शनिबार, बैशाख २९, २०८१
Saturday, May 11, 2024

जापानमा नेपाली स्कूलको औपचारिक शुरुवात भएको छ । एभरेष्ट इन्टरनेशनल स्कुल जापानले यस वर्षको अप्रिलदेखि नेपाली पाठ्यक्रम अनुसारको पढाइ शुरु गरेर जापान स्थित नेपाली समुदायमा एउटा नितान्त फरक र सह्राहनीय कामको शुरुवात गरेको छ । यो जापानमा मात्रै नभएर विश्वमै पहिलो उदाहरण हुनसक्छ । जापानमा नेपालीहरुको संख्या करीव २५ हजार पुगिसकेका बेला खुलेको यो स्कूलले छोरा छोरीसँग पढाइकै कारणले अलग बस्नु नपर्ने अवस्थामा अभिभावकहरुलाई ल्याइदिएको छ । जापानमा नै भएर पनि बाध्यतावस जापानी स्कुलमा राख्नु परिरहेकाहरुलाई पनि राहत मिलेको छ । स्कुल टोकियोमा भएकाले टोकियो बाहिरका लागि भने यसको शुरुवातले अहिले नै खुशी तुल्याउने वा यो स्कुलबाट प्रत्यक्ष लाभ लिन सक्ने अवस्था नहोला तर पनि नेपाली शिक्षक शिक्षिकाद्वारा नेपाली पाठ्यक्रमको पढाइले नेपाली भाषा संस्कृति रितिरिवाज लगायतका विषयमा विदेशीभूमिमा पनि नेपाली बालबालिकाले नेपालमा जस्तै जानकारी पाउन सक्ने भएका छन् । यतिमात्रै नभएर जापानमा नेपाली संस्कार र संकृतिको पहिचान गराउन पनि यो अभियानले निकै सघाउने आशा गर्न सकिन्छ । भोलि आवश्यकता र सम्भाव्यताका आधारमा जापानका अन्य क्षेत्रमा यस्तै स्कुल खोल्नका लागि यसको सफलता नै पहिलो मापदण्ड हुने भएकाले टोकियो बाहिरका नेपालीहरुको पनि एभरेष्ट स्कूलले सहयोग र सद्भाव लिन सक्नु पर्दछ । टोकियो बाहिरका नेपाली समुदायले पनि यसको सफलताबाट नै शिक्षा लिएर भोलिका दिनहरुमा नागोया, ओसाका वा फुकुओका जस्ता नेपालीहरुको बाक्लो बस्ती भएका क्षेत्रहरुमा नेपाली स्कुल संचालन गर्ने अवसर जुटाउन सक्छन् । त्यसकारण पनि जापानबासी सबै नेपालीहरुको सहयोग र सद्भावमा एभरेष्ट इन्टरनेशनल स्कुललाई सफलताको सिंढी उकाल्दै लैजानु हामी सबैको कर्तव्य हुन आउँदछ ।
अहिले यो स्कुल नितान्त सामुहिक सोचका साथ खुलेको देखिन्छ । लगानीका लागि इच्छुक सबैलाई बराबर अवसर उपलब्ध गराइएको छ । धेरै जना मिलेर गरेमा सामुहिक जिम्मेवारीको बोध हुने र अनावश्यक रुपमा व्यवसायिक बनाएर फाइदाका पछिमात्रै दौडने अवस्थालाई रोक्नु नै सामुहिक हितमा हुन्छ । जापानमा अंग्रेजी विषयमा पढाइ गर्ने स्कुलहरुको नितान्त अभाव र भएका स्कुलहरु पनि धेरै महंगा भएकाले नेपालीहरुको पहुँच भन्दा बाहिर छ । जापानमा नेपालीहरुको भन्दा कम जनसंख्या भएका अन्यदेशका नागरिकहरुले संचालन गरेका स्कुलहरु राम्रोसँग संचालनमा आइरहेका छन् । उनीहरु एउटा मात्रै नभएर प्रतिष्पर्धा गर्ने अवस्थामा पुगिसकेका छन् र नेपाली विद्यर्थीहरु भित्र्याउन लागि परेका छन् । यस्तो अवस्थामा नेपाली स्कूलको आवश्यकतालाई थप पुष्टी गर्नु जरुरी नै देखिदैन । अव आवश्यकता यहाँ स्थित नेपाली समुदायको सकारात्मक सहयोग र स्कुल व्यवस्थापनले पढाइलाई केन्द्रमा राखेर चुस्त दुरुस्त व्यवस्थापनका साथ अघि बढ्नु मात्रै छ ।
अन्य देशहरुका तुलनामा जापानमा व्यवसायी नेपालीहरुको संख्या धेरै भएको पाइन्छ । सामुहिक लगानीको सोचलाई पनि जापानबासी नेपालीहरुले महत्वका साथ अघि बढाएका छन् । एनआरएनले प्रस्ताव गरेको संयुक्त लगानी कम्पनीमा जापानका नेपालीहरु सबै भन्दा बढी लगानी गर्नेहरुमा परेको छ । बीबी एयरवेजले आब्हान गरेको लगानीमा पनि उलेख्य संख्यामा जापानबासी नेपालीहरुको सहभागिता रहेको बुझिन्छ । यी बाहेक जापान र नेपालमा साना साना योजनाहरुमा मिलेर लगानी भैरहेका प्रशस्त उदाहरणहरु छन् । यो सकारात्मक कुरा हो । यसले भोलिका दिनमा अझ ठूला र महत्वपूर्ण योजनाहरुलाई मिलेर अघि बढाउन मार्ग प्रशस्त गर्छ । सकारात्मक सोचले नै हामी, हाम्रो समाज र हाम्रो देशलाई अगाडि बढाउन सक्छ । परिवर्तनका संवाहक हामी आफै बन्न सक्नु पर्छ । छिद्रान्वेषी र सानातिना कमिकमजोरीलाई बढाउँदै हिड्ने प्रबृत्तिलाई निरुत्साहित गर्दै जान सक्नु पर्छ । यसो हो भने सफलता सुनिश्चित छ ।

तपाईको प्रतिक्रिया