आइतबार, बैशाख १६, २०८१
Sunday, April 28, 2024

पुरानो वर्षलाई विदा गर्ने र नयां वर्षलाई स्वागत गर्ने समय आइपुगेको छ । सन् २०१३ हामीबाट विदा भईसकेको छ भने नयां वर्ष २०१४ सुरु भईसकेको छ । नेपालमा विक्रम सम्वतको तिथिमिति अनुसार चल्दै आएको भए पनि विदेशमा बसिरहेका हामीहरु यहां प्रचलनमा रहेको क्यालेन्डरका भरमा दैनिकी चलाइरहेका छौं । तसर्थ जापानमा हामी नेपालीहरु नयां वर्षको रमाइलो कल्पना गर्दै वितेको एक वर्षको समीक्षा गर्ने अवस्थामा आइपुग्नु स्वभाविक भएको छ । व्यक्तिगत रुपमा गएको एक वर्ष हासीखुसी र रमाइलोसाथ लक्षित कार्य सम्पन्न गर्न सफल हुनुभएका र विभिन्न समस्याहरुलाई झेल्दै दुख सुख वर्ष छिचोल्नेहरु सबै हुने नै भयौं तर जापानमा बस्ने हामी नेपाली समुदायका लागि र समग्रमा नेपाल र नेपालीका लागि २०१३ कस्तो रह्यो समीक्षा सुरु भएको छ ।

सन् २०१३ शुरुदेखि नै जापानको आर्थिक अवस्थामा सुधारका लक्षणहरु देखिन थाले । आर्थिक मन्दीको असर र डलरका तुलनामा येन बलियो भएको कारण निर्यातमूखी जापानको अर्थतन्त्र र रोजगारीमा नकारात्मक असरहरु बढ्दै गैरहेका बेला सरकारको नेतृत्व गर्न आइपुगेका सिन्जो आबेले अर्थतन्त्रको सुधारलाई आफ़्नो प्रमुख एजेण्डा बनाएर अघि बढेपछि २०१३ मा जापानको अर्थतन्त्रमा सुधारका थुप्रै संकेतहरु देखिएका छन् । निर्यात पर्यटक र रोजगारीका अवसरहरुमा अपेक्षाकृत बृद्धि हुनु तिनै संकेतका पुष्टि हुन् । यही वर्ष सन् २०२० को ओलम्पिक खेल जापानले आयोजना गर्न पाउने कुराको तय हुनुले जापानका नागरिक तहसम्म आर्थिक अवस्थामा सुधार हुने आशाको सञ्चार गरेको छ । जापानका नेपाली व्यवसायीहरुमा भने अझै पनि व्यवसायिक बृद्धि भैसकेको देखिदैन । रेष्टुरेन्ट व्यवसायमा चर्को प्रतिष्पर्धा र संख्यात्मक बृद्धिका कारण अधिकांश नेपाली व्यवसायीहरुको सन्तुष्टिको मानक सबल देखिएको छैन । तर पनि जापानमा नेपालीहरुको संख्यात्मक बृद्धि उल्लेखनीय रुपमा भैरहेको छ । जापानमा पढेर काम तथा व्यवसायमा संलग्न हुनेहरु र विद्यार्थीहरुको संख्या पनि बढिरहेको छ ।

यो वर्ष टोकियोमा एभरेष्ट इन्टरनेशनल स्कुलको स्थापना भएर सञ्चालनमा आउनु नेपालीहरुका लागि खुसी र गर्वको विषय बनेको छ । सन् २०१३ एनआरएन जापानको निर्वाचन वर्ष पनि रह्यो । पहिलो पटक पोष्टल भोटिङ पद्धतिबाट कार्यसमितिको चयन देशभरका सदस्यहरुबाट भएको छ भने एनआरएन केन्द्रको अधिवेशनले शेष घलेको नयाँ नेतृत्व चयन गरेको छ भने जापानले उपाध्यक्षको जिम्मेवारी पाएको छ । यो वर्ष नेपाली समुदायका सदस्यहरुको आत्महत्या र दुर्घटना लगायतका मृत्युका घटना अनपेक्षित रुपमा बढी भएको महशुस भइरहेको छ । समाजका अगुवाहरुले यस विषयमा घटनापछि चिन्ता व्यक्त गर्ने मात्र नभएर समस्याका कारण खोज्दै पारिवारिक बोझलाई कम गर्न बीमालगायतका विषयमा जनचेतना जगाउनु आवश्यक देखिएको छ ।

नेपालका सन्दर्भमा २०१३ को पूवार्द्ध त्यति सम्झनायोग्य नरहे पनि उत्तरार्धमा भएको संविधानसभाको निर्वाचनले एक किसिमको उत्साहको सञ्चार गरेको छ । निर्वाचनमा पार्टी जितहारको सन्दर्भलाई अलग राखेर पनि निर्वाचनको अघिल्लो दिनसम्म होला कि नहोलाको अन्योलका बीच अपेक्षाकृत एकदमै शान्तिपूर्ण ढंगबाट सम्पन्न भएको छ । पहिलो संविधान सभाले संविधान दिन नसकेको परिप्रेक्ष्यमा दोस्रो संविधानसभा निर्वाचन भएको छ र छिट्टै संविधान तयार गरेर नेपालको लामो राजनीतिक संक्रमणको अन्त्य गर्ने गरी नेपालका दलहरुमा सहमति र सहकार्यको संस्कारको विकास हुनु जरुरी छ । २०१३ मा नेपालले नयां संविधान पाउन नसके पनि यो वर्ष निर्मित संविधान सभाले आगामी वर्ष २०१४ भित्र संविधान जारी गर्न सकोस् । संविधान निर्माणको काम सकियो भने देश नयां मार्गमा हिंड्न पाउला कि भन्ने आशालाई कुर्सी केवल कुर्सीको छिनाझम्टीमा सिंगो देशको राजनीतिक बृत्त घुमिरहने प्रबृत्तिले कुठाराघात नपारोस् । ढिलै भए पनि अव नेपाली जनताले विधिको शासन र शान्ति सुरक्षाको अनुभूति गर्न पाऊन् । देश समृद्धिको मार्गमा अघि बढ्न सकोस् । आगामी एक वर्ष नेपाल र नेपालीका लागि विशेष वर्षर सँधैं सँधैं सम्झयोग्य वर्ष बन्न सकोस र हामी सबै त्यसका निम्ति सहयोगी सिद्ध हुन सकौं । यही छ हाम्रो नव वर्ष २०१४ को शुभकामना । ***

 

तपाईको प्रतिक्रिया