दोस्रो अवसर पनि तुहिने खतरा बढेर गएको संकेत गरेको छ ।

सत्ताको झगडा नेपालको नियति बनिरहेको छ । यो अवस्थाको पुनराबृत्ति हुन नदिन नेताहरु अग्रसर हुन र समयमै संविधान निर्माण गर्ने कुराको प्रत्याभूति दिन जरुरी छ । अव पनि अमूर्त कुरा मात्रै गरेर एक वर्षभत्र संविधान दिने सुगारटाइको कुनै अर्थ छैन । त्यो एक वर्ष कहिले देखि सुरु हुने हो कसैलाई पत्तो छैन । संविधान सभाका प्रमुख दलहरुले स्पष्ट खाकाका साथ जनतालाई आश्वस्त पार्दै सत्ताका झगडामा मात्रै सीमित नभएर संविधान निर्माणको राजमार्गमा प्रवेश गरुन् । हाम्रो यही आग्रह छ । ***

 

तपाईको प्रतिक्रिया