दुबई – गएको १ जनवरी बुधबारका दिन दुबईको एभरेष्ट होटलमा युर्एइस्थित कार्यरत नेपालीहरुले अग्रेजी नयाँ बर्ष २०१४ लाई विविध रंगारंग साँस्कृतिक कार्यक्रमको माहौलमा शुभकामना आदानप्रदानका साथ मनाएका छन् । सो कार्यक्रम नेपाल पत्रकार महासंघ युएइ शाखाले नयां बर्षको अवसरमा आयोजना गरेको हो ।
उक्त कार्यक्रमको प्रमुख अतिथिमा एनआरएन मध्य पूर्व संयोजक चन्द्र रोका रहनुभएको थियो भने कार्यक्रमको अध्यक्षता नेपाल पत्रकार महासंघ युएइ शाखाका अध्यक्ष अर्जुन दाहालले गर्नुभएको थियो । अन्य अतिथिहरुमा विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, स्थानीय कलाकारहरु, समाजसेवी, महिला र पत्रकारहरु रहेका थिए ।
दुई चरणमा विभाजित गरिएको कार्यक्रमलाई औपचारिक कार्यक्रम पत्रकार त्रिलोचन कोइरालाले सञ्चालन गर्नुभएको थियो भने साँस्कृतिक कार्यक्रमलाई पत्रकार निमेष गिरीले सञ्चालन गर्नुभएको थियो । अध्यक्ष अर्जुन दाहालको शुभकामनाबाट थालनी भए लगत्तै प्रमुख अतिथिबाट ब्यानरको उदघाटन पश्चात शुभकामना मन्तव्य कार्यक्रम संयोजक एकेन्द्र थापाले राख्नुभएको थियो ।
साहित्यकार समदर्शी काइलाको कविता “आदिम गुफाबाट एकाबिहानै निस्किएर, अलिकतिमाथि देउरालीसम्म पुगेर,” बाचन लगत्तै “म त आउने थिएन, यहि चाल होला भन्या भए” प्रकाश न्यौपानेले गाएको गीतले हललाई तताउन सुरु गरेको थियो । हल तातेको मौकामा रमेश खड्काको हाँस्य नृत्यले सम्पूर्ण दर्शकलाई हाँस्दै लोटपोट हुन बाध्य तुल्याएको थियो । “डाडै फुर्के सल्लो” र “जिम्बाल बाको आगनमा सत्य नारायण पूजा भाको” गोपी कृष्ण पंगेनीको गीतमा सबै नाच्न थालेका थिए भने स्थानीय चर्चित कलाकार दीपक तमुको “फुल मञ्जरीले” गीतमा गरेको नृत्यलाई सबैले मन पराए । “छाएछ बसन्त” रेखा घिमिरेले गाएको गीत पनि निक्कै सार्न्दभिक लाग्दथ्यो ।
विविध साँस्कृतिक प्रस्तुतिका साथै कविता बाचनले पनि कार्यक्रमलाई सुनमा सुगन्ध थपिदिएको थियो । कविता बाचन गर्ने साहित्यकारहरुमा समदर्शी काइला, बुनु उप्रेती, ब्रि्रोही साइला र उमेश राई रहेका थिए ।
सो अवसरमा चर्चित गायिका रेखा घिमिरेको “खुशी” एल्वम दुबईमा छायांकन गरिएको म्युजिक भिडियोको विमोचन गरिएको थियो । नेपालबाट आएका एशिया कप क्रिकेट टिमलाई एनआरएनए युएइ र नेपाल पत्रकार महासंघ यएई शाखाले संयुक्त रुपमा खादा ओढाएर सम्मान समेत गरेका थिए ।
नयाँ बर्ष २०१४ को पावन अवसरमा शुभकामना मन्तव्य राख्ने वक्ताहरुमा अर्जुन दाहाल, चन्द्र रोका, ज्ञानेन्द्र कार्की, कृष्ण भुसाल, डिआर गुरुङ, यामलाल पंगेनी, हेमन्त पौडेल, डियल शर्मा, राज बस्नेत, राजु खड्का, दीपकराज पौडेल, पिताम्बर पाण्डे र बाबुराम बिक रहेका थिए । ***