शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

टोकियो– जापान सरकारले अर्थतन्त्र बिकासको एक प्रमुख आधारको रुपमा महिलाको रोजगारीलाई बृद्धि गर्ने उदेश्यका साथ जापानी गृहिणीहरुको काममा सघाउने हाउस किपर राख्न पाउने नीति लिएसंगै जापानका बिभिन्न कम्पनीहरुले बिदेशीहरुलाई हाउस किपरको रुपमा भित्र्याउन थालेका छन् ।

यसै क्रममा हाउस किपिंगको काम गर्ने मान्यता प्राप्त कम्पनी बेयर्सले टोकियोमै पहिलो पटक २ जना फिलिपिनी महिलालाई हाउस किपरको रुपमा ल्याएको जापानी संचार माध्यामहरुले जनाएका छन् । सो कम्पनीले ति महिलाहरुलाई करिब डेढ महिनाको तालिम दिए पश्चात काममा लगाउने बताएको छ । ति २ जनाको काम हेरेर आगामी दिनमा अन्य बिदेशी हाउस किपरहरु ल्याउने प्रकृया अघि बढाउने पनि बेयर्सले बताएको छ । सोंचेजस्तो काम भएमा बेयर्सले आगामी ३ बर्षमा करिब ३०० जना हाउसकिपरहरु भित्र्याउने योजना बनाएको बुझिएको छ । सो कम्पनीले सन २०१६ अगस्तमा कानागावा केन र २०१७ फेब्रुअरीमा टोकियोको लागि हाउसकिपरको काम गर्ने गराउने मान्यता प्रप्त गरेको थियो । जापानमा साधारणतया बिदेशीहरुलाई हाउसकिपर कामको लागि ल्याउने अनुमती नभएपनि तोकिएको क्षेत्र र कम्पनीले मात्र यस किसिमको मान्यता पाएका छन ।

अर्को कम्पनी पानामाले पनि गत मार्च महिनामा पहिलो समुहको रुपमा २५ जना फिलिपिनी महिलाहरुलाई हाउसकिपरको लागि जापान ल्याएको थियो । उनीहरुलाई कानागावा केनको बिभिन्न स्थानमा काम लगाईएको कम्पनीले बताएको छ । पानामा कम्पनीले दोश्रो समुहको लागि पनि कामदार ल्याउने तयारी गरेको छ । सरसफ़ाई गर्ने कम्पनी डस्किन तथा बृद्धहरुको डे–केयर सेवा दिने कम्पनी पोपिन्सले पनि यहि अप्रिलमा फिलिपिनी महिलाहरु सम्बन्धित कामको लागि ल्याएको समाचारमा उल्लेख छ ।

यसरी, जापानमा बिदेशीहरुको लागि नयां नयां क्षेत्रमा रोजगारीको अवसरहरु खुल्दै जांदा धेरै भन्दा धेरै बिदेशीहरुले त्यस अवसरलाई उपयोग गर्न सक्ने बताईएको छ ।

हेर्नुहोस् समुद्रपारि हाइलाइट्स:

तपाईको प्रतिक्रिया