किन हार्‍यो माओवादी केन्द्र ?

२०५२ साल फाल्गुन १ गतेबाट सशस्त्र जनयुद्ध सुरु गरेको तत्कालिन नेकपा माओवादी पार्टी बिभिन्न आरोह-अवरोहहरु झेल्दै जनयुद्धलाई शान्तिमा रुपान्तरण गर्दै १२ बर्षको संसदिय राजनीतिमा बिभिन्न मोर्चाहरुमा प्रायः असफल जस्तै देखिँदै आयो ।२०६४ सालको संबिधान सभाको निर्बाचनमा सबैभन्दा ठुलो पार्टी बनेको माओबादी २०७० सालमा नराम्रोसंग पराजित हुन पुग्यो । आफ्नो एजेण्डामा चुनाब लड्ने यथास्थितीबादी र पश्चगामी शक्तिहरुले जित्दै गएको देखियो र देखिदै पनि छ । यसखाले पराजयको पछाडि बिभिन्न पक्षहरुले माओवादी पार्टीलाई कमजोर बनाएको देखिन्छ । त्यसबारेमा यहाँ सुक्ष्म विवेचना गर्न खोजिएको छ ।

१. पार्टी बिभाजन
दशकौंको साहसिक र रक्तरञ्जित इतिहास बोकेको पार्टी शान्ति प्रक्रियामा आएपछि एकल केन्द्रिकृत नेतृत्व र केन्द्रियतामा चलेको पार्टीलाई बहुपदिय नेतृत्व मानेर जाने निर्णय भएपश्चात पार्टीभित्र बिभिन्नखाले गुट उपगुटहरु निर्माण हुन थाले । पार्टी एकिकरणको नाममा जस लिन र फाईदाको लागि माओवादी बन्नेहरु अघि जाने र जनयुद्ध लडेर आएका नेता कार्यकर्ताहरु पछाडि पर्दै जान थाले । पार्टीलाइन संघर्षको नाममा पार्टीको नेतृत्वप्रति बिभिन्न तरिकाबाट आक्रमण गर्ने प्रवृत्ति तल्लो पार्टीको तल्लोतहको कार्यकर्ताहरुसम्म पुग्यो । पार्टी नेतृत्वले लाईन संघर्षलाई ब्यवस्थापन गर्न सकेन र पार्टी बिभाजन हुन पुग्यो । पार्टीको एउटा सशक्त धार जो जनयुद्ध लडेर आएको थियो त्यो धारको बहिर्गमनले पार्टीलाई धेरै कमजोर बनाईदियो । बिभाजित अवस्थामा पार्टी निर्वाचनमा होमियो र नराम्रोसँग पराजित हुन पुग्यो । पार्टी छोडेर गएका नेताहरुले घोषित रुपमै पुरानो पार्टीलाई हराउने अभियान चलाए । त्यसको फलस्वरुप पार्टीको उपस्थिति ज्यादै कमजोर हुन पुग्यो । अहिले स्थानिय चुनावसम्म आईपुग्दा पार्टी ५ टुक्रामा बिभाजित छ, त्यसरी नै कार्यकर्ता बिभाजित छन् । आफ्नो भबिष्य देखिरहेका हिजो युद्ध तथा मोर्चामा संगै लडेका नेता कार्यकर्ताहरु बिभाजित गराएर माओवादी आन्दोलन र जनयुद्ध लडेको पार्टी कमजोर बन्दै गएपछि निर्वाचनका मोर्चाहरुमा पराजय हुँदै गएको देखियो ।

२. सहर केन्द्रित नेतृत्व
यो वा त्यो बहानामा माओवादी नेताहरु सहर केन्द्रित हुन पुगे । जंगल र जनताका छाप्रोमा जीबन गुजारेका नेता कार्यकर्ता सहर पसेपछि सहरको हावाले छोयो र गाउँ पुरै बिर्सिन थाले । नेताहरुले सहरको सपना देखे, ठुला ठुला महलहरुका सपना देखे, अनि आफ्नै सपना पुरा गर्नतिर लागे । नेताहरुले हिजो जनतालाई देखाएका सपनाहरु बिर्सिए, अनि समाजका कथित ठेकेदारहरु संगै र आफ्नो सपनाहरु पुरा गर्नतिर लागे । सहरको त्यो पूँजीपति र बर्ग सामन्तीहरुको समुहले यो या त्यो लय र लिपी अपनाएर माओवादी नेताहरुलाई पनि आफु जस्तै र आफु संगै उभ्याउन सफल भयो । यो बिचलन र हिजोको आफ्नो नारा कुनै तरिकाको क्रान्तिको निरन्तरता थियो ? शायद नेताहरुलाई थाहा होला । मुखले हामी सबैभन्दा पृथक छौं भन्ने तर ब्यवहारमा पुरानै समाजका ठेकेदारहरु जस्ता भयौं । जसको कारण जनताले विश्वास गर्न छाडे र पार्टी हार्दै गयो । पार्टीले सर्बहारा क्रान्तिको नारा कता कता छोडेको जस्तो देखिन थाल्यो । बिरोधीहरुले त्यहिअनुसार आक्रमण गरे । माओबादीसंग थियो त केवल जिर्ण संगठनमात्र । जुन पटक पटकको बिभाजित मानसिकताबाट शिथिल थियो । पार्टीले त्यसको प्रतिरक्षा गर्न सकेन र माओबादी पराजित हुँदैगयो । पार्टीका गढहरु भत्कँदै गएको तीतो सत्य जो माओवादी आन्दोलनसँग सम्बन्धित छन्, तिनीहरुले भोगिराखेका छन् ।

३. कार्यकर्ता पलायन
पार्टी सफल हुने भनेको उसको संगठन र संगठित कार्यकर्ताले हो । जुन कुनै पार्टीले पनि आधार भनेको कार्यकर्ता नै हो । २०६४ र २०६५ मा लाखौंको संख्यामा संगठित वाइसिएल, मजदूर र बिभिन्न जनवर्गिय संगठनहरुको कार्यकर्ताहरुलाई जिबिकोपार्जनको कुनै बाटो न पार्टीले गराउन सक्यो न उनिहरु आफै गर्न सके । जो हिजो पार्टी बनाउन र युद्धका कठिन मोडमा पनि बिचलित थिएनन् । तिनिहरुलाई पार्टीले संरक्षण गर्न सकेनन् । फलस्वरुप कार्यकर्ताहरुमा शिथिलता पैदा भयो र आफ्नो जीबन धान्ने गतिलो आधार देशमा नदेखेपछि कार्यकर्ताहरुको ठुलो संख्या बिदेशिए र पार्टी संगठन कमजोर हुँदैगयो । हिजो युद्द लडेकै कति जनमुक्ति सेनाका कमाण्डर युवाहरु आज खाडीमा गैंची बेल्चा चलाउँदै छन् । त्यसको हिसाब पार्टीका नेताहरुले राखेनन् र पार्टी कमजोर हुँदै गयो र निरन्तर पराजयको शिकार हुँदै गएको पनि छ ।

४. कमजोर प्रचार प्रसार
माओबादी पार्टीको प्रचार प्रसारको हिसाबले पनि ज्यादै कमजोर बन्यो । पुराना पार्टी र समाजमा सदियौंदेखि राज चलाउँदै आएका कथित मिडियाहरुले माओवादी पार्टी र त्यसको नीति र बिचारलाई सहयोग गरेनन् र गर्दैनन् पनि । किनकी, माओवादीको जितमा आफ्नो अस्तित्व रहन्न भन्ने उनीहरुलाई राम्रोसँग थाहा छ । माओबादीले मिडियाहरुमा आफ्नो राम्रो पकड र बिश्वासिलो आधार नहुँदा अरु पार्टीको जस्तो आफ्नो नीति र प्रतिबद्धतालाई जनतामा सजिलै लैजान सकेन र बुझाउन पनि सकेन । फलस्वरुप जनताले माओवादीको बारेमा बुझ्न सकेनन् र पराजय भोग्नुपर्ने स्थिति बन्यो । माओवादी धारका भनिएका मिडियाहरु पनि एक पछि अर्को गर्दै बन्द हुँदै गयो र आमसञ्चारको क्षेत्रमा उपस्थिति कमजोर हुँदै गयो । सामाजिक सञ्जालहरुमा माओबादीको बिरुद्धमा संगठित रुपमा फरक पार्टीका कार्यकर्ताहरुबाट आक्रमण हुँदैगयो र त्यसको प्रतिरक्षा पनि माओबादी कार्यकर्ताले गर्न सकेको देखिएन । अन्य पार्टीका भड्किलो र रबाफिलो प्रचार प्रसारको सामु माओबादी प्रायः निरिह जस्तै देखिए । माओबादी पार्टीप्रति आस्थावान पत्रकारहरुको निर्वाचनको समयमा ज्यादै कमजोर उपस्थिति देखियो, चाहे त्यो मिडियामा होस् चाहे त्यो सामाजिक सञ्जालमा ।

५. उम्मेदवार चयन
चुनाव जित्नु र हार्नुमा उमेदवारको सामाजिक गतिबिधि, उसको नैतिक सामाजिक आचरण, जनसम्बन्धहरु सँधै प्रमुख रहने गर्छन् । कतिपय गाउँपालिका र नगरपालिकाहरुमा त्यहाँका जनतासँग राम्रो सम्बन्ध नभएका, जनमानसमा नभिजेका ब्यक्तिहरुलाई उमेदवार बनाएर पनि माओबादी पार्टी हारेको छ । चुनाव घोषणा हुनुभन्दा अघि अर्को कार्यक्षेत्रमा खटाईएका नेता कार्यकर्तालाई फरक क्षेत्रमा उम्मेदवार बनाउँदा पनि जनमानसमा जान कठिन भएको हो । पछिल्लो कालखण्डमा समाजमा प्रतिष्ठित ब्यक्ति तथा युवाहरु जसले आफ्नो राम्रो उपस्थिति देखाए उनिहरुले नै चुनाव जितेका छन् । कतिपय ठाउँमा पारिवारिक बिरासतलाई आधार मानेर पनि टिकट बितरण गरियो जसको कारण पनि पार्टी कमजोर उपस्थिति रहन गयो ।

६. घात-अन्तर्घात
पार्टीका जिल्ला संगठनहरुले स्वविवेकले अरु राजनीतिक दलहरुसँग गरेका तालमेल १, २ ठाउँमा बाहेक अधिकांश स्थानहरुमा असफल देखियो । तालमेल भएका ठाउँहरुमा तालमेल गरेका दलहरुका कार्यकर्ताहरुलाई बुझाउन नसकेको देखियो अथवा भनौं ति दलका कार्यकर्ताले घात गरेर आफ्नै राम्रो संगठन भएको ठाउँमा पनि माओबादी पार्टी कमजोर बन्न पुग्यो र हार्‍यो । पार्टी संगठन भित्रका पदलोलुपता भएका नेता कार्यकर्ताहरुले आफुले उमेदवारी दिन खोजेको ठाउँमा पार्टीले अर्को उम्मेदवार खडा गरेपछि प्रत्यक्ष अप्रत्यक्ष्य रुपमा असहयोग र अन्तर्घातले पार्टी धेरै ठाउँमा नमीठो पराजय भोगेको देखियो । बिभिन्न बहानामा आफ्नै पार्टीलाई हराउन लाग्नेहरुको गतिबिधीलाई पार्टीले समयमा नै नियन्त्रण गर्न नसक्नु पनि हारको एउटा मुख्य कारण हो ।

पार्टी पराजय हुनुका पछाडि यिनै कारणहरु प्रमुख रहेका छन । पहिलो चरणको चुनावमा देखिएका यि र यस्ता कमीकमजोरीहरुलाई केही सुधार गर्न सकियो भने माओबादी पार्टी जितेका र जित्दै गरेका आधारक्षेत्रहरुमा पुनः जित हासिल गर्न सक्छ । चौतर्फी आक्रमणमा रहेको माओबादी पार्टीले प्रतिरक्षा गर्दै पार्टी निर्माणको अबको अभिभारा सबै माओवादी आन्दोलन र जनयुद्धसँग सम्बन्धित पार्टी र कार्यकर्ताको काँधमा आएको छ । पार्टी एकतालाई शिरोपर गर्दै निरन्तर क्रान्तिको दिशामा अघि बढ्नु नै माओबादीहरुको अवको बाटो हुनु आवश्यक छ ।

(लेखक नेपाली जनप्रगतिशील मञ्च जापानका केन्द्रीय सदस्य हुन)

तपाईको प्रतिक्रिया
© २०१६ सर्वाधिकार समुद्रपारिमा सुरक्षित