मंगलबार, जेठ ०८, २०८१
Tuesday, May 21, 2024

काठमाडौं – इरानको सुरक्षा बलमा काम गर्ने तीन व्यक्तिले एक किशोरीलाई यौन उत्पीडनपछि हत्या गरेको खुलासा भएको छ । सुरक्षाकर्मीले नै लेखेको एउटा दस्ताबेज लिक भएपछि यो घटना बाहिर आएको हो ।

घटनाअनुसार २०२२मा इरानमा भएको एक प्रदर्शनको क्रममा १६ वर्षकी किशोरी निका शकरमानी अचानक गायब भएकी थिइन् । उनलाई के भयो भन्ने कसैलाई थाहा थिएन । उनको शव नौ दिनपछि फेला परेको थियो । इरान सरकारले त्यतिबेला किशोरीले आत्महत्या गरेको दाबी गरेको थियो ।

बीबीसीले यसबारे इरान सरकार र रिभोलुस्नरी गार्डसमक्ष कुरा राख्दा कुनै जवाफ मिलेको थिएन । तर, पछि फेला परेको एउटा रिपोर्टबाट उनलाई सुरक्षाकर्मीले नै यौन दुर्व्यवहार गरी हत्या गरेको खुलेको हो । रिपोर्टमा अत्यन्त गोपनीय भनेर ‘मार्क’ गरिएको छ ।

यो रिपोर्ट इस्लामिक रिभोलुस्नरी गार्ड कोर (आईआजीसी)का तर्फबाट गरिएको सुनुवाइको सारांश हो । यसमा उनको हत्यारा र वास्तविकता ढाकछोप गर्ने बरिष्ठ अधिकारीको नाम पनि संलग्न छ । निकालाई एक गोप्य भ्यानमा राखेर लगिएको थियो ।

त्यसपछि एक व्यक्तिले उनीमाथि यौन शोषण गरेका थिए । हातमा हतकडी भए पनि निकाले त्यसको विरोध गरिन् । हात खुट्टा चलाएर उनले आफ्नो प्रतिरक्षाको प्रयास गरिन् । तर उनलाई लाठीले हिर्काइयो । महिनौं लगाएर यसको अनुसन्धान गर्दा निका बारेमा के भएको भन्ने खुलासा भएको हो ।

तपाईको प्रतिक्रिया