जापानको साथीलाई खुल्ला पत्र

durga-bahadur-khatriप्रिय साथी रबिन !

हरियो पासपोर्टले यो दुर देशमा जुराईदिएको हाम्रो निकटको मित्रता र आत्मीयतालाई सायद भविष्यका हाम्रा छु्ट्टा-छुट्टै गन्तव्यहरुले पनि छुटाउन र हामीलाई दुर पार्न पक्कै सक्दैनन् । रबिन केही दिन अघि तपाईको निमन्त्रणालाई स्वीकार गर्दै तपाईको कुटी (रबिन निवास) मा बसेको अघिल्लो साहित्यिक बसाईको मीठो सम्झना मनभरी संगालेर ती बसाईहरुमा रबिनमा मैले भेटाएको सामाजिक चिन्तन र सक्रियताले म नतमस्तक छु ।

साथी रबिन ! आज फेरि मैले समुद्रपारि डट कम मार्फत अर्को भेंटको निमन्त्रणा स्वरुप तपाइँलाई खुल्ला पत्र पठाएको छु । आशा छ अवश्य स्वीकार गरी निम्तोमा पाल्नुहुनेछ । रबिन ! पछिल्लो तथ्याङ्क अनुसार जापानमा हामी नेपालीहरु करीव ६० हजारको हाराहारीमा रहेछाैं । हामी सबै आ-आफ्नै सुन्दर सपनाहरु बोकेर तिनै सपनाहरु पूरा गर्ने यात्रामा निरन्तर दाैडिरहेका छौं । सबैले तय गरेका आ-आफ्नै जिन्दगीका दौडहरु कसैले सजिलै पार गर्छन त कसैले बिचमा नै छाडिदिन्छन्, भनौं या नचाहेरै बिचमा यात्रा रोकिन पुग्छ । हो रबिन मैले यो ३ बर्षे जापानको बसाईमा मलाई ब्यतिगत रुपमा कहिल्यै पनि एक्लो र प्रवासमा भएको महशुस गर्नु परेन तर यो अवधिमा हामी सँगसँगै सुन्दर सपनाहरु बुनेर जापान प्रवेश गरेका कतिपय साथीहरु पढाईलाई बिचैमा छोडेर गलत बाटो रोज्न खोज्दैछन । कतिपय साथीहरु आफु, आफ्नो मातृभूमि नेपाल र जापानलाई समेत चिटिङ गरेर गलत बाटोबाट यात्रा तय गर्दै गरेको त कतिपय साथीहरु बिभिन्न कारणहरुबाट हुने गरेको दुःखद निधन, ठूलो आर्थिक खर्च लाग्ने जटिल रोग र अन्य यस्तै समस्याले खर्चको अभावमा सारा जापानबासी नेपालीलाई सहयोगको याचना गर्नुपरेको त कतिपय अवस्थामा आर्थिक अभावकै कारण यो परदेशमा लाशको अन्यष्टी गर्न नसकिएको जस्ता कारुणिक खबरहरुले फेसबुकका भित्ताहरु रंगिएको देख्दा यो मन निकै बिक्षिप्त भएर आउँथ्यो । जब-जब नेपाली साथीहरुलाई यी र यस्ता समस्याहरु पर्दथे तब देखिन्थे दिपक नेपाल, नबिन निउरे, लक्ष्मण कार्की, रबिन, अरुणजंग, सन्तोषबाबु , ईश्वर, आनन्द, कुशल, नारायण, श्रवण, गोपाल, बिनोद र पवन लगायत आदि-आदि साथीहरुकै सक्रियता अग्रपंङतिमा । हुन त जापानमा थुप्रै समाजहरु र सामाजिक संस्थाहरु नभएका होईनन, छन तर ती आफ्नै भूगोल, जात जाति र क्षेत्रमा बिभाजित छन । यहाँ जसको समाज र कुनै संस्थामा अावद्धता छैन तिनीहरुको साहरा खै ? अथवा भनौ सिङगो नेपालका सबै नेपालीहरु अट्ने सिङ्गो नेपाली समाज खै जापानमा ? फेरी पनि समाज र संस्थाहरुले केही गरेनन भन्न खोजेको चाहिं पक्कै होईन, त्यसो त संसारका विकसित देशहरु मध्ये उच्च स्थानमा रहेको जापान जसले बिश्व अर्थतन्त्रमा महत्वपूर्ण स्थान ओगटेको छ । यो देशले आफ्ना नागरिक हुन या बिदेशी कामदार, विद्यार्थी र अन्य भिसामा जापानमा रहेकाहरुका सबैका लागि शिक्षा, स्वास्थ्य, सुरक्षा जस्ता संम्बेदनशिल क्षेत्रहरुमा पर्याप्त सेवा सुविधाहरु प्रदान गरेको छ । तर बिडम्बना नेपाली समुदायका साथीहरु र बिशेष गरी जापानमा खोलिएका नेपाली सामाजिक संस्स्थाका फेसबुक पेजहरुमा हरेक दिनजसो देखिने बियोगान्त र कारुणिक जीवनकहानी सहितको आर्थिक सहयोगको याचनाले मन सारै बिक्षिप्त भएर आउँछ । कहिलेकाँही एउटा पाउरोटी र जुसको पैसा कटौती गरी सक्दो अार्थिक सहयोग पनि गर्छु तर सबैका समस्यामा मलम लगाउन त म जाबो विद्यार्थी बबुरोले कहाँ बाट सक्थें र !

रबिन यो संयोग नै मिल्यो भनौ या के ?  आउदो नोबेम्बर १२ तारिक (रबिन र म) हामी दुबैको जन्मदिन परेको छ र शनिवार पनि । हाम्रो पढाई पनि बिदा हुने भएकाले त्यो दिन टोकियोका नेपालीहरुको जमघट हुने केन्द्र सिनओकुबोमा मैले मेरो हरियो पासपोर्टले जोडिदिएका निकटका आत्मिय साथीहरुसँग जन्मदिन मनाउने योजना बनाएको छु । मैले यो बर्षको जन्मदिन साथीहरुमाझ तामझामका साथ केक नकाटेरै, जुस, बियर र वाइनको चुस्की बिना नै मनाउने निर्णय गरेको छु । किनकी त्यसको बिकल्पमा रबिन र मेरो जन्मदिनको लागि खर्च गर्ने केही रकमलाई छुट्याएर जापानमै एउटा कल्याणकारी कोषको स्थापना गरौ कि भन्ने सोचेको छु । तपाईलाई कस्तो लाग्छ ? प्रिय मित्र रबिन नेपाली समुदायमा भैपरी आउने विभिन्न समस्याहरुको आर्थिक समाधानमा यो कोषबाट सानै भएपनि मलम लगाउन सकियोस भन्ने मेरो एकमात्र सपना हो । यो सपना र परिकल्पनालाई तपाई, म र हामी जस्तै साथीहरुको साथ समर्थन बिना केवल सपना मात्र हुनेछ । साथी मलाई यस्तो लाग्छ, हामीले हाम्रा साथीहरु सबैको सहकार्यमा जापानमा एउटा परोपकारी/कल्याणकारी कोष खडा गरेर प्रत्येक बर्ष जन्मदिनमा हुने खर्च कटौती गरी सो कोषमा जम्मा गर्न मात्र सक्ने हो भने निकै सजिलो हुने रहेछ ।

मैले साथीहरुलाई भन्दै आईरहेको र केही साताअघि सामाजिक संजाल फेसबुकमा नेपाली इन जापान पेजका (Nepali in Japan) साथीहरुले पनि उठान गर्नुभएको कुरा जापानमा रहेको ६० हजार हाराहारी नेपाली मध्ये केही हजारले मात्रै सो कार्यमा भाग लियौं भनेपनि हामीसंग बार्षिक २ करोड भन्दा बढी रकम जम्मा हुने रहेछ, यति काम गर्न सक्ने हो भने धेरै खर्च लाग्ने किसिमको विरामी पर्दा, अकस्मात मृत्यु हुँदा वा अन्य जटिल समस्यामा परेको वेला गर्ने गरिएका राहत संकलनका कार्यहरु पनि गर्नुपर्ने आवश्यकता हुने थिएन । तपाइ हामीले जम्मा गरेको कोष हाम्रै लागि प्रयोगमा आउन सक्ने भयो । आर्थिक अनुशासन र पारदर्शिताका यो कोषको संचालन र ब्यवस्थापन मैले संयोजन गरिरहेको साथीहरुको टिम INFSD Japan को कोर्डिनेट टिमलाई जिम्मेबारी दिन पनि सकिन्छ । यो टिमले टिममा अावद्ध साथीहरुको करियर सपोर्टका लागि आर्थिक पक्ष सहित जापानमै नमूना र उदाहरणीय काम पारदर्शीताका साथ गर्दै आईरहेको हुँदा यो कोषको पनि कुशल ब्यवस्थापन गर्न सक्छ भन्ने कुरामा बिश्वास दिलाउन चाहन्छु र यो कोष भैपरी आउँदा हाम्रै सामुहिक निर्णयका आधारमा खर्च गर्न सकिन्छ । रबिन यस बिषयमा मिठो बहस र साहित्यको मिठा परिकारहरुसँगै यसपालीको जन्मदिनसँगै मनाउँला, मेरो निमन्त्रणालाई खुल्ला दिलले स्वीकार गरिदिनुहुनेछ भन्ने आशा र बिश्वासका साथ यो दुरको देशमा हरियो पासपोर्टले जोडिदिएका हाम्रा निकटका सबै मित्रहरुलाई यहि खुल्ला पत्र मार्फत निम्तो गरी पठाएको छु समय ब्यवस्थापन गरी अाइदिनुहुनेछ भन्ने अाशा छ । आउदो नोबेम्बर १२ तारिक शिनओकुबोमा साहित्यका मीठा खुराकहरुसँगै मीठै बहस गरौला । तपाईको सकारात्मक प्रतिक्रिया सहितको पत्रको प्रतिउत्तरको प्रतिक्षा सहित आजलाई बिदा ।

तपाईको साथी
दुर्गा बहादुर खत्री
हाल टोकियो जापान
(लेखक युनिभर्सटी अफ इकोनोमिक्स टोकियो सिबुया क्याम्पसमा अध्ययनरत छन्)

तपाईको प्रतिक्रिया
© २०१६ सर्वाधिकार समुद्रपारिमा सुरक्षित