शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

कुनै समयसम्म हिन्दु नारीहरुको मात्र मानिने तीज अहिले सारा नेपाली नारीहरुको साझा एवं सामाजिक पर्व बनेको छ । स्वदेशमा होस् या बिदेशमा नेपाली समाजमा तीज पर्वको महत्व चुलिंदै गएको छ । मेचीदेखि कालीसम्म र स्वदेशदेखि बिदेशसम्मका नेपाली नारीहरुलाई एकैचोटी ब्यूँझाउने तीज पर्वले ल्याउने उल्लास र उत्साहको अवसरलाई केवल मनोरञ्जनमा मात्र सीमित नगरी थोरै मात्र भए पनि समाज परिवर्तनको दिशामा उपयोग गर्न सक्नुपर्दछ । तीज मनाउने नाममा नाचगान, भोजभतेर र रमाइलोमा मन फुकाएर श्रम, शक्ति, उर्जा र समय खर्च गर्ने हाम्रो नेपाली समाजले यहि समाजमा थिचिएका, पिल्सिएका, हेपिएका आवाजबिहिन महिलाको पक्षमा आवाज उठाउन कञ्जुस्याई गर्दछ ।

आधुनिक महिलाहरुले तीज पर्व मनाउने शैलीमा अब समयसापेक्ष परिवर्तन गर्न जरुरी छ । मनोरञ्जनसंगै यो उल्लासको पर्वलाई महिला हक हित, महिला जागरण, महिला शसत्तिकरण र महिलाहरुमा सचेतना फैलाउने अवसरकारुपमा उपयोग गर्न सक्नुपर्दछ । त्यसैले तीजको अवसरमा समसामयिक बिषयमा छलफल गर्न बृहत महिला भेला, सेमिनार, विचारगोष्ठी, अन्तर्क्रिया जस्ता कार्यक्रमहरु आयोजना गरिनु आवश्यक छ । तीजका नाममा भित्रिएका छाडा र भडि्कला विकृतिप्रति बेलैमा सम्बन्धित सबैलाई सजग गराउन जरुरी छ । तीज बिशेष गीतसंगीतमा जबर्जस्ती पुरुषको हस्तक्षेप आमन्त्रण, शब्द र लयमा उत्ताउला एवं छाडापन, गरगहना र फेशनमा प्रतिस्पर्धा, महिनौसम्म दर खाने र तीज मनाउने भद्दा प्रचलन, सिर्जनात्मक एव रचनात्मक क्षेत्रमा भन्दा फजुल र अनावश्यक बिषयलाई दिईने उच्च प्राथमिकता तीजका नाममा भित्रिएका विसंगति तथा विकृति हुन् । उल्लासको पर्व तीजले अब भावी पुस्तालाई बेलैमा गलत बाटोतिर जानबाट रोक्न र समाजलाई सकारात्मक सन्देश दिन सक्नुपर्दछ । समाजका जिम्मेवार महिलाहरुको यतातिर बेलैमा ध्यान जान आवश्यक छ । किनभने नेपाली नारीहरुले पनि अवसर पाए भने राष्ट्राध्यक्षदेखि प्रधानन्यायाधिश र सभामुखसम्मको उच्च ओहदाका जिम्मेवारी कुशलतापूर्वक सञ्चालन गर्न सक्छन भन्ने कुरा यहाँ स्मरणीय छ ।

जापानको प्रसंगमा भन्नुपर्दा हरेक वर्षयहाँ सानाठूला गरी थुप्रै तीज कार्यक्रमहरु आयोजना हुने गर्दछन् । तीज पर्वमा बिशेष आकर्षा भएकै कारण महिलाहरुको स्वःस्फुर्त सहभागिता हुने भएकोले पनि यतिबेला धेरै कार्यक्रमहरु आयोजना हुने गर्दछन् । अर्थात तीज कार्यक्रमलाई पछिल्ला समयमा संघसंस्थाहरुले आफ्नो प्रतिष्ठाको बिषय बनाएका छन् । एकै अवसरमा एकै प्रकृतिका कार्यक्रमहरु करिव महिना दिनसम्म जारी रहँदा जापान तीजमय भईदिन्छ । नेपालबाट चल्तीका कलाकारहरु बोलाई जापानका बिभिन्न सहरहरुमा आयोजित तीजको कार्यक्रममा सरिक बनाईन्छ । यो वर्ष पनि गत अगस्त १३ बाट सुरु भएको तीज कार्यक्रम आउँदो सेप्टेम्बरको पहिलो हप्तासम्म आयोजित छन् । ती कार्यक्रमहरुका लागि पशुपति शर्मा, खुमन अधिकारी, सुनिता दुलाल, जमुना सनम, प्रकाश कटुवाल, बैकुण्ठ महत, सम्झना लामिछाने, लक्ष्मी मल्ल, पूर्णकला बिसी, रिता केसी लगायतका दर्जनौ चल्तीका कलाकारहरु जापान आएका छन् । यिनै कलाकारहरुको तीज बिशेष साँगीतिक प्रस्तुतीमा जापान तीजमय भएको हो ।

जापानको नेपाली समुदायमा अन्य बेलाका नेपाली गतिबिधिहरुमा महिला सहभागिता शून्यप्रायः रहने गरेको तथ्य सर्बबिदितै छ । तर तिनै महिलाहरु हुन् तीजको बेलामा भने करिव महिना दिनसम्म गरगहना, तिलहरी र राताम्मे सारीमा सजिएर दर खान र तीज मनाउन भ्याई नभ्याई हुन्छन् । यो उत्साह र सक्रियतालाई अन्य सिर्जनात्मक क्रियाकलापमा पनि उपयोग गरी समाजप्रति जिम्मेवार बनाउन सके साँचो अर्थमा तीज मनाउनुको सार्थकता झल्कन्थ्यो । नजिकै आईरहेको हरितालिका तीजको अवसरमा नेपाली नारीहरुमा देखिने उत्साह र उमंगसंगै तीजलाई समयसापेक्ष बनाउँदै लैजान सकियोस् हार्दिक शुभकामना । ***

तपाईको प्रतिक्रिया