शनिबार, जेठ ०५, २०८१
Saturday, May 18, 2024

काठमाडौं – इरानमा माछाको वर्षा भएको छ । इरानका सडकमा आकाशबाट माछाको वर्षा भइरहेको भिडियोमा सार्वजनिक भएको हो ।

ती माछा जिउँदै जमिनसम्म आइपुगेका छन् । माछाको वर्षा भएपछि मानिसहरू सडकमा निस्किएका थिए । त्यसलाई ‘एनिमल रेन’ भन्ने गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । यस्ता घटना पहिलेदेखि भइरहेको पनि बताइएकाे छ ।

किन हुन्छ माछाको वर्षा ?
संसारका कैयौँ देशमा जलीय जीवहरूको वर्षा देखिएका छन् । अमेरिका, जापान, भारत आदि देशमा बेलाबेला माछाको वर्षा भएको थियो ।

केही समयअघि थाइल्यान्ड र सन् २०१५ को जुन महिनामा भारतको विजयवाडामा माछा र भ्यागुताको वर्षा देखिएको थियो । भयभीत मानिसहरूले यसलाई ईश्वरको सजाय भने । केहीले त यसलाई प्रलयको संकेत पनि माने । थाइल्यान्डमा यस्तो वर्षा वर्षमा सय पटकभन्दा बढी हुने बताइन्छ । कति पटक त गोही पनि यस्तो वर्षामा आकाशबाट जमिनमा झरेको देखिएको छ ।

यो कुनै चमत्कार, प्रलयको संकेत या विज्ञानले हल गर्न नसकेको विषय भने होइन । वैज्ञानिकहरूले यसमाथि विस्तृत अध्ययन गरेका छन् । यस्तो वर्षा सामुद्रिक आँधीका कारण हुने गर्छ । जब आँधी समुद्र हुँदै गुज्रिन्छ, त्यो पानीको भीषण तुफानमा बदलिन्छ । यस क्रममा चल्ने हावाले आफूसँग माछा, भ्यागुता, कछुवा र कहिलेकाहीँ त गोहीसम्म लिएर जाने गर्छ ।

यी जीव आँधीसँग उडिरहेका हुन्छन् । तिनीहरू तबसम्म आकाशमा रहन्छन्, जबसम्म हावाको गति कम हुँदैन । हावाको गति कम भएपछि आँधी जहाँ पुगेको छ, त्यस क्षेत्रमा यी जीव वर्षाको पानीसँग खस्न थाल्छन् । वैज्ञानिक बिल इभान्सले जल प्राणीको यस्तो वर्षामाथि किताब लेखेका छन् ।

तपाईको प्रतिक्रिया