विकास सोचमा परिवर्तन जरुरी

नेपालका सडकका अवस्था नाजुक छन् । हिमाली तथा पहाडी क्षेत्रमा भौगोलिक अवस्थाले समयमा सडक बन्न नसक्नु र बनेका पनि साँगुरा हुनु अनि वर्षामा बाढी पहिरोको चपेटामा परेर तहस नहन हुनु नियमित प्रक्रिया जस्ता देखिन्छन् । तर समस्या दुरदराजका सडकहरुमा मात्र छैन । सम्म तराई र सहरबजारका सडकको अवस्था पनि उस्तै छन् । एकातिर बन्दै गर्दा अर्कोतिर भत्किन सुरु भैसक्छ । पानी पर्दा हिलो र घाम लाग्दा धुलोले हिडिनसक्नु अवस्थामा राजधानी काठमाडौं वर्षौदेखि पिरोलिइरहेको छ । राजमार्ग भन्न लायकको एउटा पनि मार्ग देखिदैन । राजधानीलाई पूर्वपश्चिम उत्तर दक्षिण जोड्ने सबै मार्ग मुस्किलले दुई वटा गाडीहरु गुड्न मिल्ने खालका छन् । त्यसैकारण सँधै एक आपसमा ठोक्किएर दुर्घटनामा पर्ने र खोलामा खसेर यात्रुहरुको मृत्यु हुने घटना समाचारका नियमित विषय बनिरहेका छन् । घाइते भएर दुःख पाउनुपर्ने तथा सम्पत्तिको नास हुने कुराले नेपाली समाजमा चर्चा सम्म पनि पाउन सकेको छैन भन्दा अत्युक्ति नहुने अवस्था छ । यो किन पनि भन्न सकिन्छ भने नेपाली सडकहरुको अवस्था गए गुज्रेको देख्नुपरेको वा भोग्नुपरेको पछिल्ला एकदुई वर्ष यताको कुरा होइन । तर पनि तात्विक रुपमा सुधारको कुनै संकेत देखिएको छैन ।

देशको समग्र विकासको मेरुदण्ड मानिने र समृध्दि तर्फ यात्राको प्रारम्भ मानिने सडकको स्तरोन्नतिको सुरुवात नै हुन सकेको छैन । आजसम्म सिंगो देशमा एउटा पनि अन्तर्राष्ट्रिय मान्यता अनुसारको लामो दुरीको राजमार्ग निर्माण हुनु नसक्नु भनेको लाजमर्दो कुरा हो । तर यसको अनुभूति जिम्मेवार व्यक्ति र निकायहरुलाई हुन सकिरहेको पाईदैन । राजधानी काठमाडौंलाई जनघनत्व बढी भएको तराइसँग जोड्ने द्रुतमार्ग निर्माणको कुरा कति वर्ष अगाडि देखि अझै कुरैमा सीमित छ । निर्माणको काम ठोस रुपमा अघि बढेकै छैन । निजी क्षेत्रको लगानीमा बन्ने भनिएको काठमाडौं हेटौंडा सुरुङ मार्गले पनि अझै गति लिन सकेको देखिदैन । राजधानी प्रवेशको प्रमुखद्वार मानिएको नारायणगढ मुगलिङ खण्डको सुधारको कामले मात्रै पनि यतिखेर लाखौं जनताले सास्ती ब्यहोर्नुपरेको छ र जीवनलाई मृत्युको मुखबाट हिडाउन बाध्य हुनुपरेको छ । अर्को कुनै विकल्प तयार नगरी उक्त मार्गमा काम सुरु गर्नु गलत थियो । चौविसै घण्टा गाडीको चाप हुने बाटोमा काम गर्न स्वभाविक रुपमा सहज छैन र पुनर्निर्माण हुँदै गर्दा आवात जावत गर्न समस्या हुनु स्वभाविकै हुने भयो । यो मार्गमा गरिएको र हुने प्रत्यक्ष अप्रत्यक्ष लगानी र मेहनत तराई जोड्ने अर्को कुनै मार्गमा गरेको भए शायद विकल्प नै तयार हुने थियो र नारायणगढ मुगलिङ सडक खण्डको भार स्वभाविक रुपमा घटेर त्यो बाटोमा लगानी गर्नुपर्ने अवस्था नै आउने थिएन ।

विकास निर्माणका कामलाई अगाडि बढाउँदा हुने प्रत्यक्ष खर्च एउटा कुरा हो । तर विकाससँग जनताको प्रत्यक्ष सरोकार हुने भएकाले उनीहरुको प्रत्यक्ष वा अप्रत्यक्ष हुने खर्चलाई पनि आँकलन गर्नुपर्छ । अहिले नारायणगढ मुगलिङ सडक खण्डको मर्मत वा पुनर्निर्माण भैरहँदा बाध्यताले महंगो भाडा तिरेर जहाज चढ्नेहरुको संख्या हृवात्तै बढेको छ । दिनमा दुई तीन वटा उडान हुने भरतपुरमा यतिखेर दिनमा १५ वटासम्म उडान भैरहेको छ । पूर्वदेखि पश्चिमसम्ममा तराईका सबै उडानमा त्यसको असर पक्कै परेको छ । यात्रुहरुले यसरी खर्चिनु परेको पैसा पनि अप्रत्यक्ष रुपमा सडक निर्माणको मूल्यमा जोडिएको हुन्छ । तसर्थ यस्ता कुराहरुमा पनि सम्बन्धित निकायको ध्यान काम सुरु हुनुभन्दा पहिले नै पुग्नु जरुरी छ । सडक मर्मत वा पुनः निर्माणका नाममा देशभरि छरिने बजेटलाई पूर्वाधार निर्माणका हिसाबले महत्वपूर्ण देखिएका द्रुत मार्ग होस् वा निजी क्षेत्रकै पहलमा बन्ने भनिएको सुरुङ मार्गमा केन्द्रिकृत गरेर टिकाउ र देखिने काम गर्नुपर्छ । नेपालको सन्दर्भमा पूर्वाधार निर्माणको महत्वपूर्ण भाग नै यिनै मार्ग र दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल नै हो । यस तर्फ ठोस र व्यवहारिक रुपमा सरकार राजनीतिक दलहरु र सम्बन्धित प्रशासनिक निकायको ध्यान जानु हामीले जरुरी देखेका छौं ।***

तपाईको प्रतिक्रिया
© २०१६ सर्वाधिकार समुद्रपारिमा सुरक्षित