शनिबार, जेठ ०५, २०८१
Saturday, May 18, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विदेशीहरूको दबाबमा सत्ता समीकरण परिवर्तन गर्दै हिँडेको आरोप लगाएका छन् ।

आइतबार पार्टीनिकट महिला संगठन राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनले काठमाडौंमा आयोजना गरेको महिला भेलालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले प्रधानमन्त्री प्रचण्डको प्राथमिकता सत्ता मात्रै रहेको बताएका हुन् । सत्तामा जाने, देश लुट्ने र विगतमा आफूले लुटेका कारण हुने कारबाहीबाट जोगिने काम मात्रै ठूलो दलहरूले गरिरहेको उनको भनाइ थियो ।

अध्यक्ष लिङ्देनले देशलाई लुटाहाबाट मुक्त गराउन आफ्नो पार्टीले मात्रै इमानदार भएर पहल गरिरहेको दाबी गरे । उनले मुलुकले लुटाहातन्त्रलाई धान्न नसक्ने भन्दै त्यसबाट मुक्ति दिलाउने काममा लाग्न पनि पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिए । अध्यक्ष लिङ्देनले आफूहरूले गत निर्वाचनअघि नै नेपालको सरकार बनाउने निर्णय नेपाली जनताको हातमा हुनुपर्छ भन्ने एजेण्डा बोकेको र त्यसलाई कार्यान्वयनमा लैजान प्रयासरत रहेको बताए ।

तपाईको प्रतिक्रिया